आर्थिक बर्षको अन्त्यमा सरकारी कार्यक्रमले रिर्सोट भरिभराउ

कमिलालाई केको पैह्रो’ भनेझैं सरकारी कर्मचारीहरुलाई असार मसान्तभित्र हिसाब मिलउनैपर्ने चटारो छ । साउन १ गतदेखि नयाँ आर्थिक वर्ष प्रारम्भ हुने भएकाले त्यसअघि हिसाब मिलाउने हतारो हुनु स्वाभाविक पनि हो ।

Advertisement 1

यही मेसो पारेर ठूला होटल तथा रिसोर्टमा तालिम,गोष्ठी,सेमिनार गरेर बचेको बजेट स्वाहा पार्ने गरेका ठूला ओहोदाका कर्मचारीहरुको गुनासो हिजोआज बन्दीपुरमा समेत पोखिएको छ । लमजुङ र तनहुँका सबै स्थानीय तहका लेखा र प्रशासन हेर्ने कर्मचारीलाई गत शुक्रवार र शनिवार दुई दिनको तालिममा बोलाइए पनि एकै दिनमा सकाइएको छ ।

कार्यक्रमको शीर्षक थियो ‘स्थानीय निकायको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शनसम्बन्धी अभिमुखिकरण’ । तालिममा स्थानीय निकायमा देखिएको अत्यधिक बेरुजुको चर्को बहस गरिएपनि बन्दीपुर माउन्टेन रिसोर्टमा आन्तरिक खर्चबारे सबै तैँ चुप मैँ चुपको अवस्थामा बसेका हुन् । कार्यक्रममा के कति खर्च भयो भन्नेबारे न कसैले बतायो न सहभागीले चासो नै राखेका थिए ।

Advertisement 2

लमजुङ र तनहुँका प्रायः सबै स्थानीय तहका कार्यालय प्रमुख, लेखा प्रमुख,आलेपसँग सम्बन्धी कर्मचारी सहभागी भए पनि लमजुङको बेसीशहर नगरपालिका र दूधपोखरी गाउँपालिकाको तर्फबाट कोही पनि गएनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सहसचिव रुद्रसिंह तामाङले प्रशिक्षण दिँदै गरेको अवस्थामा जिल्ला एचआईभी संघ तनहुँका अध्यक्ष रामजी कँडेल प्रवेश गरेर बबाल मच्चाएका थिए । सोमरसको बासनासहित कार्यक्रमस्थल प्रवेश गरेका कँडेलले आफूलाई आधा घण्टा भए पनि एचआईभी सम्बन्धी प्रशिक्षणका लागि समय मिलाइदिन आग्रह गरेका थिए ।

Advertisement 3

उनले असान्दर्भिक कार्यक्रम र विषयमा अड्डी कसेपछि अर्का सहसचिव बाबुराम ज्ञवालीले तपाईंको कार्यक्रम अर्कै होटलमा होला यहाँ होइन भनेर सम्झाएका थिए । तर राम्रोसँग उभिन नसकेका कँडेलले आफ्नो लिँडेढिपी नछाडेपछि ज्ञवालीले ‘माथि सोध्नु त‘ भनेर घिच्याउँदै बाहिर निकालेको बताइन्छ ।

प्रकाशित :२०७९ असार २२, बुधबार ०६:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry