सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा। जेनजी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट पुनः आफ्नो नियमित सेवामा फर्कन थालेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनको दौरान क्षतिग्रस्त भएका १४ प्रहरी युनिटमध्ये १२ वटालाई पुनःसञ्चालनमा ल्याइएको छ। बाँकी रहेका फुलबरिया र बाह्रबिघा अस्थायी प्रहरी बिटहरू चाँडै पुनःस्थापना गरिने जनाइएको छ।

Advertisement 1

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, हालसम्म इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, र लहान प्रहरी बिट पुनः सञ्चालनमा ल्याइएका हुन्।

उनका अनुसार, प्रदर्शनको क्रममा ८ वटा प्रहरी चौकीमा तोडफोड र १० वटा चौकीमा आगजनी भएको थियो। त्यसैगरी, प्रहरीले प्रयोग गर्दै आएका ३ वटा चारपाङ्ग्रे र ६ दुई पाङ्ग्रे सवारीसाधन क्षतिग्रस्त भएका छन्। ३ वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् भने ३ सञ्चार सेटहरूमा पनि क्षति पुगेकोे छ। यसक्रममा ९ जना प्रहरी सामान्य घाइते भएका थिए।

Advertisement 2

पुनःस्थापित युनिटहरूमा प्रहरी टोली पुगेसँगै स्थानीय जनप्रतिनिधि र नागरिकहरूले फूलमालासहित स्वागत गरेका छन्। सुरक्षाको अनुभूति र जनसहभागिता दुवै पुनः स्थापना भएसँगै प्रशासनलाई उत्साहित बनाएको छ। प्रहरी नायब उपरीक्षक पासवानले भने, “प्रहरी युनिटहरूलाई सशक्त र जनमैत्री बनाउँदै लैजाने हाम्रो लक्ष्य हो। स्थानीय तह र समुदायको साथमा हामी शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउँदैछौँ।”

प्रकाशित :२०८२ आश्विन १, बुधबार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry