निजामती सेवाको विकृती :- कोही तीन महिनामै खेदिने,कोही तीन बर्षसम्म एउटै कार्यालयमा भेटिने
केही प्रशासकलाई फुटबल शैलीमा तीन महिनामै लखेटिने,अनि कोही सचिव तीन बर्षसम्म एउटै कार्यालयबाट कहिँ कतै सरुवा हुनुनपर्ने ? तिनको कार्यसम्पादन अब्बल भएर हो वा अन्य कुनै कला ? प्रशासक पनि कस्तो बनाइए भने वालुवाटार वा शितलनिवासको निकट भए तिनलाई तीन चार बर्षसम्म नचलाउने,अवकाश पाउनु अगावै आयोग वा निकायमा नियुक्ति भेट्टाइहाल्ने । वालुवाटार इतरको भए तीन महिनाभन्दा बढी कहिँ कतै टिक्नै नदिने भकुण्डो बनाइहाल्ने ।
जस्तो महेश्वर न्यौपाने,यामकुमारी खतिवडाहरु भक्तपुरे सांसद महेश बस्नेत र राष्ट्रपति कार्यालयको निकट हुँदा हत्तपत्त चलाइदैनन्। सत्ताइतर भएकै चार्ज लगाएर ई सुरेश आचार्य पछिल्लो पाँच महिनामा तीन ठाउँमा लखेटिसकिएको छ । १४ महिनासम्म झुलाएर सचिव बढुवा भएका उनको पोष्टिङ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा भएको थियो,त्यहाँबाट लो प्रोफाइलवाला सचिव बस्ने कार्यालय नेपाल ट्रष्टमा लखेटिएका उनी अहिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा तानिएका छन् । उनीझैं छिटो छिटो सरुवा हुने सचिवमा देवेन्द्र कार्की,दिनेशकुमार घिमिरे,यादव कोइराला लगायत छन् ।
पछिल्लो डेढ बर्षमा सरकारले झण्डै एक दर्जन पटक सचिवहरूको सरुवा गरेको छ । तर,गृहसचिव महेश्वर न्यौपाने,यामकुमारी खतिवडा,शिशिर कुमार ढुंगनाबाहेकका केही सचिव म्युजिकल चियर शैलीमा वर्षमा तीन पटक सम्म मन्त्रालय परिवर्तन भएको छ । यसबीच तीन जना गृहमन्त्री फेरिए । तर गृहसचिवना उनै न्यौपाने मात्रै थमौति भएपछि अन्य सचिवले भन्न थालेका छन् के अरुचाहिँ भक्तपुर घर नभएकै कारणले सौताको छोरा हुन् ?सचिव बढुवा भएको बर्ष दिन पुगेको छैन् सुरेश आचार्य तीन ठाउँमा सरुवा भइसकेको छ ।
Advertisement 1
उनको पोष्टिङ भएको थियो,राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा । त्यहाँबाट तीन महिना नपुग्दै उनलाई सरुवा गरियो र लो प्रोफाइलको सचिव बस्ने नेपाल ट्रष्टको कार्यालयमा खेदियो । त्यहाँ पनि तीन महिना नपुग्दै अहिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा तानिएको छ । यसै गरी देवेन्द्र कार्कीको पनि तीन महिना नबित्दै सरुवा गरिएको छ । उनी पछिल्लो समय राष्ट्रिय सतर्कता केन्द्र,नेपाल ट्रष्ट हुँदै अहिले उर्जा मन्त्रालयमा पुगेका छन् । सबैभन्दा धेरै खेदिने सचिवमा यादव कोइराला छन ।
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कहिले सामान्य,कहिले स्वास्थ्य हुँदै अहिले पर्यटन मन्त्रालयतिर पुगेका छन् । केही सचिवलाई यसरी भकुण्डो बनाइँदा केही प्रशासक यस्ता पनि छन्,जो तीन् चार बर्षसम्म एउटै मन्त्रालयबाट अन्यन्त्र सरुवा हुनै परेको छैन् । सचिव बनेपछिको तीन बर्षसम्म उद्योग मन्त्रालयमै रहेकी यामकुमारी खतिवडा अहिले महिला बालबालिका मन्त्रालयमा छिन् । यस्तै शिशिर कुमार ढुंगना अर्थमै छन् भने महेश्वर न्यौपाने पनि कम सरुवा हुने सचिवमा पर्दछन् ।
Advertisement 2
सचिव मात्र होइन,सह सचिवको सरुवामा पनि त्यस्तै विकृती भेटिन्छ ।
निजामती सेवा सुधार्न कम्मर कसेर लाग्ने सहसचिव हुन्– भिष्म भुसाल, कुमार दाहाल । जो कुनै पनि निकायमा सातरआठ महिनाभन्दा बढी टिकेको रेकर्ड छैन । अनि विश्वबाबु पुडासैनी मार्काका कर्मचारी पनि छन् जो आठ वर्षदेखि एउटै अड्डा रुंगिरहेछन् । उनी बालाजुस्थित गुणस्तर तथा नापतौल विभागका हाकिम हुन् ।
सोही अवधिमा सुधारवादी प्रशासक भनेर चिनिएका डा भुसाल, कुमार दाहालहरू आधा दर्जनभन्दा बढी ठाउँमा सरुवा भइसकेका छन् । उनीहरू यस्ता पात्र हुन् जहाँ पुग्यो त्यहीं तहल्का पिट्छन् । भुसाल केही महिनाअघि कामै नलाग्ने अड्डाको रूपमा परिचित नेपाल ट्रस्टको कार्यालय पुर्याइए । त्यहाँ पुगेर बालुवाटारवालाका लागि काउसो बने । परिणामतः अहिले वित्त आयोगतिर धपाइएका छन् ।
भुसाल यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदै वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यसम्पादनमा अब्बल थिए । वैदेशिक रोजगार विभागमा पुगे । कामदारसँग चर्को रकम असुल्नेदेखि, अवैध रूपमा विदेश लैजानेविरुद्ध खरो उत्रिए । कामदार ठग्ने म्यानपावरलाई करोडौंसम्म जरिवाना गरे, त्यहाँबाट १० महिना नबित्दै खेदियो र अख्तियारको कार्यालय बुटवल पु¥याइयो । त्यहाँ रहँदा उस्तै छुरा । राजश्व अनुसन्धान कार्यालयका तीन भ्रष्ट उपसचिवलाई अँठ्याए । भ्रष्टाचारी कर्मचारीलाई पाता कसेको बदलामा ९ महिना नबित्दै नेपाल ट्रष्टको कार्यालयतिर खेदिनेमा परे ।
नेपाल ट्रष्ट कर्मचारीलाई थन्क्याउने कार्यालयको रूपमा परिचित । अहिले त्यहाँको सचिव छन्, सुरेश आचार्य । कर्मचारीले हृदयदेखि नै चाहने हो भने धेरै हदसम्म सुधार सम्भव छ भन्ने प्रमाणित गर्दै आएका भुसाल त्यहाँ पुगेपछि फेरि बालुवाटारको टाउको दुखाउने पात्र बने । बालुटारकै संरक्षणप्राप्त यति समूहलाई तह लगाउने गरी एक्सनमा काम प्रारम्भ गरेसँगै भुसाललाई त्यहाँबाट अघिल्लो साता खेदिएको हो । नेपाल ट्रष्टको अध्यक्ष छन्, ईश्वर पोखरेल, त्यहाँ सचिव खगराज अधिकारी, योङजोङ शेर्पा, प्रवीणराज दाहाल, नन्दबहादुर रोकाया सञ्चालक समितिमा छन् । भुसाल सदस्य सचिवको हैसियतमा कार्यरत थिए तर यति समूहकै खिलाफमा काम गर्न थालेपछि अहिले वित्त आयोगतिर फालिएको छ ।
अर्का खोटांगे सहसचिव कुमार दाहाल उपसचिवबाट सहसचिवमा बढुवा हुनेबित्तिकै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक चलाए तर ५ महिना नपुग्दै फालिए । फालिनुपर्ने कारण थियो त्यहाँ रहँदा चौधरी ग्रुप, आरजु राणा जस्ता सम्भ्रान्त वर्गको सिण्डिकेट तोड्ने प्रयास । सोही बदलामा काठमाडौंबाट खेदेर विराटनगर महानगरपालिकातिर फालिए । त्यहाँबाट यातायात व्यवस्था विभागको हाकिम भएर, ५ महिना नबित्दै फेरि खेदिए । यातायातमा सिण्डिकेट लाद्दै आएको ल्होत्सेसँग पंगा खेले । त्यहाँबाट राष्ट्रिय सूचना आयोग र वैदेशिक रोजगार विभाग पुगे । वैदेशिक रोजगारीको बहानामा भइरहेको ठगीको जालो तोड्न खोजे । तर मन्त्री, सचिवभन्दा व्यापारी बलियो भएको मुलुक न प¥यो त्यहाँबाट पनि व्यापारीले खेदेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय लुम्बिनीतिर फालिएका छन्, उनी।