चुनावमय देश!

काठमाडौं : देश यतिबेला चुनावमय बन्दै गइरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सरकारले सबै तयारी पूरा गरेको छ। यता राजनीतिक दल पनि चुनावमा उठाएका छन्। उनीहरूले आफ्ना प्रतिनिधिहरू आफ्नो निर्वाचन क्षेत्रमा पठाएका छन्।

Advertisement 1

चुनावमा हुने सम्पूर्ण तयारीका बारेमा चर्चा गर्नेछौँ।

प्रतिनिधिसभा निर्वाचन : ३ हजार ४०६ जना उम्मेदवार दर्ता

Advertisement 2

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार उम्मेदवारमध्ये अधिकांश पुरुष रहेका छन्। सूचना प्रविधि शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ माघ ७ गते साँझ ७ बजेसम्म कुल ३ हजार ४०६ जना उम्मेदवार दर्ता भएका छन्।

उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य समूहबाट रहेका छन्। लिङ्गगत आधारमा हेर्दा उम्मेदवार दर्तामा पुरुषको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।

Advertisement 3

८० हजार सेना परिचालन

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए।

उनले भने, ‘निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ।’

निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ। तोकिएको मितिमा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने सिलसिलामा अहिले प्रदेशस्तरमासमेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन्।

गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ। सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको सेनाको भनाइ छ।

निर्वाचनका लागि दुई लाख १३ हजार कर्मचारी खटिँदै

निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले दुई लाखभन्दा बढी कर्मचारी खटाउने भएको छ। चुनाव तयारी गरिरहेको आयोगले कर्मचारी खटनपटनको तारतम्य मिलाउँदै छ। आयोगका अनुसार मतदान केन्द्रसहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन व्यवस्थापनका लागि कुल दुई लाख १३ हजार कर्मचारी खटाइनेछ।

आयोगले केन्द्रीय कार्यालयसहित प्रत्येक जिल्लामा गरेर ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७० वटा जिल्ला निर्वाचन कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामान्यतया जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्यायसेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहको कर्मचारीको नेतृत्वमा कर्मचारी खटाउने व्यवस्था छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाउँछ।

अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र छन्। ती सबै ठाउँमा आयोगले कर्मचारी व्यवस्थापन गर्नुपर्छ। पाँच सयजनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित आठजना कर्मचारी खटिन्छन्।

डेढ लाख निर्वाचन प्रहरी

चुनावलाई चुस्त बनाउन डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिएको छ।   नेपाल प्रहरीलाई १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि मन्त्रालयले स्वीकृत दिएको छ।

२०७९ सालको निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो। अहिले भने पहिलाको भन्दा सुरक्षा चुनौती जटिल बनेको, फरक अवस्थामा निर्वाचन हुन लागेको, सुरक्षाकर्मीका लुटिएका हतियारहरू बाहिरै रहेको, कारागारबाट भागेका कैदी र थुनुवाका कारण सुरक्षा चुनौती थप जटिल बनेको, मतदाताको संख्या पनि थप भएको जस्ता कारणले निर्वाचन प्रहरीको संख्या बढाएर १ लाख ४९ हजार ९० पुर्‍याइएको छ।

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना भर्ना गर्दा सशस्त्र प्रहरीले भने १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति पाएको हो।

भर्ना संयुक्त रूपमा गर्ने र त्यसमध्ये १५ हजार ११० जना सशस्त्र मातहत रहने गरी सशस्त्रमा जाने र बाँकी नेपाल प्रहरी माहतह रहने गरी नेपाल प्रहरीले अह्रनखटन गर्ने गरी प्रक्रिया अघि बढेको छ।

निर्वाचनमा खटिने कर्मचारीले के पाउँछन्?

निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन मतदान केन्द्र र सुरक्षा अनुमनयुक्त टोलीमा खटिने कर्मचारीका लागि दैनिक भत्ता तथा अन्य खर्चको दर निर्धारण गरिएको छ। निर्धारणअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतले प्रतिदिन २ हजार ५ सय रुपैयाँ भत्ता पाउनेछन्।

सहायक मतदान अधिकृतलाई प्रतिदिन २ हजार रुपैयाँ प्रदान गरिनेछ। यदि सहायक मतदान अधिकृत अधिकृतस्तरको कर्मचारी भएमा भने उनीहरूले मतदान अधिकृत सरह दैनिक भत्ता तथा भ्रमण खर्च पाउने व्यवस्था गरिएको छ। त्यस्तै, सहायक कर्मचारीलाई प्रतिदिन १ हजार ६ सय रुपैयाँ, सहयोगी कर्मचारी र स्वयंसेवकलाई प्रतिदिन १ हजार २ सय रुपैयाँ भत्ता तोकिएको छ।

मतदान केन्द्र निर्माण खर्चतर्फ भवन उपलब्ध भएको अवस्थामा ७ हजार रुपैयाँ खर्च निर्धारण गरिएको छ भने भवन उपलब्ध नभएको अवस्थामा १५ हजार रुपैयाँ खर्च गरिनेछ। साथै, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीका लागि प्रति बीस किलोमिटर ३ हजार रुपैयाँ खर्च व्यवस्था गरिएको छ। यसैगरी पानी, बिजुली, सञ्चार खर्चलगायत विविध तथा भैपरी आउने खर्चबापत ५ हजार रुपैयाँ मतदान अधिकृतलाई एकमुष्ट रूपमा उपलब्ध गराइनेछ।

३१ अर्ब खर्च

प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। प्रधानमन्त्री कार्कीले  फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइसकेकी छिन्।

चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ? ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा। सबै निर्वाचनमा त होइन। कसलाई केके अभाव छ, त्यो पूरा गर्दा। भौतिक साधनहरूको अभावहरू पूरा गर्दागर्दै। त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ। त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि।’

उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।

मतदाता शिक्षा कार्यक्रम

निर्वाचनका देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ। सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढेको हो।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।

सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका  छ हजार ७४३ वडामा सञ्चालन हुनेछ। त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्। आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन्।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको छ।

प्रकाशित :२०८२ फाल्गुन १७, आईतवार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry