एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफामा ४४ प्रतिशतको सुधार

काठमाडौं। एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा नाफा र प्रतिशेयर आम्दानी दुवैमा उल्लेख्य सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशत बढी हो।

Advertisement 1

बैंकको नाफासँगै शेयरधनीले प्राप्त गर्न सक्ने प्रतिफलको आधारसमेत बलियो बन्दै गएको वित्तीय विवरणले देखाएको छ। बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ ६४ पैसा पुगेको छ।

बैंकको आम्दानी वृद्धिमा सञ्चालन नाफाको सुधार र सम्भावित कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीले समेत योगदान गरेको देखिन्छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।

Advertisement 2

कर्जा विस्तारमा बैंकिङ क्षेत्रको औसतभन्दा अगाडि

एनएमबि बैंकले निक्षेप परिचालनसँगै कर्जा विस्तारलाई पनि निरन्तरता दिएको छ। पहिलो त्रैमाससम्म बैंकको कुल कर्जा लगानी २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो अवधिको तुलनामा कर्जा लगानी ८ अर्ब ९ करोड रुपैयाँले बढेको हो।

Advertisement 3

त्यस्तै, बैंकको कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले वृद्धि भएर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा वृद्धिदर समग्र बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको जनाइएको छ।

कर्जा विस्तार भइरहँदा खराब कर्जाको अनुपातमा समेत सामान्य सुधार देखिएको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको छ। यसले बैंकको कर्जा गुणस्तर व्यवस्थापनमा सुधारको संकेत गरेको छ।

पुँजी कोष अनुपात १२.५३ प्रतिशत

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत कायम रहेको छ। बैंकका अनुसार यसले पुँजीगत आधार, वित्तीय स्थायित्व र दिगो बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले एनएमबि बैंकको खुद नाफा, सञ्चालन आम्दानी, प्रतिशेयर आम्दानी तथा वितरणयोग्य नाफामा सुधार देखाएको छ। कर्जा विस्तारलाई गति दिँदै खराब कर्जाको अनुपात घटाउन सकेको बैंकका लागि आगामी त्रैमासमा यो सुधारलाई निरन्तरता दिनु मुख्य चुनौती हुनेछ।

प्रकाशित :२०८३ कार्तिक १५ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]