कृषि क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरुको दायित्व
गणतन्त्रपछिको दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर धेरैजसो स्थानमा नतिजा पनि आइसकेको छ । अब केही दिनमा नै सबै नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्ने छन् । विकासको कार्यमा त हाम्रा जनप्रतिनिधिहरु दिलोज्यानले लाग्नु नै हुने छ । तर कृषि क्षेत्रलाई पनि विशेष गरी हेर्नुपर्ने भएको छ । हाम्रो देश खेतीको लागि आवश्यक पर्ने जग्गाजमीनको दृष्टिले, हावापानीको दृष्टिले, जनशक्तिको दृष्टिले, मलजलको दृष्टिले, कुनै पनि कुराले कम छैन । तर पनि विकासका अन्य क्षेत्र जस्तै हामी कृषि क्षेत्रमा समेत पछाडि परिरहेका छौं ।
Advertisement 1
कृषि विकासका लागि विगतमा धेरै योजनाहरु पनि बने । सबै सरकारहरुले कृषिलाई प्राथमिकतामा राखेर योजनाहरु बनाए । तर पनि कृषि क्षेत्रमा अझै भने जस्तो विकास हुन सकेको छैन । कृषि क्षेत्रले पहिलेको भन्दा खासै फड्को मार्न सकिरहेको छैन । हामी पहिले अन्नमा आत्मनिर्भर थियौं तर अहिले त्यो स्थितिमा हामी छैनौं । अहिले आएर हामीले अरबौंको दालचामल, तरकारी, फलफूल, सुपारी, मासु आदि आयात गर्न परिरहेको छ । यसले झन् हाम्रो व्यपार घाटा बढिरहेको छ । कृषिप्रधान भनिने देश यो हालतमा गुज्रनु राम्रो हैन । अहिले नै ठूला उद्योगहरु सञ्चालन गरेर हाम्रो औद्योगिक उत्पादनलाई विदेशमा निर्यात गरेर देशको व्यापार घाटालाई कम गर्न सक्ने अवस्थामा हामी छैनौं । तर कृषिमा सम्भावना भने धेरै छ । हामीले निर्यात गर्न नसके पनि कृषिजन्य बस्तुको आयातलाई घटाउनुपर्छ । यस कुरालाई मनन गरेर नयाँ जन प्रतिनिधीहरुले आफ्नो कार्यकmालमा काम गर्नुपर्ने अवस्था छ । योजनामा राखेर मात्र हैन इमानदारीपूर्वक कार्यान्वयनतर्फ सबै क्षेत्रका जनप्रतिनिधिहरु लाग्नु पर्दछ । देशको सबै भागमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सके कम्तीमा पनि कृषिजन्य वस्तुको आयात कटौती गर्न सकिन्छ र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिन्छ ।
त्यसको लागि हरेक पालिकाहरुले योजना बनाउनु पर्दछ र कार्यान्वयन पनि गर्नुपर्दछ । योजनाको अवस्थादेखि कार्यान्वयनको स्थितिसम्म विज्ञहरुको परामर्श लिँदै अघि बढ्नु पर्छ । आ–आफ्नो गाउँर सहरमा भएका खेतीयोग्य जमीनको कसरी उपयोग गर्न र गराउन के कस्ता नीतिहरु अख्तियार गर्ने भन्ने बारेमा छलफल गर्दै अगाडि बढ्नु पर्दछ । खेतीयोग्य जमीनमा प्लटिङ गर्ने कार्यलाई रोक्नै पर्दछ । सबै पालिकाले खेतीयोग्यजमीनको संरक्षण गर्न आवास क्षेत्र, खेती गर्ने क्षेत्र र औद्योगिक क्षेत्र भनेर छुट्याउने गर्नुपर्छ । र खेती गर्ने जग्गामा प्लटिङ गर्ने कार्य गर्नेहरुलाई कारबाही गर्ने नीति बनाउनु पर्दछ । त्यसैगरी खेतीगर्ने जग्गामा सिँचाइको लागि प्रयोग हुने खोला–खोल्साहरुको पानी प्रदूषण हुनबाट जोगाउन र त्यस्ता पानीका स्रोतहरुको संरक्षण गर्न नियमहरु बनाउनु पर्दछ ।
Advertisement 2
जो जग्गाधनीहरु विभिन्न कारणले खेती गर्न नसकी जमीन बाँझो राखिरहेका हुन्छन्, त्यस्ता जमीनमा खेती गर्न चाहने मानिसलाई नियम बनाएर उक्त जमीन उपयोग गर्न दिने व्यवस्था मिलाउनु पर्दछ । रासायनिक वस्तुहरुको जथाभाबी प्रयोग, रासायनिक विषादी र मलको अत्यधिक प्रयोग र औद्योगिक फोहोर, सहरको फोहोरमैला र प्लाष्टिकको प्रयोगले पनि जमीनको उत्पादकत्व कम गराइरहेको छ, त्यसलाई रोक्न पनि ठोस नीति बनाउनु पर्दछ ।
रासायनिक मलको परनिर्भरतालाई कम गर्न गोठेमल, हरियो मल, कम्पोष्ट मल आदिको उत्पादन र गुणस्तर वृद्धिका लागि प्रोत्साहन गर्ने नीति बन्नु पर्दछ । त्यसरी नै रासायनिक विषादीको सट्टा जैविक विषादीको उत्पादन र प्रयोगलाई बढाउने नीति तय गर्नु पर्दछ ।कृषिको दिगो विकासको लागि जल, जमीन र जनशक्ति सबै उत्तिकै महत्वपूर्ण छन् । हाम्रो खेतीमा संलग्न रहिरहेका कृषकहरु यो पेशाबाटै पलायन भइराखेका छन् । खेती गर्दै आएको अनुभवी व्यक्ति र समुदायलाई यस पेशामा कसरी टिकाइराख्ने भन्ने बारेमा पनि नीति बनाउनु पर्दछ । उनीहरुलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सुविधा दिन सके उनीहरुलाई आफ्नो पेशामा लागिरहने वातावरण बन्छ, त्यो बारेमा पनि चिन्तन गर्नु पर्दछ ।
Advertisement 3
कृषकको लागि गुणस्तरका मल, बीउ, विषादी, कृषि सामग्रीहरु समयमा र सुपथ मूल्यमा कसरी उपलब्ध गराउने भन्ने बारेमा पनि जनप्रतिनिधीहरुले सोच्नु पर्दछ । मल, बीउ, सिँचाइ र कृषि समाग्रीहरुमा दिँदै आएको अनुदान कत्तिको प्रभाकारी छ भन्ने बारेमा पनि छलफल गरी प्रभावकारी नीति निर्माण गर्नु पर्दछ । उत्पादन गरेर मात्र हँुदैन कृषकहरुले आफ्नो उत्पादनको सही मूल्य पाउन सकेका छैनन् । समयमा बिक्री नहुँदा र उत्पादनले राम्रो मूल्य नपाउँदा कृषकहरु मर्कामा परेका छन् । उनीहरुलाई विचौलियाहरुले ठगिराखेका छन् । यो अवस्थामा कृषकहरुलाई बजारीकरणको लागि अनुदान दिनु उत्तम हुन्छ । त्यसको लागि पनि उचित नीति तय गर्नु जनप्रतिनिधिहरुको दायित्व हो । खेतीपातीको लागि ऋण लिन चाहने कृषकहरुलाई सस्तो ब्याजदरमा र सहज तरिकाले ऋृण दिने व्यवस्था गर्नु पर्दछ, त्यसबारेमा पनि नियम बनाउनु पर्दछ ।
हाम्रा पुर्खाहरुले ठाउँ अनुसार विकसित गरेका आफ्ना मौलिक खालका रैथाने कृषि प्रविधिहरु पनि छन् ।
हिमाल, पहाड, उपत्यकाहरु र तराईलाई सुहाउने अलग–अलग खालका मौलिक कृषि प्रविधिको विकास गरिएको थियो । खेती गर्न सहज होस् भनेर माटो सुहाउँदा कृषि औजारहरुको विकास गरिएको थियो । खेत जोत्ने, पाखो बारी जोत्ने हलो, दाँदे अलग किसिमको बनाइएको हुन्थ्यो । दाँधे, समाहा, पटाहा, लिड्को, जुवा, जोतारा, हडम्लो, कुटा कोदाला, कोदाली, फाली आदिको विकास पनि माटो र ठाउँ अनुसार विकास गरिएको हुन्थ्यो । यस्ता प्रविधिहरुको जगेर्ना गर्न र समय अनुसार सुधार गर्दै लैजानको लागि कसैले चाहन्छन् भने त्यसको लागि सहयोग गर्नु पर्दछ ।
सिँचाइको लागि कुलो, नहर आदि खन्ने नदीखोलाको कटानलाई कम गर्न छाँद, बाँध निर्माण गर्ने प्रविधि पनि ठाउँ अनुसारविकसित गरिएका छन् । स्थानीय मानिसहरुले स्थानीय स्रोत–साधनको प्रयोग गरी आफैंले विकास गरेका ती प्रविधि अहिले पनि महत्वपूर्ण छन् । ती प्रविधिको पनि संरक्षण र सुधार गर्नु जरुरी छ । कुनखालको खेतबारी र माटोमा कुनखालको बाली लगाउने, सिँचाइ कसरी गर्ने, कति समयको अन्तरालमा गर्ने, झारपात नियन्त्रणका लागि कति बेला दाँधे लगाउने, कसरी गोडमेल गर्ने, कुनखालको औजारको प्रयोग गर्ने आदि सबै अनुभवको आधारमा तय गरिन्थ्यो र त्यसको जानकारी सन्ततिहरुलाई पनि दिने गरिन्थ्यो । यसको संरक्षण र प्रचारप्रसारमा पनि सहयोग पु¥याउनु जरुरी छ ।
अहिले मानिसहरुले आफ्नो स्वास्थ्यमा ख्याल गर्न थालेको पाइन्छ, त्यसैले अर्गानिक उत्पादनको माग बढ्दै गएको छ । प्रांगारिक खेती प्रणालीलाई अबका दिनमा प्राथमिकता दिनु पर्दछ । खेतीमा रोगकीरा लाग्दा नीमको रस र तेल प्रयोग गर्ने, गाईको गहुँत छर्ने, लसुन र प्याजको रस छर्ने चलन पहिले पनि थियो । भण्डारण गरेको अन्नमा कीरा नलागोस् भनेर नीमको पातको प्रयोग गर्ने, तितेपातीको पात र फूलको प्रयोग गर्ने, बोझो र टीमुरको धुलो मिसाउने प्रचलन पहिलेदेखि चल्दै आएको हाम्रो आफ्नो मौलिक प्रणाली हो । यसको विकास र संरक्षणको लागि पनि ध्यान दिनु पर्दछ ।
स्थानीय स्रोत साधनलाई प्रयोग गरी अन्न जोगाउने हाम्रा आफ्नै मौलिक परम्परागत प्रविधि छन् । बीउ भण्डारण गर्न, भुड्का, घ्याम्पा, बाँसको चोयाले बनेका कोठा, डाला, परालले बनेका पुरीयाको प्रयोग गर्ने चलन पहिलेदेखि थियो । घुन पुलताबाट जोगाउन खरानी तोरी, रायो, बाबरीको धुलो प्रयोग गर्ने चलन पनि पुरानै हो । मुसा, घुन र पुतलाबाट अन्नलाई जोगाउन बाँसको भकारी र कोठा बनाउने र बाहिरबाट गाईको गोबरले पोतर अन्न भण्डारण गर्ने अनि माथि सुकेको पराल राखी त्यस माथि खरानी राखेर गोबर, माटो र भुस वा बाबियोको टुक्रा मिसाएर टालिदिने यो स्थानीय प्रविधि हो । भकारीमा अन्न राख्दै जाने नीमको धुलो वा टिमुर वा तुलसी वा जीरा वा बोझोको धुलो पनि पातलो कपडामा पोको पारेर बीचबीचमा राख्ने र बाहिरबाट भकारीमा यिनीहरुको झोल पनि छर्ने गरिन्थ्यो । अहिले आएर हाम्रो परम्परागत वानस्पतिक विषादीको प्रयोगलाई रासायनिक विषादीले विस्थापन गरेको छ । जुन वातावरण र मानव स्वास्थ्यको लागि अति हानिकारक छ । त्यसैले यी रैथाने प्रविधिको पनि जगेर्ना गर्न योजना बनाउनु पर्दछ । पहिले हाम्रा कृषकहरुले अपनाउँदै आएका र अहिले आधुनिक युगमा पनि मान्यता दिएर खोज अनुसन्धान हँुदै आएका हाम्रा मौलिक वैदिक कृषि, प्राकृतिक खेती, यौगिक खेती, अर्गानिक खेतीको संरक्षण तथा विकासको लागि पनि जनप्रतिनिधीहरुले सोच्नुपर्ने देखिन्छ ।