सामान्य प्रशासन र खेलकुद मन्त्रालयमा कार्यालय सञ्चालन गर्न सहज

काठमाडौं। ‘जेन जेड’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो। धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ।

Advertisement 1

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ। तथापि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा कम क्षति भएको पाइएको छ। सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन्।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिए। उनले मन्त्रालयको भूँइतलामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन। सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण संकलनको काम भइरहेको छ भने हिजै आईतवारबाट कर्मचारी कार्यालयमा उपस्थित भएका छन्। नियमित रूपमा कार्य सञ्चालनका लागि आवश्यक तयारी गरिएको छ। धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ।

Advertisement 2

 

मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण संकलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले बताए।

Advertisement 3

“प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ। अन्य विवरण संकलन भइरहेको छ। मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ। यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए”, सहसचिव पराजुलील बताए।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ। सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको समेत कुरा दर्शाएका छन्।

आन्दोलनका कारण युवा तथा खेलकुद मन्त्रालयमा पनि छिटपुटबाहेक धेरै क्षति भएको छैन। यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ। मन्त्रालयका एक कर्मचारीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताए।

यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा ४ वटामा क्षति भएको छैन। मन्त्री आवास स्थल भैसेपाटीमा मन्त्री चढ्ने २ वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन्।

“मन्त्रालय भवनका एकाध सिसा भने फुटेका छन्। परिसरमा अन्य क्षति भएको छैन। त्यसैले यथाअवस्थामा कार्यालय सञ्चालनमा कुनै समस्या देखिएको छैन”, उनले भने,“मातहतका कार्यालयमा पनि ठूलो क्षति भएको छैन। कामको प्रारम्भ गरिसकेका छौँ। सरसफाइ एवम् मुचुल्काको काम पनि भइरहेको छ। सवारीसाधनको क्षतिका सन्दर्भमा बीमा दाबीलगायत विषयमा प्रारम्भिक विवरण तयारी भइरहेको छ।”

मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र सचिवको कार्यकक्षको सिसा फुटेको छ। केही झ्यालको पर्दा जलेको छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ। मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ।

प्रकाशित :२०८२ भाद्र ३०, सोमबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry