प्रेम शर्माको कविता :- जिन्दगीको बाटोमा

Advertisement 1
म विहान देखि हिड्न शुरू गरेको
जिन्दगीको यो मेरो बाटो
जुन मेरो अधीनस्थ भने छैन
उसकै दिशा र अबस्थाले
मलाई डोर्याई रहेको छ गन्तब्य तिर।
तर पनि बाटोका झारपात नबढारी हुन्न
खाल्डा खुल्डी पनि नपुरी हुन्न
फोहोर पनि सफा नगरी हुन्न
बाटोका असजिला छिचोल्दै
हिडीरहेछु गन्तब्य तिर।
Advertisement 2
मैले सोचेको छु कि
गन्तब्य तोकिन्छ काम गराईले
त्यसैले गन्तब्य सहज होस्
गन्तब्य सरल होस भन्ने चाहदै
चाहना राखेको छु सद्कर्ममा मन लागोस्।
मेरो मार्गको दाया र वाया
काडा र झाडीले भरिएको छ
खोल्सामा रहेको पुल जीर्ण भै सकेछ
यस्तो जोडले आएको हुरीले
त्यो जीर्ण पुल पनि उडायो भने
मेरो गन्तब्य बीच मै टुंगिने डर छ।
Advertisement 3
त्यसैले मेरा कर्महरू यस्ता होऊन्
जहां हिड्दा काडाले नकोरियोस्
आरोह अवरोहहरू सुगम हुन सकुन्
जीर्ण पुल पार गर्न सहज होस्
यसरी नै मेरो गन्तब्य पनि सहज होस्।
बाटो लामो छ गन्तब्यमा पुग्न
बाटो बाटोमा चौतारी चिन्न सके
प्यास मेट्ने पानीका घडा राख्न सके
गर्मीलाई छेक्ने छहारी राख्न सके
वर्षाद्का लागि ओत राख्न सके
म पछि गन्तब्यमा आउने यात्रुहरूलाई
सुरक्षित यात्रा गर्ने ठाऊ बनाउन सके।
मेरो गन्तब्य सहज हुन्थ्यो होला
मैले मेरो यात्रा तय गर्दै गर्दा
भावी यात्रुको हितमा केही गर्न सके
धन्य हुने थिए म पनि यति गर्न सके
धन्य हुने थिए म पनि यति गर्न सके।