सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा, बर्दियामा एकै दिन २०६ जनाले लिए सेवा

बर्दिया। राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा सेवाग्राहीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, बर्दियाले सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरेको छ।
Advertisement 1
शनिबार (साउन १६ गते) सञ्चालन गरिएको सेवाबाट एकै दिन ९६ जना नागरिक लाभान्वित भएका छन्। कार्यालयका अनुसार ७२ जनाले नयाँ राष्ट्रिय परिचयपत्रका लागि दर्ता गराएका छन्। तीमध्ये ३७ जना पुरुष र ३५ जना महिला रहेका छन्। यसैगरी, ४ जनाले विवरण संशोधन सेवा लिएका छन्, ६ जनाको मोबाइल नम्बर अद्यावधिक गरिएको छ भने १४ जनालाई राष्ट्रिय परिचयपत्र नम्बरसम्बन्धी जानकारी उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासनिक अधिकृत लोकप्रसाद ढकालका अनुसार पछिल्ला केही दिनयता सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ। उनका अनुसार साउन ९ गते सार्वजनिक बिदाका दिन करिब ७० जनाले सेवा लिएका थिए भने साउन १० गते पनि करिब ४० जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्राप्त गरेका थिए।
Advertisement 2
ढकालले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै आगामी सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर सञ्चालन गरिने जानकारी दिए। नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यकताअनुसार बिदाका दिन पनि कार्यालय खुला राखी सेवा प्रवाहलाई निरन्तरता दिइने उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार (साउन १७ गते) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।








