जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत। जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ।

Advertisement 1

पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलव्ध गराइएको हो।

स्वास्थ्य संस्थामा नगई घरमा नै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्ने र आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको गाउापालिकाले जनाएको छ।

Advertisement 2

‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएका ९ वटा वडाका १४९ जनालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।

“विसं २०८२ साउनदेखि असार मसान्त तेस्रो हप्तासम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको हो”, उनले भने, “पालिकाकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौा।”

Advertisement 3

सुत्केरी तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ।

महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श दिने गरिएको बताए।

पालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको बताए। उपाध्यक्ष दीपक आचार्यले महिलालाई स्वास्थ्यप्रति सजग बनाउँदै आमा र बच्चालाई स्वस्थ्य राख्नका लागि ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ लागु गरिएको बताए।

प्रकाशित :२०८३ असार २४, बुधबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry