“राज्यले २० प्रतिशत कर्मचारीलाई पनि काममा लगाउन सकेको छैन्”

अधिकांश सरकारी कर्मचारीमा जागिरे मानसिकताबाट गुज्रिएका देखिन्छन् । तर,त्यो भीडमा फरक पहिचान बनाउन सफल छन् शेषनारायण पौडेल । उनले जागिरे जीवनका सिलसिलामा जहाँ पुगे, त्यहाँ केही न केही सुधारका यत्न गरेका छन् ।०७७ जेठदेखि उनी भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक भूमिकामा छन् । यो बीचमा भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउने काम भएको छ । पूराना ढड्डा, स्रेस्ता पल्टाइरहने झन्झट अन्त्य हुने स्थितीमा पुग्दैछ । अनलाइन प्रणालीबाटै काम तमाम हुने भए पछि मालपोतमा देखिने बिचौलियाहरुको रजगज अन्त्यको स्थितीमा पुग्दैंछ ।यस्तै ,कर्मचारीको सरुवामा हुने भनसुन पूर्णत बन्देज लागेको छ । अहिले वेबसाइटमा ‘अनलाइन सरुवा निवेदन’ भनेर एउटा कोलम राखिएको छ जहाँ कर्मचारीले त्यहीँ क्लिक गरेर फारम भरी ‘म यो कार्यालयमा छु, यो कार्यालयमा जान चाहन्छु’ भनेर निवेदन दिन सक्छन् । यस्ले कर्मचारी सरुवा बढुवाका नाममा कर्मचारी ट्रेड युनियनहरुले गर्ने चलखेल अन्त्य हुँदैछ । अनलाइन सरुवा प्रणालीका कारण मन्त्रालयका मन्त्री, सचिव, सहसचिव, विभागका महानिर्देशक, कर्मचारीलगायत सबैको समय बचत भएको छ । उनी दैनिक जसो २०/२५ वटा मालपोत कार्यालयमा फोन गरेर तलका कर्मचारीका गुनासो सुन्ने काम गर्दै ती गुनासालाई सम्बोधन गर्न केन्द्रित छन् । महानिर्देशक पौडेलको ध्येय छ, भोली कर्मचारीले केही गरी अप्ठ्यारो पर्दा विभागले हेर्छ भन्ने आत्मविश्वास जागोस् ।यस्तै,उनी आएसँगै अहिले स्थानीय तहमा सेवा हस्तान्तरण गर्ने काम भइरहेको छ । इकर्मचारी डट कमको स्तम्भ हाम्रा ५ प्रश्नमा उनै सुधारवादी प्रशासक पौडेलसँग केही सबाल गरेका छौं :-
Advertisement 1
० कुनै समयथ्यो,नापी,मालपोतजस्ता निकायमा कर्मचारी जान हानथाप गर्दथें । अहिले यी निकायमा कर्मचारीहरु आउनै चाहदैनन् भन्ने सुनिन्छ । बास्तविकता के हो ?
अहिले हामीकहाँ दरबन्दी अनुसार,केही उपसचिव र शाखा अधिकृत रिक्त छन् । देशैभर १८ उपसचिव र ९० शाखा अधिकृत पद रिक्त छ । नासु र खरिदार पद भने दरबन्दी अनुसार पूर्ति भएको छ । केही कर्मचारीमा कुनै निकाय वा कार्यालयमा जानै नपरे हुन्थ्यो भन्ने छ । फ्रन्ट लाइनमा बसेर काम गर्न नचाहने कर्मचारीहरु पनि छन् । त्यस्ता कर्मचारीलाई आकर्षण गर्ने गरी विभागले कार्यक्रम ल्याउदैं छ ।
० पहिला आकर्षक कार्यालय मानिने नापी,मालपोतप्रतिको अहिले आकर्षण घट्नुको कारण के हो जस्तो लाग्छ,यहाँलाई ?
Advertisement 2
मालपोत कार्यालय अग्रपत्तिं (फ्रन्टलाइन)मा बसेर जनताको आधारभुत काम वा कार्य गर्ने निकाय हो । हामीले धेरै काम गर्न बाँकी नै छ । ०२१ सालमा अनुमानकै आधारमा नाप गरेको कागजातको भरमा काम गर्नु पर्ने अवस्था विद्यमान छ । मालपोत कार्यालय भनेको अरुको सिफारिसको आधारमा काम गर्नु पर्ने निकाय हो । नाता प्रमाणीत गर्नेदेखि नागरिकता लगायतका विवरण ठीक हो भनेकै आधारमा हामीले काम गर्नु पर्छ । सबैभन्दा बढी लफडा पर्ने बिषय हो,जग्गा । जहाँ सगोल वा आफ्नै एकाघरका परिवारदेखि साथीभाई,आफन्त,इष्टमित्रसम्मको किचलो पर्दछ । झगडा गर्दै उनीहरु मलपोतसम्म आइपुग्छन् । जग्गा आफ्नो पार्न कतिले त किर्ते काम समेत गर्दछन् । नागरिकतासमेत कीर्ते बनाएर आएको उदाहरण हामीसँग छ । यी सबै जोखिम उठाएरु काम गर्ने हाम्रा कर्मचारीलाई चाहिँ सुरक्षित छैनन् । हामी सरकारका लागि राजश्व उठाइरहेका छौं, हामीले एक दिनमै ४० करोडसम्म राजस्व उठाएका छौं । नागरिकलाई सेवा दिइहरेका छौं ।
अरुको सिफारिसमा काम गर्नु पर्ने हुँदा,कहिलेकाहीँ एउटा मात्र गल्ती हुँदा उसलाई हतकडी लगाईन्छ । कर्मचारीलाई काम अनुसारको प्रोत्साहन छैन,सरकारकै अन्य निकायको तुलनामा । पावरफुल मन्त्रालयमा बस्नेले सबै सुविधा पाउने तर अग्रपक्तिंमा जोखिम मोलेर काम गर्ने कर्मचारीले कुनै सुविधा नपाउने स्थिती भए पछि यस्ता निकाय कम रोजाईमा पर्नु स्वभाविकै रुपमा लिनुपर्दछ । बजेट माग्दा अनेकन बाहना गरेर टार्ने प्रवृत्तिको भुक्तभोगीमध्येको एक म आफैं हुँ । जस्ले गर्दा केही गरेर देखाउन खोज्ने कर्मचारीको मनोवल गिरेको हो कि जस्तो आभास हुन्छ ।
Advertisement 3
यो १४ महिनाको मेरो कार्यकालमा हेर्दा मालपोत कार्यलय,त्यहाँका प्रमुखहरुविरुद्ध अख्तियार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र होस वा विभागीय मन्त्रालयमा जे जति उजुरी परेका छन् तीमध्ये नब्बे प्रतिशत उजुरी गलत वा फेक छन् । नक्कली जग्गा धनी बनेर मालपोतमा काम गराउन आउने बिचौलियाहरु पनि धेरै हुन्छन्, उनीहरुले कर्मचारीलाई कसरी हुन्छ छक्काएर काम गराउन खोज्छन् । सबै कुरा मालपोत कर्मचारी र हाकिमलाई थाहा नहुन सक्छ । गलत मनसाय नराखी काम गर्दा गल्ती भयो भने सच्चाउन सकिन्छ तर यहाँ त काम गर्दा सानो गल्ती हुने वित्तिकै कर्मचारीको उठिबास भइहाल्छ । यहाँका कर्मचारी रिस्क लिन खोज्दैनन् । जब कर्मचारीले रिस्क लिन खोज्दैन, सुशासन पनि हुँदैन । असल नियत भएका कर्मचारी सकभर मालपोत कार्यालय आउन नखोज्ने कारण यही हो । तर, अहिले मालपोत कार्यालय सुधारको बाटोमा अगाडि बढिरहेका छन् । कीर्ते कागजातका आधारमा काम गर्न नमान्दा ती हाकिमविरुद्ध फेक उजुरी गरी सताउने प्रवृत्तिका कारण पनि मालपोतका प्रमुख बन्न जो कोही चाहँदैनन् ।
० हाम्रा नीति नै त्यस्ता भएका हुन वा अन्य केही कारण ?
