बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई हाकिम बनाइएपछि बबरमहलमा बबाल

नेपाल नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएपछि सो नियुक्ति विवादित बनेको छ। बरिष्ठहरुलाई पाखा लगाएर कनिष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएसँगै सो नियुक्ति विवादित बन्न पुगेको हो ।
यस अघि क्यानका महाप्रवन्धक थिए राजकुमार क्षेत्री । क्षेत्रीलाई सरकारले गत कार्तिक ८ गते महाप्रवन्धकमा नियुक्त गरेको थियो । उनी ५८ बर्षे उमेर हद लागेर अवकाशमा गए पुस अन्तिम साता । चार बर्षका लागि नियुक्ति पाएको तर ५८ बर्षे उमेर हद लागेर दुई महिनामै घर फर्किनुपर्ने स्थितीमा पुगेका क्षेत्री आफूले चार बर्ष काम गर्न पाउनुपर्ने भन्दै अदालत पुगेका छन् ।
प्राधिकरणको ऐनमा महानिर्देशकको समयावधि चार वर्षको हुने तर उमेर हदसम्बन्धी कुनै व्यवस्था ऐनमा नभएको देखिएपछि उनी सोही ऐनमा टेकेर सर्वोच्चको ढोका ढकढकाउन पुगेको क्षेत्री सुनाउँछन । ऐनमा उमेरसम्बन्धी कुनै पनि व्यवस्था उल्लेख नगरिएको,यस अघि यस खालको प्रयास कसैले नगरेको उल्लेख गर्दै क्षेत्रीले अदालतले आफ्नो पक्षमा फैसला गरे नयाँ नजिर कायम हुने जिकिर गरेका छन् ।
Advertisement 1
यता क्षेत्री उमेर हद लागेर बाहिरने स्थितीमा पुगेपछि प्राधिकरणका निमित्त महानिर्देशक बनाइएका छन् प्रेमनाथ ठाकुर । उनीभन्दा सिनियर पाँच् जनालाई पाखा लगाउँदै ठाकुरलाई निमित्त दिइसँगै विवाद भएको हो।
प्राधिकरणमा १२ औं तहका कर्मचारीहरुमध्ये भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीभन्दा सिनियर पाँच जनालाई बाइपास गर्दै अहिले निमित्त बनाइएको छ ठाकुरलाई । गत बर्ष मंसिर महिनामै १२ औं तहमा उक्लिएका तिवारी र गुरागाईंलाई माइनस गर्दै ठाकुरलाई निमित्त हाकिम बनाइएसँगै त्यहाँ विवाद निस्किएको छ ।