मन्त्री बनेको ३ दिनमै १० सहसचिव सरुवा

काठमाडौं। खानेपानी मन्त्री डा. मदन प्रसाद परियारले जिम्मेवारी सम्हालेको ३ दिनमै १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका परियारलाई प्रधानमन्त्री सुशीला कार्कीले पुस २० गते आइतबार खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएपछि सिंहदरवारस्थित मन्त्रालय पुगेर सोमबार साँझ साढे ५ बजेतिर पद बहाली गरेका थिए । दोहोरो जिम्मेवारी समाहालिरहेका मन्त्री परियारले ३ दिनमै अर्थात् पुस २३ गते बुधबार १० जना सहसचिवको सरुवा गरेका छन्।
Advertisement 1
खानेपानी मन्त्रालयमा गरिएको पछिल्लो सरुवाले पनि पुरानै प्रवृत्तिलाई पुष्टि गरेको देखिन्छ । जेन जेड आन्दोलनपछि सिर्जित राजनीतिक तथा प्रशासनिक विषमताबीच यही फागुन २१ गते निर्वाचन हुन लागेको छ । सरकार तथा राज्यका संयन्त्रहरू निर्वाचन तयारीमा केन्द्रित देखिइरहँदा अन्तरिम चुनावी सरकारका मन्त्री भने निर्वाचन हुन २९ दिन मात्र बाँकी रहँदा कर्मचारी सरुवामै व्यस्त देखिएका छन्, जसले प्रशासनिक स्थायित्वमाथि प्रश्न उठाएको छ।
खानेपानि मन्त्रालयले दिएको विवरणअनुसार मन्त्रालयको बरन्डा (अतिरिक्त) दरबन्दीमा रहेका रमाकान्त दुवाडीलाई योजना महाशाखामा खटाइएको छ भने योजना महाशाखामा रहेका बाल मुकुन्द श्रेष्ठलाई मेलम्ची खानेपानी विकास समितिमा पठाइएको छ । त्यसै गरी मेलम्ची खानेपानीका कार्यकारी निर्देशक जगन्नाथ दासलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्ज सरुवा गरिएको छ ।
Advertisement 2
त्यसै गरी आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का प्रमुख लक्ष्मी प्रसाद उपाध्यायलाई विभागको उपमहानिर्देशक बनाइएको छ भने उनको स्थानमा खानेपानी तथा ढल व्यवस्थापन विभागका टीका बहादुर चौधरीलाई पठाइएको छ । जलवायु क्षेत्र हेर्दै आएका चौधरी यसअघि पनि पीआइडीमै कार्यरत थिए ।
विश्व बैंकको परियोजना अन्तर्गतको खानेपानी क्षेत्रगत सुशासन आयोजनाबाट समित यादवलाई एडिबी फन्डेड शहरी तथा एकीकृत खानेपानी आयोजनामा सरुवा गरिएको छ भने उक्त आयोजनामा कार्यरत सुरत बमलाई यादवको स्थानमा खटाइएको छ। यस्तै, विभागका उपमहानिर्देशक नारायण आचार्यलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पोखरा पठाइएको छ भने सहसचिव उज्ज्वल प्रजापतिलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगर सरुवा गरिएको छ ।
Advertisement 3
विराटनगरमा यसअघि कार्यरत उपसचिव सुरत लाल चौधरी तत्कालीन मन्त्री प्रदीप यादवको कार्यकालमा सहसचिव दरबन्दीमा कायम मुकायम पाएका थिए। उनलाई प्रमुख बनाउने प्रयोजनले उनीभन्दा ज्येष्ठ जिल्ला हेर्ने प्रमुखहरूलाई अन्यत्र सरुवा गर्नुपरेको थियो । विराटनगरमा उनको कार्यकालका क्रममा देखिएका बेथितिबारे मन्त्रालयसम्म आलोचना भइरहेका बेला कन्फर्म सरुवाले अवस्था केही मत्थर बनाउने प्रयास भएको एक सहसचिवले बताए ।
लुम्बिनी प्रदेशको शहरी तथा खानेपानी सचिवका रूपमा कार्यरत वासुदेव पौडेलको दरबन्दी जनकपुर कायम गरिएको छ । उनी आगामी दिनमा सरुवा भएर फर्किँदा खटाउन सकिने उद्देश्यले दरबन्दी जनकपुर राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयमा पुल दरबन्दी ६ जना भए पनि यसअघि ८–९ जनासम्म राखिएको थियो । पछिल्लो निर्णयपछि अध्ययनमा रहेका राजेन्द्र सापकोटा, समित यादव, सुरत बम, मेलम्चीका हरि शर्मा, बाल मुकुन्द श्रेष्ठ र पीआइडीका टीका बहादुर चौधरी गरी ६ जनालाई आयोजना कार्यान्वयन पुलमा राखिएको छ ।














