जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो। विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

Advertisement 1

जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो। यस पश्चात् केहीदिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध समेत भएको थियो। केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ।

उनका अनुसार ५ हजार ३ सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, ३ हजार ६ सय ५९ जनालाई राहदानी, ३ हजार ६ सय ७ जनालाई नागरिकता, १ हजार २ सय १३ जनालाई सिफारिस÷प्रमाणीकरण सेवा प्रदान गरिएको छ।

Advertisement 2

यस्तै ४ सय ३४ जनाको गुनासो सम्बोधन, ३ सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, १ सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताए।

३ हजार नागरिकता वितरण, ६ जनाद्वारा परित्याग

Advertisement 3

यस्तै ३ महिनाका अवधिमा ३ हजार ६ सय १ जनालाई नागरिकता वितरण गरेको छ। साउनदेखि असोजसम्म १ हजार ७ सय २४ नयाँ र १ हजार ८ सय ७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताए।

उनका अनुसार नयाँ नागरिकतातर्फ १ हजार ७ सय १४ जनालाई वंशज (बाबुको आधारमा), ५जनालाई वंशज (आमाको आधारमा), ३ जनालाई गैरआवासीय र २ जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ। ९ सय ३३ महिला र ७ सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ।

प्रतिलिपितर्फ वंशजका आधारमा ९ सय २० महिला र ९ सय ५७ पुरुष गरी १ हजार ८ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ। प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा २ महिला र ४ पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन्।

गत साउनमा १ हजार ४ सय ७९, भदौमा १ हजार ३६ र असोजमा १ हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उनले बताए। सोही अवधिमा १ सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ। अधिकारीका अनुसार नयाँ दर्तातर्फ १ सय ३५ र प्रतिलिपितर्फ ५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ।

यस्तै कार्यालयले १ हजार ६ सय ५३ राहदानी वितरण गरेको छ भने २ हजार जनाको विवरण सङ्कलन गरेको छ। ५ हजार ३ सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार ५ सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ।

प्रकाशित :२०८२ मंसिर २२, सोमबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry