नारायण पोखरेल प्रतिष्ठानमा डा खनाल चयन

काठमाडौं। नारायण पोखरेल प्रतिष्ठानको अध्यक्षमा डा विष्णु खनाल निर्वाचित भएका छन्।
Advertisement 1
प्रतिष्ठानको आइतबार सम्पन्न नवौँ अधिवेशनले डा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा ऋषभदेव भट्टराई, भवानी देवकोटा, राजन पुरी, भुवन गिरी, गोपाल न्यौपाने, वासु कार्की र रमेश पाठक र महासचिवमा विनोदबाबु ढकाल निर्वाचित भएका छन्।
सचिवमा डा रामहरि ढकाल, बद्रि पोखरेल र भगवती खड्का तथा कोषाध्यक्षमा भीमसेन पोखरेल निर्वाचित भएका छन्। बाँकी सदस्यपछि चयन गरिने भएको छ। प्रतिष्ठानको विधानअनुसार संस्थाको प्रमुख संरक्षकमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल र प्रमुख सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष जयराम लामिछानेलाई चयन गरिएको छ।
Advertisement 2
अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, पर्यटन श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुनमा बद्रीनारायण धामको निर्माण गरेर नेपालको धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान रहेको बताए।
उनले नेपालको एकमात्र सनातनी मान्यता बोकेको बद्रिनारायण मन्दिर सम्पूर्ण नेपालीको आस्थाको धरोहर रहेको र यसको संरक्षणमा प्रतिष्ठानले खेल्दै आएको भूमिका सराहनीय रहेको उल्लेख गरे।
Advertisement 3
प्रदेशसभा सदस्य उद्धव थापाले बद्रीनारायण धाम सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताए। उनले नारायण पोखरेल प्रतिष्ठानले नेपाली समाजको पहिचान र गरिमा जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।
प्रदेशसभा सदस्य केशव पोखरेलले प्रतिष्ठानको अभियान र सक्रियताको प्रशंसा गरे उनले प्रतिष्ठानको सत्प्रयास र अभियानले नागार्जुन नगरपालिकालाई मात्र नभएर सिङ्गो देशकै लागि नमुना धामको रूपमा पहिचान दिलाउन सफल भएको बताए।
प्रतिष्ठानका प्रमुख संरक्षक वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको शुभकामना दिँदै प्रतिष्ठानका लक्ष्य पूरा गर्न एकजुट भएर लाग्न आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष डा खनालले आफ्नो आगामी कार्यकाललाई अझ उत्कृष्ट र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको नीति, नियम र स्थापित परिधिभित्र रहेर प्रतिष्ठानलाई सामाजिक तथा धार्मिक क्षेत्रमा अझ अगाडि बढाउने सङ्कल्प गरे।








