ग्यास अभाव नभएको निगमको दाबी, अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह

काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै ग्यास अभावको हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ।

Advertisement 1

निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको उल्लेख गर्दै सञ्चार माध्यममा प्रकाशित ग्यास अभावसम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निगमका अनुसार हाल १४.२ केजी क्षमताका ग्यास सिलिन्डरको बिक्री वितरण नियमित भइरहेको छ। बजारमा ग्यास अभावको गुनासो आएपछि ग्यास उद्योगीलाई सहज आपूर्तिको व्यवस्था मिलाउन तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखी व्यवस्थित रूपमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ।

Advertisement 2

काठमाडौं उपत्यकामा केही ब्रान्डको ग्यासको उच्च मागलाई ध्यानमा राख्दै निगमले टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ।

Advertisement 3

विज्ञप्तिअनुसार निगमको मासिक औसत एलपी ग्यास खपत ४७ हजार मेट्रिक टन रहेको छ भने हाल मागअनुसार आपूर्ति भइरहेको छ। आकस्मिक रूपमा बढेको मागलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको निगमले जनाएको छ।

त्यस्तै, साउन १ गतेदेखि १८ गतेसम्म २१ हजार ८१६ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको उल्लेख गर्दै निगमले आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न निगमले आम उपभोक्तासँग आग्रह गरेको छ।

काठमाडौं उपत्यकाबाहिर ग्यास आपूर्तिसम्बन्धी गुनासो भए सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा इन्धन डिपोमा सम्पर्क गर्न पनि निगमले अनुरोध गरेको छ।

प्रकाशित :२०८३ श्रावण २०, बुधबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry