झापामा ३ वर्षमा ६ सय लिए सुरक्षित गर्भपतन सेवा

झापा। जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन्।

Advertisement 1

नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन्। निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन्। जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार विगत ३ वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका ६०६ छन्।

आर्थिक वर्ष २०८०÷८१ मा ३ हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए। यो सङ्ख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ। आव २०८१÷८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल सङ्ख्या ३ हजार ६३७ जना र २० वर्षमुनिका १८३ जना किशोरी थिए। आव २०८२÷८३ को चैत मसान्तसम्ममा सेवा लिनेको कूल सङ्ख्या २ हजार ५८५ जना र २० वर्षमुनिका किशोरीको सङ्ख्या १३१ जना पुगिसकेको श्रेष्ठले बताए।

Advertisement 2

विगत ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि सेवनको विधि रुचाएको देखिएको छ। आव २०८०÷८१ देखि चालु आव २०८२÷८३ सम्ममा औषधि विधि प्रयोग गरेर ६ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन्। सुरक्षित गर्भपतन गराउने कूल १० हजार ४१ जनामध्ये ४ हजार २५ जनाले मात्र शल्यक्रिया विधि रोजेका थिए।

असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा छैन। तथापि सूचीकृत नभएका र निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिममा हुन्छन्। यसको आधिकारिक तथ्याङ्क उपलब्ध हुँदैन। सरकारी स्वास्थ्यमा जाँदा नाम लेखिने र व्यक्तिगत विवरण खोजिने भएका कारण गोपनियताका लागि कतिपय महिला सूचीकृत नभएका संस्था र योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिन पुग्ने गरेका बताइएको छ।

प्रकाशित :२०८३ बैशाख २८, सोमबार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry