नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
Advertisement 1
आजदेखि वैदिक सनातनधर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथावाचन सुरु गरेर देवीदेवताको पूजाआराधना सुरु गरेका छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजाआराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराका रुपमा रहेको छ ।
नेपालमा पनि धेरैजसो महिलाले यो व्रत गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताईन । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत छिन । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुन ।
Advertisement 2
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कूल परम्पराअनुसार कथा वाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
Advertisement 3
सय रोटी वर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्र धारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र देवमणि भट्टराईले जानकारी दिए ।