अधिकांश समय सिंहदरबार र वरपर बसेर बर्षमा एक वा दुई पटक अनुगमन गर्न निस्किएर वा काज खान गएको भरमा सिंगो प्रशासनलाई चिन्न सकिदैंन् । अहिले निजामती सेवामा ८० हजारभन्दा बढी कर्मचारी छन् । तर तीमध्ये २० प्रतिशत कर्मचारीलाई पनि सही तरिकाले राज्यले काममा लगाउन सकेको छैन् ।
अन्यन्त्र कुरा छोडिदिनुहोस,सिंहदरबारतिर गएको समयमा हेर्नुहोस त,अधिकांश कर्मचारी फुर्सदमा छन् । उनीहरुको केही कामै छैन् । चौरमा वा क्यान्टिनमा गफ चुटेर बसिरहेका हुन्छन् । बिहान १० बजेदेखि ४ बजेसम्म चौर वा क्याटिनमै देखिन्छन्,भेटिन्छन् । उसको काम गर्ने समय कति बेला हो ? यसरी मुलुक चल्छ ? भए भरका कर्मचारी संघमा थुपार्ने अनि कर्मचारी पुगेन भनेर हरेक बर्ष लोकसेवा खोल्ने । निजामती प्रशासनमा भएका कर्मचारीलाई सही तरिकाले काममा लगाउने हो भने केही पदमा बाहेक कम्तिमा ५ वर्षसम्म लोक सेवा खोल्नै पर्दैन् । मलाई लाग्छ,हामीकहाँ कर्मचारी वा तिनको क्षमताको कमि भएको हैन् । कमी छ त कर्मचारी व्यवस्थापनको । राज्यले २० प्रतिशत कर्मचारीलाई नै काममा लाउनै सकेको छैन् । कर्मचारीलाई धेरै छुट र उन्मुक्ति भयो । यही कारणले प्रशासनले गति लिन सकेन ।
तपाई महानिर्देशक बनेर आएपछि मालपोतमा सुधारका के के यत्नहरु भए ?
शरिर नुहाउनु छ भने टाउकोबाट पानी खन्याउनु पर्दछ । महानिर्देशकको हिसाबले मलाई लाग्छ,अरुलाई सुधार्नका लागि म आफैं सुर्धनुपर्दछ अर्थात सुधार आफैंबाट प्रारम्भ हुनुपर्दछ । चाहे महानिर्देशक होस वा सचिव,मुख्यसचिव सबैले माथिभन्दा तल हेर्नु पर्छ अर्थात आफूभन्दा तलका कर्मचारीका समस्या,उनीहरुको गुनासो सुन्ने र सम्बोधन गर्नेतिर ध्यान केन्द्रित गरिरहेको छु । दैनिक २३ देखि ३० वटा मालपोत कार्यालयसँग सम्पर्क गरेर उनीहरुको समस्या सुन्ने र सुल्झाउनेतर्फ केन्द्रित छु । नेपालको निजामती सेवामा कहिँ बेथिती छ भने,सरुवा वा पदस्थापनमा छ । त्यही कारण म आए लगतै सरुवा वा पदस्थापन अनलाइन प्रणालीबाट गर्ने प्रणाली लागू गरे । यस पछि सरुवा वा पदस्थापनमा हुने चलखेल निस्तेज भएको छ । मैले यो कुर्सीलाई मोहरा वा अचानो बनाएर लेखाजोखा गर्न थाले भने संगठन भताभुङ्ग हुन्छ । म यहाँ आए पछि माथी हेरेको छैन् । कर्मचारीलाई हेर्ने गरेको छु । यो बीचमा भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउने काम भएको छ । अब श्रेष्ता वा ढड्डा पल्टाइरहनु पर्ने झण्झट अन्त्य भएको छ । विचौलियाहरुको प्रभाव न्यून हुँदै गएको छ ।
अस्ति २२ भदौंमा हामीले निजामती सेवा दिवस मनायौं । तपाईले आफ्नो जीवनका उर्जाशील १७ बर्ष यही व्यतित गरिसक्नुभएको छ । यो अवधिमा निजामती सेवाभित्र देख्नुभएका राम्रा र नराम्रा पक्ष के के हुन् ?
हाम्रा कानुन अत्यन्त शसक्त छ । नीति,योजना सबै राम्रा छन् । यो सबैभन्दा सकारात्मक पक्ष हो । यस्तै लोकसेवाबाट छनोट र बढुवा प्रकृया विश्वकै उत्कृष्ट मानिन्छ । यही छनोट प्रक्रियाकै कारण निजामती सेवामा उत्कृष्ट व्यक्तिहरु मात्र छन् । सेवा प्रवेश पछि पनि प्रशष्त अवसर छन् । देश विदेशमा गएर अध्ययन गर्न पाउने अवसर छ । निजामती सेवा आफैंमा ठूलो परिवार हो । वृत्ति विकास राम्रै छ । सेवा सु्विधा पनि उति नराम्रो छैन् । यस्तै हरेकको आ आफ्नै गुण र अवगुण हुन्छ । जस्तो चिनी गुलियो, करेला तीतो, बेसार पहेलो भनेझैं निजामती सेवा व्यवसायिक, आत्मनिर्भर, दक्ष, इमान्दार हुन जरुरी छ । यो स्वचालित र निस्पक्ष हुन जरुरी छ । कासमु,सरुवा वा पदस्थापनमा अझैं धेरै समस्या छन् ती वैज्ञानिक बनाइनु आवश्यक छ ।