विश्व मधुमेह दिवस : नेपालमा मधुमेह रोगीको सङ्ख्या करिब १३ लाख पुग्यो, ५० प्रतिशतभन्दा बढीलाई थाहै छैन आफूलाई– मधुमेह छ

पुरुषोत्तम सुवेदी
काठमाडौं। आज, ’विश्व मधुमेह दिवस’ यस वर्ष (मधुमेहको समयमै पहिचान गरौँ, जोखिम घटाऔँ, स्वस्थ जीवन बचाऔँ ! ) भन्ने नाराका साथ मनाइँदै गरेको यो दिवसले मधुमेहप्रतिको जनचेतनालाई थप बलियो बनाएको छ । नेपालमा मधुमेह (डाइबिटिज) रोगीहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दै करिब १३ लाख पुगेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहका १२ लाख ५९ हजार १ सय जना वयस्कहरूमा मधुमेहको समस्या देखिएको हो ।

Advertisement 1

महासंघको प्रतिवेदनअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहको कुल वयस्क जनसङ्ख्या १ करोड ९१ लाख १७ हजार ९ सय रहेको छ । यस कुल वयस्क जनसङ्ख्यामध्ये ७.७ प्रतिशतमा मधुमेहको व्यापकता (प्रिभ्यालेन्स) रहेको तथ्याङ्कले देखाएको छ ।

विश्वव्यापी रूपमा मात्र नभई नेपालमा पनि मधुमेह एक चुनौतीका रूपमा फैलिँदै गएको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्याङ्क अनुसार नेपालमा करिब १२ लाख ५९ हजार वयस्क मानिसहरू मधुमेहबाट प्रभावित छन् र यहाँ मधुमेहको व्यापकता दर ६.६ प्रतिशत रहेको छ ।

Advertisement 2

अन्तर्राष्ट्रिय मधुमेह महासंघको वर्गीकरणअनुसार नेपाल दक्षिणपूर्वी एसियाली क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका देशहरूमध्ये २० देखि ७९ वर्ष उमेर समूहमा सबैभन्दा बढी मधुमेहका बिरामी भएका मुलुकहरूको सूचीमा नेपाल चौथो स्थानमा रहेको छ।

बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी तथा सहरीकरणका कारण नेपालमा पछिल्लो समय मधुमेह लगायतका नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढिरहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । समयमै स्वास्थ्य परीक्षण गर्ने, सन्तुलित आहार लिने र नियमित व्यायाम गर्ने बानी बसालेमा मधुमेहको जोखिम कम गर्न तथा यसलाई नियन्त्रणमा राख्न सकिने चिकित्सकहरूको सुझाव छ।

Advertisement 3

तर, यसभन्दा पनि चिन्ताजनक पक्ष के भने, नेपालमा मधुमेह भएका करिब ७०.४ प्रतिशत मानिसलाई आफूलाई यो रोग लागेको छ भन्ने कुराको जानकारी नै छैन (निदान भएको छैन) । अस्वस्थ खानपान, शारीरिक व्यायामको कमी, मोटोपना, धूम्रपान, तनाव र बढ्दो सहरीकरणका कारण यो रोग अब उमेर ढल्केकाहरूमा मात्र सीमित नरही युवा पुस्तामा समेत तीव्र रूपमा फैलिरहेको छ ।

मधुमेहको जोखिम, जटिलता र बच्ने उपायहरू – डा. अग्रहरी
विश्व मधुमेह दिवसको सन्दर्भमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल चितवनमा रहेको भरतपुर सामुदायिक अस्पतालमा वरिष्ठ परामर्शदाता (सिनियर कन्सल्टेन्ट फिजिसियन) का रूपमा कार्यरत डा. महेन्द्र अग्रहरीले मधुमेहको जोखिम, यसका गम्भीर जटिलताहरू र समयमै अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभएको छ । डा. अग्रहरीका अनुसार बदलिँदो जीवनशैली, तनाव व्यवस्थापनमा कमी, खानपानको असन्तुलन र निद्राको अपर्याप्तताले गर्दा पछिल्लो समय युवा अवस्थामा समेत मधुमेहको प्रकोप बढ्दो छ ।

बिरामीले आफ्नो स्वास्थ्यलाई सहजै नियन्त्रणमा राख्न डा. अग्रहरीले मुख्यतया तीनवटा विषयमा विशेष जोड दिनुभएको छ । खानपानको सन्तुलन – आहारमा चिनी, नुन, चिल्लो पदार्थ र जङ्क फुडको मात्रा कम गर्ने तथा हरियो सागसब्जी, ताजा फलफूल र पूर्ण अनाजलाई प्राथमिकता दिने , पर्याप्त निद्रा– शरीरलाई स्वस्थ र तरोताजा राख्न दैनिक कम्तीमा ७ देखि ८ घण्टा गहिरो निद्रा सुत्ने रा नियमित व्यायाम– शारीरिक सक्रियता बढाउँदै हप्तामा कम्तीमा १५० मिनेट (अर्थात दैनिक ३० मिनेट) छिटो हिँड्ने वा नियमित व्यायाम गर्ने लगायत छन ।

यी तीनवटा कुराको प्रभावकारी व्यवस्थापन गर्न सकेमा मधुमेहलाई पूर्ण रूपमा कन्ट्रोलमा राख्न सकिने र चिकित्सकको सल्लाह बमोजिम औषधिको मात्रा घटाउन तथा कतिपय अवस्थामा औषधिबिनै पनि मधुमेह नियन्त्रणमा राख्न सकिने उहाँको सुझाव रहेको छ।

मधुमेहलाई समयमै बेवास्ता गरेमा वा लापरबाही गरेमा शरीरका महत्त्वपूर्ण अङ्गहरूमा गम्भीर असर पर्ने डा. अग्रहरीको सुझाव छ । मुटु तथा मस्तिष्क– हृदयघात, स्ट्रोक (पक्षाघात) र उच्च रक्तचापको उच्च जोखिम रहने , आँखा तथा मिर्गौला– आँखाको दृष्टि कमजोर हुने (रेटिनोपाथी) तथा मिर्गौला फेल हुने (नेफ्रोपाथी) जस्ता गम्भीर खतरा र नसा तथा खुट्टा– हातखुट्टा झमझमाउने, पोल्ने, दुख्ने (न्युरोपाथी), घाउ छिटो निको नहुने र ग्याग्रिन भई खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने हुनाले सजगता अपनाउनुपर्ने डा. अग्रहरीको सुझाव छ ।

रोगबाट बच्न र समयमै पहिचान गर्नका लागि नियमित रूपमा फास्टिङ, पोस्टप्रान्डियल तथा प्रत्येक ३ महिनामा जाँच गराउनुपर्नेमा डा. अग्रहरीको जोड छ । साथै, नियमित रूपमा चिकित्सकको परामर्श लिने, शरीरको तौललाई सन्तुलनमा राख्ने तथा धूम्रपान र मदिरा पूर्ण रूपमा त्याग्न उहाँको सुझाव छ ।

“आज जाँच गरौँ, भोलि स्वस्थ जीवन जिउँ“ भन्ने मूल नाराका साथ आफ्नो स्वास्थ्यप्रति सचेत हुन, समयमै मधुमेहको पहिचान गर्न र स्वस्थ जीवनशैली अपनाउन डा. अग्रहरीको सुझाव छ।

मधुमेह अब केवल एउटा व्यक्तिगत स्वास्थ्य समस्या मात्र नरही विश्वव्यापी र राष्ट्रिय दुवै तहमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको छ । नेपालमा करिब ५० प्रतिशतभन्दा बढी मानिसलाई आफूलाई यो रोग भएको थाहा नहुनु अझ चिन्ताजनक विषय हो, जसले समयमै परीक्षण र जनचेतनाको आवश्यकतालाई प्रष्ट पार्छ।

बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक निष्क्रियतालाई चिर्दै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा र समयमै स्वास्थ्य जाँच (फास्टिङ, पोस्टप्रान्डियल र ग्लािकेटेड हेमोग्लोबिन) ) गर्ने हो भने मधुमेहका गम्भीर जटिलताहरूबाट पूर्ण रूपमा बच्न सकिन्छ।

“आज जाँच गरौँ, भोलि स्वस्थ जीवन जिउँ“ “ भन्ने यस वर्षको मूल मन्त्रलाई आत्मसात् गर्दै हामी सबैले आफ्नो स्वास्थ्यप्रति सचेत हुन र स्वस्थ जीवनशैली अपनाउनु नै आजको प्रमुख आवश्यकता हो ।

प्रकाशित :२०८३ कार्तिक २८ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]