तनहुँ र नवलपरासी पूर्वको पूर्वाधार विकास अब दमौलीबाट

तनहुँ। तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ। व्यास नगरपालिका–४ मा स्थापना भएको कार्यालयले बुधबारदेखि सेवा सुरु गरेको हो।
Advertisement 1
गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन स्थापना गरिएको हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बुधबार कार्यालयको उद्घाटन गरे।
डिभिजनको कार्यक्षेत्र तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहनेछ। कार्यालयले दुवै जिल्लामा वैकल्पिक सहायक मार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक र पुल निर्माण एवं स्तरोन्नतिको काम गर्ने कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए।
Advertisement 2
चालु आर्थिक वर्षमा कार्यालयमार्फत रु ५५ करोडका कार्यक्रम सञ्चालन हुनेछन्। यसमध्ये वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु २९ करोड, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि रु १७ करोड र सडक सुरक्षा तथा मर्मतसम्भार कार्यक्रमका लागि रु नौ करोड विनियोजन गरिएको छ।
कार्यालयले पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन, गुणस्तर परीक्षण, ठेक्का प्रक्रिया, भुक्तानी, सुपरिवेक्षण तथा विवाद समाधानलगायतका काम गर्नेछ।









