बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन।
Advertisement 1
भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ। होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण ५ वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिए। “त्यतिबेला नगरपालिकाले रु ७ लाख बजेट उपलब्ध गराएपछि हामीले २० जना क्षमताका छवटा घर निर्माण सुरु गरेका थियौँ,” अध्यक्ष थापाले भने, “निर्माण सुरु गरेको केही समयपछि कोरोना महाकारीले काम हुन सकेन, त्यसपछि थप पालिकाबाट रु ३ लाख ९६ हजार बजेट आए पनि निर्माण पूरा हुन सकेन।” पछिल्लो समय पालिकाबाट सहयोग नहुँदा होमस्टे निर्माणले पूर्णता पाउन नसकेको उनले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै होमस्टे निर्माण हुने भएपछि निकुञ्ज घुम्न आउने पर्यटकहरु मगर होमस्टेमा पनि आउने अपेक्षा थियो। उनले सहयोगका लागि भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सहयोगको आग्रह गरे पनि सहयोग प्राप्त नभएको गुनासो गरे। “हामेस्टे सञ्चालनमा आए हाम्रो रीतिरिवाज र खानपान प्रवद्र्धन हुन्थ्यो र आम्दानी पनि हुन्थ्यो,” स्थानीय अन्जु थापाले भनिन्, “मगर संस्कृति पनि पुस्तान्तरणमा सहयोग पुग्थ्यो।”
Advertisement 2
भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले चालु आर्थिक वर्षमा होमस्टे निर्माणको कामलाई पूर्णता दिने बताए। “पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्ने हाम्रो योजना हो तर बजेट नहुँदा समस्या भयो,” उनले भने, “होमस्टे सञ्चालनमा ल्याउन थोरै काम बाँकी छ यसै वर्ष सञ्चालनमा ल्याउने गरी काम गर्छौं।”












