अवकाशको मुखैमा पुगेका सचिवलाई अर्काे ४ बर्षे जागिरको अवसर !
कानुनी छिद्र प्रयोग गरेर अर्काे एक सचिवले ४ बर्षका लागि ढुक्कैले सरकारी जागिर खाने प्रवन्ध मिलाएका छन् ।
रिटायर्ड भएकै भोलीपल्ट रामचन्द्र पौडेलका सम्धी युवराज भुषाल,खुमराज पुञ्जाली,विष्णु लम्सालहरुले झैं सचिव आनन्दराज ढकालले ४ बर्षेका लागि ढुक्कले स्टाफ कलेजमा जागिर खाने प्रबन्ध मिलाएका हुन् । निजामती किताबखानाको विवरण अनुसार (सि न १११७) ढकाल ५८ बर्षे उमेर हद लागेर पुस २१ मा अनिवार्य अवकाश पाउँदै थिए । अवकाश पाउनु साता दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले (१५ पुसको मन्त्रिपरिषद्को बैठकले) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको बरिष्ठ अध्ययन निर्देशकको रुपमा काज सरुवा गरेको हो । उनी यस अघि लोकसेवा आयोगको सचिवका रुपमा कार्यरत थिए । त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्त समूहमा तानिएका थिए । कर्मचारी प्रशिक्षण केन्द्रको नियमअनुसार ढकालले अब कम्तिमा चार बर्ष त्यहाँ जागिर खान पाउनेछन् ।
Advertisement 1
कर्मचारी प्रशिक्षण प्रतिष्ठानको नियम अनुसार, त्रिभुवन विश्वविद्यालयका प्राध्यापाक अथवा नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारीलाई प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशक पदमा काजमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
निजामती सेवामा कस्तोसम्म रोग छ भने उमेर हद सकिएर घर गइसकेका कर्मचारीलाई टपक्क टिपेर सचिवमा बढूवा गर्ने । जस्तो महाश्रम शर्मा,सूर्यप्रसाद आचार्यहरुको हकमा यस्तो भएको छ । अवकाश पाएकै दिनको मन्त्रिपरिषद्को बैठक बसेर उनीहरुको बढूवा गराइएको उदाहरण छ । सह सचिवबाट अवकाश पाउँदा र सचिव भएर अवकाश पाउँदा निवृत्तिभरणमा झण्डै ६ हजार तलमाथि पर्दछ ।