अब बिल लिएरै किनमेल गर्नुहोस्, सरकारबाट १० लाख रुपैयाँसम्म जित्ने अवसर

काठमाडौं। उपभोक्ताले किनमेल गर्दा बीजक (बिल) लिनुपर्ने संस्कारलाई प्रवद्र्धन गर्न सरकारले नयाँ प्रोत्साहन योजना लागू गरेको छ। अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै बिल लिने उपभोक्तालाई मासिक नगद उपहार प्रदान गर्ने व्यवस्था गरेको हो।
Advertisement 1
नयाँ कार्यविधिअनुसार कम्तीमा १०० रुपैयाँ बराबरको वैध बीजक प्राप्त गर्ने उपभोक्ताले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्। सहभागीमध्येबाट प्रत्येक महिना १० लाख रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधि जारी गरेको हो। मन्त्रालयका अनुसार यो व्यवस्था कार्यविधि जारी भएसँगै तत्काल लागू भइसकेको छ।
Advertisement 2
सरकारको विश्वास छ कि यस योजनाले उपभोक्तामा ‘बिल लिने बानी’ विकास गर्नुका साथै व्यवसायीलाई कारोबार पारदर्शी बनाउन दबाब सिर्जना गर्नेछ। यसबाट कर छली न्यूनीकरण, वास्तविक कारोबार अभिलेखीकरण तथा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
अब कुनै पनि सामान वा सेवा खरिद गर्दा ‘बिल चाहिन्छ’ भन्नु केवल आफ्नो अधिकारको प्रयोग मात्र होइन, १० लाख रुपैयाँसम्मको मासिक उपहार जित्ने अवसर पनि बन्न सक्नेछ। सरकारले सबै उपभोक्तालाई प्रत्येक कारोबारमा अनिवार्य रूपमा वैध बीजक लिन आग्रह गरेको छ।








