बन्ला त सूचना अधिकारी र सञ्चारकर्मीको सुमधुर सम्बन्ध ?

सरकारी कार्यालयमा सञ्चारकर्मी ठोकिने भनेको सूचना अधिकारीसँग हो । सरकारी निकायहरुले सूचनामा एकद्धार प्रणाली कायम गरी सूचना अधिकारीमार्फत मात्र सूचना सार्वजनिक गर्न थालेका छन् । तर तिनै सूचना अधिकारीसँग सञ्चारकर्मीको सम्बन्ध सुमधुर छैन ।
सकेसम्म फोन नउठाउने,सम्पर्कमा आइहाले पनि सूचना दिन नमान्ने वा पन्छने अधिकांश सूचना अधिकारीमा समस्या देखिन्छ ।
अहिले कर्णालीको दुई छोराले राजधानीको दुई जिल्ला काठमाडौं र ललितपुरको प्रशासन संयन्त्रको बागडोर सम्हालिरहेका छन् । तिनैमध्ये गोविन्द रिजाल काठमाडौंको प्रजिअको भूमिकामा छन् भने ललितपुरको सिडिओ छन् घनश्याम उपाध्याय ।
Advertisement 1
उनै उपाध्यायले सञ्चारकर्मी र सूचना अधिकारीबीच सुमधुर सम्बन्ध बनाउन पहल प्रारम्भ गरेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पहिलोपटक जिल्लास्थित सबै सरकारी कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्तरक्रिया गराएको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायको पहलमा भएको अन्तरक्रिया कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारी र विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता थियो । सूचना अधिकारी र सञ्चारकर्मीबीच सम्बन्ध राम्रो बनाउन अन्तरक्रिया गराइएको उपाध्यायले बताउनुभयो ।
Advertisement 2
सरकारी कर्मचारीले सूचना दिन आनाकानी गर्ने गरेको गुनासो बढेपछि अन्तरक्रिया कार्यक्रम राखिएको बताइएको छ । अन्तरक्रियामा पत्रकारहरुले सूचना अधिकारीको सम्पूर्ण विवरण वेबसाइटमा राख्नुपर्ने विषय उठाएका थिए । अन्यथा सूचना अधिकारीमाथि कारबाही गरिनुपर्ने उनीहरुको माग छ ।
छलफलपछि प्रत्येक महिनाको चार गते सूचना अधिकारी र सञ्चारकर्मीको संयुक्त बैठक राखिने भएको छ । त्यस्तै, हरेक कार्यालयले आफ्नो फेसबुक पेजमा आफ्नो क्षेत्रभित्र भइरहेको गतिविधिको सूचना प्रवाह गर्न अनिवार्य गरिएको छ । अन्तरक्रियामा सञ्चारकर्मीले पनि सरकारी कार्यालयसंग बारम्बार विज्ञापन माग्न नपाइने विषय उठेको जनाइएको छ ।
Advertisement 3
सञ्चारकर्मी र सूचना अधिकारीबीच दुश्मनीपूर्ण सम्बन्ध हुने गरेको भनिएका बेला यस्ता कार्यक्रम आवश्यक हुने सिडिओ उपाध्यायले बताउनुभयो ।