पौडेललाई भेट्न राति निवासमै पुगे देउवाःके भयो कुराकानी ?
कांग्रेस सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गराएका देउवा शनिबार राति पौडेल निवास बोहराटार पुगेका हुन् ।
Advertisement 1
शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् ।
‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
Advertisement 2
जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शबाहिर गएर प्रतिस्पर्धा भइरहेको बताएका थिए। ‘सिद्धान्त र आदर्शभन्दा बाहिर गएर प्रतिस्पर्धा भइरहेका छन्। अस्वस्थ प्रतिस्पर्धा हुने देखेर नै म महाधिवेशन प्रक्रियाबाट बाहिरिएको हुँ,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
उनले उम्मेदवारी दर्ता गरेकाहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रन पनि आग्रह गरेका थिए। पौडेलले यसपालि सभापतिमा उम्मेदवारी दिएका छैनन्। उनी आफ्नो समूहबाट एक जना मात्रै सभापतिमा उम्मेदवारी दिन चाहन्थे तर प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिए।
Advertisement 3
शनिबार विज्ञप्ति जारी गर्दै पौडेलले आफूले सभापतिमा उम्मेदवारी नदिने बताएका थिए।