बैदेशिक रोजगार ठगीका विवाद मेलमिलापबाट टुंग्याउने कार्यमा बर्दिया उत्कृष्ट, लुम्बिनीमा दोस्रो

बर्दिया। बैदेशिक रोजगारसम्बन्धी ठगीका विवादलाई मेलमिलापको माध्यमबाट स्थानीय स्तरमै समाधान गर्दै प्रभावकारी न्याय प्रवाह गरेको भन्दै बर्दिया जिल्ला लुम्बिनी प्रदेशमा दोस्रो उत्कृष्ट जिल्लाका रूपमा सम्मानित भएको छ।
Advertisement 1
आप्रवासी श्रमिक सञ्जाल, लुम्बिनी प्रदेशले गरेको मूल्याङ्कनअनुसार बैदेशिक रोजगारसम्बन्धी विवादहरूलाई स्थानीय तहमै मेलमिलापमार्फत समाधान गरी सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी न्याय उपलब्ध गराउने कार्यमा बर्दियाले उल्लेखनीय सफलता हासिल गरेको हो।
यस उपलब्धिको कदर गर्दै मिति २०८३ साल श्रावण १९ गते जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा आयोजित कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सम्मान गरिएको थियो।
Advertisement 2
कार्यक्रममा वक्ताहरूले बैदेशिक रोजगारसम्बन्धी ठगीका घटनालाई अदालतसम्म पुग्नुअघि नै मेलमिलापको माध्यमबाट समाधान गर्ने अभ्यासले पीडितलाई शीघ्र न्याय दिलाउनुका साथै अनावश्यक कानुनी झन्झट र आर्थिक भार कम गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। साथै, यस्तो अभ्यासले सरकारी निकायप्रतिको नागरिकको विश्वास समेत बढाएको धारणा व्यक्त गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय बर्दियाले आगामी दिनमा पनि सम्बन्धित सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै बैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित तथा नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Advertisement 3
स्थानीय स्तरमै विवाद समाधानको प्रभावकारी अभ्यासलाई संस्थागत गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्ने बर्दियाको प्रयासलाई प्रदेशस्तरमै उत्कृष्ट अभ्यासका रूपमा लिइएको छ।








