संरक्षणको अभावमा ऐतिहासिक बलामकोट दरबार भग्नावशेष

बागलुङ। बागलुङ नगरपालिका–८ सिँगानास्थित ऐतिहासिक बलामकोट संरक्षण अभावमा ओझेलमा परेको छ। त्यस बेलाका भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको मानिएको बलामकोट दरबार संरक्षण नहुँदा भग्नावशेषसमेत माटोमा पुरिएको छ।
Advertisement 1
हाल त्यस क्षेत्रमा माटाका ढिस्का मात्रै देखिन्छन्। समयमै संरक्षण र उत्खनन् हुन नसक्दा ऐतिहासिक महत्त्व बोकेको उक्त स्थल लोप हुने अवस्थामा छ।
बाइसे–चौबिसे राज्यका पालामा बलामी नामका राजाले बलामकोटबाट राज्य सञ्चालन गरेको ऐतिहासिक इतिहास छ। त्यस क्षेत्रको करिब तीन रोपनी जग्गामा खनजोत गर्ने क्रममा इँटा, दियो, ओखल तथा दरबारका अन्य भग्नावशेष फेला परेको स्थानीय राजन कार्कीले जानकारी दिए।
Advertisement 2
उक्त दरबारबाट राज्य सञ्चालन गर्ने राजाले हतियार भण्डारणका लागि हाल सिँगाना र रेशमस्थित कोतघर प्रयोग गरेको बताइन्छ। त्यो कोतघर नजिक बलामकोट दरबार रहेको अनुमान गरिएको स्थानीयको भनाइ छ।
उक्त ऐतिहासिक स्थलको उत्खनन गरी भग्नावशेष सङ्कलन तथा संरक्षण गर्नुपर्ने स्थानीय कविराज जिसीले बताए। उनका अनुसार सिँगानाबाट रेश, दमेकलगायत स्थानमा राज्य सञ्चालन भएको पाइएको छ।
Advertisement 3
नेपालको इतिहासमा राज्य सञ्चालन गरेको महत्वपूर्ण स्थल, रानी तथा भूमे मन्दिर र कोतघरसँग सम्बन्धित ऐतिहासिक महत्व बोकेको बलामकोटको संरक्षण गरी पर्यटनसँग जोडनुपर्ने स्थानीयको माग छ। त्यस क्षेत्रसँग सम्बन्धित सिँगाना कोतघर पुनर्निर्माण गरी आकर्षक बनाइए पनि त्यससँग जोडिएको बलामकोट भने संरक्षणको अभावमा मासिँदै गएको छ।
उक्त नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले कोतघरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनर्निर्माण तथा संरक्षण गरिएको भए पनि बलामकोटको संरक्षण गर्न नसकिएको बताए।
बडादसैँका अवसरमा सिगाना कोतघरमा चहलपहल भए पनि कुनै समय राज्य सञ्चालन भएको बलामकोट भने सुनसान रहँदै आएको छ। अहिले उक्त स्थान वनभोजस्थलका रूपमा प्रयोग हुन थालेको छ।








