सर्वोच्चमा बोल्न आज क-कसलाई कति समय ?
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा भंग गरेसँगै फेरि सबैको आँखा सर्वाेच्च अदालततिरै सोझिएको छ ।
संसद् विघटनविरुद्ध दायर भएका ३० वटा रिटउपर आजदेखि संवैधानिक इजलासमा गरमागरम बहस हुँदै छ ।
जसमध्ये २६ वटा रिट प्रधानमन्त्री ओलीका विपक्षमा र ४ वटा रिट प्रधानमन्त्री ओलीको पक्षमा परेका छन् ।
सर्वाेच्चको संवैद्यानिक इजलाशमा यी रिट उपर आजदेखि निरन्तर बहस हुन लागेको हो ।
बहसका लागि रिट निवेदक पक्षबाट तीन सय बढी र प्रतिवादी (सरकारी पक्ष) बाट सय हाराहारीले वकालतनामा बुझाइसकेका छन् ।
सर्वाेच्चले फाष्ट ट्रयाक विधिबाट १५ असारभित्रै यो मुद्दा टुंगो लगाउने र पक्ष–विपक्ष दुवैलाई बहसका लागि अधिकतम १५–१५ घण्टाको सीमाबन्दी लगाइदिएका कारण यसपटक वकालतनामामा नाम टिपाएका सबै कानुन व्यवसायीले बहस गर्न पाउने छैनन् ।
सर्वाेच्चले निवेदकहरूलाई बहसका लागि जम्मा १२ घण्टा समय दिएको छ । दैनिक ४ घण्टाका दरले तीन दिनमा निवेदक पक्षबाट बहस सक्ने तयारी छ ।
आजको बहसमा आजको बहसको रिट निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ताहरु खम्ब खाती,गोविन्द शर्मा बन्दी,महादेव यादव,बद्री बहादुर कार्की र शम्भु थापाले बहस गर्नेछन् ।
बहसका लागि खातीलाई २० मिनेट,बन्दीलाई ४० मिनेट,महादेव यादवलाई ३० मिनेट, बद्रीबहादुर कार्कीलाई १ घण्टा र शम्भु थापालाई १ घण्टा ३० मिनेट समय दिइएको छ ।
आज संवैद्यानिक इजलाशमा ४ घण्टा समय यिनै बरिष्ठ अधिवक्ताहरुले लिनेछन् ।
सर्वाेच्चले निवेदकहरुलाई बहसका लागि जम्मा १२ घण्टा समय दिएको छ । दिनमा ४ घण्टाका दरले तीन दिनमा निवेदक पक्षबाट बहस सक्ने उनीहरुको तयारी छ ।
भोली बिहिबारको बहसमा कृष्णप्रसाद भण्डारी,हरिहर दाहाल,मुक्ति प्रधान,रमण श्रेष्ठहरुले बहस गर्ने टुंगो लागेको छ । जसमध्ये रमण र हरिहर दाहालले एक एक घण्टा बहस गर्ने टुंगो लागेको छ ।
त्यसपछि सरकारी पक्षले पालो पाउनेछन् ।
सरकारी पक्षबाट महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता लगायत ११ जनाले बहस गर्नेछन् । यस्को नेतृत्व सुशील पन्तले लिने सरकारी पक्षले जनाएका छ ।
सर्वाेच्चले इजलासमा रहने कानुन व्यवसायी, सरकारी वकिलको सीमा तोकिदिएको छ । वादीतर्फबाट कानुन व्यवसायी एक पटकमा बढीमा ३ जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलमध्ये ३ जना मात्र इजलासमा बस्न पाउनेछन् ।
एमिकस क्युरीका लागि दुई घण्टाको समय दिइएको छ । जसका लागि नेपाल बारले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई पठाएको छ । उनीहरू प्रत्येकले तीस मीनेटको समय पाउनेछन् ।