संगठन तथा पद दर्ताको काम शतप्रतिशत सम्पन्न, ४ हजार ६८२ दरबन्दी प्रणालीमा दर्ता

काठमाडौं । संगठन तथा पद दर्ता सम्बन्धी विशेष अभियानअन्तर्गत हालसम्म प्राप्त सबै फाइलको काम सम्पन्न भएको छ। संगठन तथा पद दर्ता विशेष टोली (Special Task Team) ले श्रावण १५ गतेसम्म प्राप्त भएका सबै फाइल शतप्रतिशत फर्छ्यौट गरेको जनाएको छ।
Advertisement 1
टोलीका अनुसार श्रावण १५ गतेसम्म संगठन तथा पद दर्ताका लागि प्राप्त कुनै पनि फाइल बाँकी नरहेको र सबैको प्रक्रिया टुंग्याइएको छ। यस अवधिमा १० वटा मन्त्रालय (Parent Organization) र तिनअन्तर्गतका १२७ वटा निकाय (Child Organization) गरी कुल १३७ निकायको संगठन तथा पद दर्ता सम्पन्न गरिएको हो।
दर्ता भएका पदमध्ये विशिष्ट श्रेणीका १० पद, सहसचिव वा सो सरहका ८१ पदसहित कुल ४ हजार ६८२ पद/दरबन्दी प्रणालीमा दर्ता गरिएको विवरण सार्वजनिक गरिएको छ।
Advertisement 2
सार्वजनिक विवरणअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, रक्षा मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, कार्यालय र निकायको संगठन तथा पद दर्ता कार्य सम्पन्न भएको छ।
संगठन तथा पद दर्ता कार्य समयमै सम्पन्न गर्न योगदान पुर्याएको भन्दै महानिर्देशक (DG) श्रवण कुमार पोखरेल ले विशेष कार्यटोलीलाई धन्यवाद तथा बधाई व्यक्त गरेका छन्। उनका अनुसार प्राप्त सबै फाइल समयमै टुंग्याइएकाले अब सम्बन्धित निकायका संगठन संरचना र दरबन्दी व्यवस्थापनको आगामी प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।








