सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ। अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका ४ वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ। बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ।

Advertisement 1

विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ। मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन्। वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ।

सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

Advertisement 2

उनका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ। गाउँपालिकाले जेसिबी र ढुङ्गा उपलब्ध गराउने तयारी गरेको छ।

“बाढीले सडक बगाउँदा गाउँपालिकाका ४ वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। चाडपर्व र पर्यटकीय मौसम सुरु हुन लागेकाले लामो समय सडक अवरुद्ध हुन दिनुहुँदैन भनेर तत्काल मर्मतको काम अघि बढाएका हौँ। आजदेखि सडक सञ्चालनका लागि काम सुरु हुन्छ। यसमा प्रदेश सरकार र नेपाली सेनाको महत्वपूर्ण सहयोग रहनेछ।” अध्यक्ष केसीले भने। गाउँपालिकाले विपद्बाट भएको क्षति व्यवस्थापन तथा मर्मत–पुनर्निर्माणका लागि विपद् व्यवस्थापन समिति गठन गरेको छ।

Advertisement 3

उक्त समितिमार्फत राहत, पुनर्निर्माण तथा सहयोग जुटाउने काम गरिने गाउँपालिकाले जनाएको छ। विभिन्न सङ्घसंस्था तथा व्यक्तिले सहयोगको घोषणा गरिसकेको अध्यक्ष केसीले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनर्निर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

वीरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो। त्यस्तै, वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ।

प्रकाशित :२०८३ भाद्र २, मंगलवार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry