विज्ञान र प्रविधिले बदल्ने हाम्रो भविष्य

आजको युग विज्ञान र प्रविधिको युग हो, जसले राष्ट्रको समृद्धि र विकासमा अभूतपूर्व भूमिका निर्वाह गरिरहेको छ। विज्ञान र प्रविधि आपसमा एकअर्काका पूरक हुन्। विज्ञानले प्रविधिको नवप्रवर्तनलाई गति प्रदान गर्छ भने प्रविधिले विज्ञानका सिद्धान्तहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्षम बनाउँछ। विश्वव्यापी रूपमा विज्ञान र प्रविधिले मानव जीवनका सबै पक्षहरूमा क्रान्तिकारी परिवर्तन ल्याएको छ; यातायात, सञ्चार, स्वास्थ्य र उत्पादनजस्ता क्षेत्रहरूमा यसको प्रभाव विशिष्ट र असाधारण छ। तर नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा अझै विज्ञान र प्रविधिको प्रभावकारी प्रयोग र विकासको ठूलो सम्भावना बाँकि छ। स्रोतहरूको सीमितता, प्रविधिमा पहुँचको अभाव र संरचनागत चुनौतीहरूलाई पार गर्दै नेपालले विज्ञान तथा प्रविधिलाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु अनिवार्य छ।
विज्ञान मानव सभ्यताको एउटा अद्भुत उपहार हो, जसले सत्यको खोजीलाई आफ्नो परम लक्ष्य मानेर प्राकृतिक घटनाहरूको गूढ रहस्य उजागर गर्ने प्रयास गर्दछ। विज्ञानले असम्भव देखिएका कुरालाई सम्भव बनाउने अद्भुत क्षमता राख्छ। प्रायः ‘विज्ञान’ शब्दले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान जस्ता प्राकृतिक विज्ञानलाई जनाउँछ, जसले प्रकृतिसँग गहिरो सम्बन्ध स्थापना गरी यसको नियम र प्रक्रियाहरूलाई उजागर गर्छ। वैज्ञानिकहरूले अनुसन्धानको आरम्भ अवलोकनबाट गर्छन्, त्यसपछि सो अवलोकनको कारण र प्रक्रिया बुझ्न परिकल्पना बनाउँछन् र बारम्बार परीक्षण गरी अन्ततः सिद्धान्तहरू प्रतिपादित गर्छन्। यद्यपि, हाम्रो पूर्वीय दर्शनले गहिरो चिन्तन र कल्पना गरेको भए तापनि, तिनको वैज्ञानिक परीक्षण र उपकरण विकासमा अपेक्षित प्रगति हुन सकेको छैन। वेदहरूमा ज्ञानको अमूल्य भण्डार पाइए पनि, वैज्ञानिक विधिको समग्र विकासमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सकिरहेको छैन।
विश्वका विकसित राष्ट्रहरूमा विज्ञान र प्रविधिको क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र नीति निर्माता बीच सशक्त संवाद हुन्छ, जसले उनीहरूको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको इन्धनको रूपमा ‘अनुसन्धान र विकास’ लाई केन्द्रित बनाउँछ। नेपालले पनि आफ्ना प्राकृतिक स्रोत र आवश्यकता अनुसार स्वदेशी र उपयुक्त प्रविधिको विकास गरी आत्मनिर्भर बन्नुपर्ने अत्यावश्यकता छ। आजको युग विज्ञान र प्रविधिको युग हो, जहाँ तीव्र गतिमा भइरहेका नवीन आविष्कारहरूले मानव जीवनलाई सरल, सहज र गुणस्तरीय बनाउँदैछन्। विश्वका अगुवा राष्ट्रहरू, जस्तै संयुक्त राज्य अमेरिका र जनवादी गणराज्य चीन, विज्ञान र प्रविधिमा अभूतपूर्व प्रगतिको कारण आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अग्रसर छन्। यसैले विज्ञान र प्रविधिलाई समृद्धि र विकासको मेरुदण्ड मानेर यसको क्षेत्रमा निरन्तर नवीनता, लगानी र नीतिगत सुधार आवश्यक छ, ताकि नेपाल पनि विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सकोस् र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्न सकोस्।
स्टीम शिक्षा—विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको समन्वित अध्ययनले नेपालको युवा पुस्तालाई सिर्जनशील, आलोचनात्मक र व्यावहारिक सोच विकास गर्न मार्गदर्शन गर्दैछ। यसले विद्यार्थीहरूलाई जटिल समस्याहरू समाधान गर्न, नवप्रवर्तन गर्न र टोलीमा सहकार्य गर्न सक्षम बनाउँछ, जुन राष्ट्रको सामाजिक तथा आर्थिक रुपान्तरणमा अत्यन्त महत्वपूर्ण छ। आधुनिक युगमा स्टीम शिक्षाको अवलम्बनले मात्र नवप्रवर्तनशील शक्ति निर्माण हुन्छ, जसले विश्वव्यापी प्रतिस्पर्धामा उभिन सक्ने दक्ष मानवस्रोत तयार पार्दछ। नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायका सुझावलाई आत्मसात गर्दै राष्ट्रिय विज्ञान दिवस मनाउनु यसको एक सशक्त उदाहरण हो। यो समर्पणले मात्र नेपालले प्रगतिशील र समृद्ध राष्ट्रको पहिचान बनाउन सक्छ, जहाँ विज्ञान र प्रविधि मात्र होइन, मानवसामथ्र्य पनि उच्चतम शिखरमा पुग्ने छ। यसरी विज्ञान र प्रविधिलाई समग्र विकासको आधार मान्दै अघि बढ्नु नै राष्ट्र निर्माणको दिगो र प्रभावकारी मार्ग हो।
आज विश्वका धेरै राष्ट्रहरू विज्ञान र प्रविधिको विकासमा विशेष प्राथमिकता दिँदै द्रुत प्रगति हासिल गरिरहेका छन्। तर नेपालमा भने विज्ञान र प्रविधिको क्षेत्रमा अझै व्यापक र ठोस ध्यान दिइएको देखिँदैन। विद्यार्थी र जनसाधारणमा पनि यस क्षेत्रमा पर्याप्त सचेतना र आकर्षण नभएको अनुभूति हुन्छ। यद्यपि नेपालको वर्तमान सामाजिक–आर्थिक संरचना र स्रोत सीमितताले अत्याधुनिक प्रविधिको विकासलाई चुनौतिपूर्ण बनाएको छ, तथापि परम्परागत तथा सानातिना प्रविधिहरूमा केन्द्रित भएर विकासका अवसरहरू खोज्नु नै यथार्थवादी र आवश्यक मार्ग हो। यदि सरकारले यी क्षेत्रमा लक्ष्यित नीतिहरू बनाउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको भए कृषिजन्य उत्पादन, स्थानीय उत्पादनशैली र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिने थियो। तर विगतका सरकारहरूले विज्ञान र प्रविधिको महत्वलाई पर्याप्त रुपमा बुझ्न नसक्दा यस क्षेत्रको प्रगति कमजोर रह्यो र ठोस उपलब्धि हासिल हुन सकेन।
विश्व आज विज्ञान र प्रविधिको प्रगतिको कारण ‘संसारलाई एउटा सानो गाउँ’ बनाउँदैछ। यद्यपि नेपालमा विज्ञान तथा प्रविधिको विकासले राष्ट्रिय सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएर विश्व बजारमा विशेष स्थान बनाउन सक्ने सम्भावना अद्वितीय छ। अहिले पनि अधिकांश नेपाली कृषिमा निर्भर छन्, तर परम्परागत तरिकाले मात्र उत्पादन गर्दा आर्थिक लाभ सीमित छ। त्यसैले विज्ञान र प्रविधिको सहायताले कृषिलाई आधुनिक बनाउने, नवप्रवर्तन ल्याउने र उत्पादनशक्ति बढाउने योजनामा जोड दिन आवश्यक छ। साथै, विज्ञान र प्रविधिको महत्त्वलाई जनसामान्यमा फैलाउन व्यापक प्रचार–प्रसार गर्नु र बालबालिकाहरुलाई सानै उमेरदेखि यसको महत्वबारे शिक्षा दिनु अति आवश्यक छ। यो शिक्षा प्रणालीमा समय–समयमा सुधार गर्दै वैज्ञानिक मूल्यांकन गर्ने संस्कार विकास गर्नुपर्नेछ, जसले नेपालको दीगो र समृद्ध विकासको मार्ग प्रशस्त गर्नेछ। विज्ञान र प्रविधिलाई राष्ट्रिय विकासको मेरुदण्ड बनाएर मात्र नेपालले विश्वसामु आफ्नो पहिचान र प्रतिस्पर्धा कायम राख्न सक्नेछ।
वर्तमान समयमा नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय जनशक्ति उत्पादन भईरहेको अवस्था सान्त्वना दिने छ। बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनःस्थापनापछि सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रमका कारण देशभरिका विभिन्न कलेज र विश्वविद्यालयहरूमा विज्ञानका विविध विषयहरूमा अध्ययन गर्ने अवसर विस्तार भएको छ। चिकित्सा र ईञ्जिनियरिङ जस्ता क्षेत्रहरूमा स्थापित प्रतिष्ठित संस्थानहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् भने, नेपाली विद्यार्थीहरू विश्वका नामी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा अध्ययनरत तथा कार्यरत रहँदा देशको गौरव बढाएका छन्। नेपालमै टेस्ट ट्यूब बेबी, अङ्ग प्रत्यारोपण, जटिल शल्यक्रिया, आँखाको उपचारलगायत अत्याधुनिक चिकित्सा सेवा उपलब्ध भईरहेका छन्, जसले स्वास्थ्य सेवा क्षेत्रमा नयाँ युगको प्रारम्भ गरेको छ। जलविद्युत उत्पादन, झोलुङ्गे पुल निर्माण, मत्स्यपालन, सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षणका क्षेत्रमा नेपाली विशेषज्ञहरू अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय रहेका छन्। यी उपलब्धिहरूले विज्ञान र प्रविधिको क्षेत्र नेपालमा निरन्तर प्रगतिशील दिशातर्फ अघि बढिरहेको सङ्केत गर्छन्।
प्रविधि र विज्ञानको विकास सामाजिक वातावरणसँग अत्यन्त गहिरो सम्बन्धित छ। विकास प्रक्रिया राजनीतिक स्थायित्व, राज्यको सक्रिय सहयोग, पर्याप्त जनशक्ति र साधन स्रोतको व्यवस्थित व्यवस्थापनमा निर्भर रहन्छ। नेपालको वर्तमान परिस्थिति हेर्दा राजनीतिक स्थायित्व कायम राख्न आवश्यक संवेदनशीलता अपनाउनु अपरिहार्य छ। नागरिकका हक र अधिकारको संरक्षणसँगै विज्ञान तथा प्रविधिको विकासमा सरकारी प्रोत्साहनले समृद्धि हासिल गर्ने मार्ग प्रशस्त हुन्छ। यद्यपि, विज्ञानमा अनुसंधानका लागि आवश्यक बजेट छुट्याउने विषयमा नेपालमा निरन्तर कमजोरी देखिन्छ, जुन क्षेत्रको दिगो विकासका लागि घातक सावित हुन सक्छ। विकसित राष्ट्रहरूको अनुभवले देखाएको छ कि अनुसन्धानमा पर्याप्त आर्थिक लगानी नहुँदा विज्ञानको प्रगति सम्भव हुँदैन। यसर्थ सम्बन्धित निकायहरूले अनुसन्धान र विकासमा पर्याप्त ध्यान दिँदै आर्थिक स्रोतको अभाव हटाउन पहल गर्न अत्यन्त आवश्यक छ, ताकि विज्ञान र प्रविधिले नेपाललाई समृद्धिको नयाँ उचाइमा पु¥याउन सकोस्।
अहिले विश्व २१ औं शताब्दीमा दौडिरहेको छ। अहिलेको समयलाई सूचना प्रविधिको युगको रुपमा लिने गरिन्छ । सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ। अहिलेका पुस्ताहरूको अधिकांश समय मोवाइल, ल्यापटप वा कम्युटरको स्क्रिनमा हेरेर बित्दछ। चाहे कसैले पढून्, कसैले गेम खेलून्, कसैले भिडियो हेरून्। अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ। चाहे त्यो साथीहरू, आफन्तसँग कुरा गर्न होस्, चाहे कुनै कार्यालयको काम होस्, सबै मोवाइल र ल्यापटपबाट नै गरेको पाइन्छ। प्रविधिको प्रयोगले एक दिनमा हुने काम एकछिनमा नै हुने गर्दछ। त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको फेसबुक, युट्युव हाम्रो दैनिक बनिसकेका छन् भने ट्वीटर, इन्स्टाग्राम, भाइबर, इमो, टिकटक पनि विज्ञान प्रविधिको विकासको वर्तमान नमुनाहरू हुन्।
सन् १९८० को दशक यता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको मानिन्छ र यससँगै विकसित देशका अर्थतन्त्र प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन्। मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ। यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकास साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ। विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल र सिद्धि भएका छन्।
प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको ब्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको ब्यापक विस्तार गर्नसमेत मद्दत पु¥याएको छ। वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ।
विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तैः वैज्ञानिक–प्राविधिक क्रान्ति, नव–प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि। यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ किनभने यसबाट विज्ञान तथा प्रविधि दुबै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ।
आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन्। हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो। नव–प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ। इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ। यसप्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले बाफ र विद्युतको शक्तिको प्रयोग गर्दथ्यो। वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ।
विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ ।तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ ।अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं ।
विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवावर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महìव बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ। तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिने हिसाबले पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफै जाग्नुपर्ने हुन्छ । जनता आफै जागे भने देशको विकास हुन कठिन हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनतामा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिइरहेका छन्। त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधन प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गरी समुन्नत नेपाल बनाउने कुरा सारा नेपालीको राष्ट्रिय संकल्प बन्न सक्नुपर्छ। सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा हामी सबैले आफूलाई उभ्याउन आवश्यक छ । राजनीतिक पार्टीहरूले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नुपर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौ ।
नेपालको विकासमा विज्ञान र प्रविधिको योगदान अतुलनीय छ। गत केही वर्षहरूमा देशमा वैज्ञानिकहरूको संख्या र क्षमतामा उल्लेखनीय वृद्धिदेखिएको छ। नेपाली वैज्ञानिकहरूले जैविक विज्ञान, सूचना प्रविधि, नवीकरणीय उर्जा, कृषिजन्य प्रविधि, तथा स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ आविष्कार र अनुसन्धान गर्दै आइरहेका छन्। यसले मात्र होइन, नेपाललाई विश्व वैज्ञानिक समुदायसँग जोड्ने पुलको काम पनि गरेको छ। वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनले देशको आर्थिक समृद्धि, सामाजिक सुधार र वातावरणीय संरक्षणमा योगदान पुर्याइरहेको छ। भविष्यमा स्टीम शिक्षालाई अझ सशक्त बनाउन र यसको पहुँच विस्तार गर्न आवश्यक छ, जसले नेपाली युवालाई विश्व प्रतिस्पर्धामा खड्किने र देशलाई प्रविधि आधारित विकासको मार्गमा अगाडि बढाउनेछ। यसरी विज्ञान र प्रविधिको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो वैज्ञानिक र प्राविधिक पहिचान बलियो बनाउन सक्ने छ।
वर्तमान एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको क्रान्तिले संसारभरि अभूतपूर्व परिवर्तन ल्याएको युग हो। यस क्रान्तिले मानव जीवनका हरेक क्षेत्रलाई प्रभावित पार्दै विश्वलाई एक नयाँ ढाँचामा रुपान्तरण गरिरहेको छ। सञ्चार, चिकित्सा, यातायात, ऊर्जा, सूचना प्रविधि लगायतका विविध क्षेत्रमा भएका नवप्रवर्तनहरूले मानव जातिलाई अभूतपूर्व सुविधा प्रदान गरेका छन्। यद्यपि, यस प्रविधि र विज्ञानको विकासले सम्पूर्ण मानवलाई समान लाभ पु¥याउनुपर्ने नैतिक दायित्व पनि उत्पन्न गरेको छ। विज्ञान–प्रविधिको यस गतिशील युगमा मानव समाजले सहयोग, साझेदारी र पारस्परिक समझदारीमार्फत विकास र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्दछ।
विज्ञान र प्रविधिको निरन्तर प्रगतिको माध्यमबाट मात्रै राष्ट्रहरूले दीर्घकालीन आर्थिक समृद्धि र सामाजिक विकासको आधार तयार गर्न सक्छन्। यसले कृषिमा सुधार, स्वास्थ्य सेवा सशक्तिकरण, शिक्षा प्रणालीलाई आधुनिक बनाउने, उद्योग–धन्दा र रोजगारी सिर्जनामा योगदान गर्नेछ। तर, यसको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनु अनिवार्य छ। साथै, प्रविधिको मानवताको हितमा उपयोग सुनिश्चित गर्न व्यापक सोच र उत्तरदायित्व आवश्यक छ। जब विज्ञान–प्रविधि समाजका सबै तहमा सहज पहुँच र समान अवसरका साथ उपलब्ध हुनेछ, तब मात्र यसको समग्र प्रभावले विकासको दिगो मोड लिनेछ।
त्यसैले आजको मानवजातिले वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनुका साथै यसलाई समावेशी र न्यायसंगत बनाउन आवश्यक छ। यसले मात्र संसारलाई सतत् समृद्धि र शान्तिपूर्ण भविष्यमार्ग प्रदान गर्न सकिन्छ। विज्ञान र प्रविधिको सदुपयोगबाट मानव कल्याण र प्रकृतिको संरक्षणलाई सँगसँगै अगाडि बढाउने सम्यक दृष्टिकोणलाई अपनाउनु आवश्यक छ, जसले एक समृद्ध, सन्तुलित र दिगो विश्वको सृजना गर्नेछ।
प्रकाशित :२०८२ असार २०, शुक्रबार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%