तमु ल्होसार पर्व- एक जानकारी

गुरूंङ भाषामा वर्गलाई ल्हो भनिन्छ। ल्हो १२ वटा हुन्छन् र हरेक वर्षमा ल्हो फेरिन्छ। यसरी हरेक वर्षको पुष १५ बाट यो फेरिने हुदा पुष १५ को दिनलाई नयां वर्ष अर्थात ल्होसारको रूपमा मनाईन्छ। ल्हो का नामहरू उड्ने, घर्सने र हिड्ने जनावरका नाम संग मिल्ने गरी राखिएको छ। यस वर्षको ल्हो म्हुप्री(गरूड) को नामबाट मानिएको छ। यी वर्गहरू १२ वटा हुन्छन् ती क्रमश: हुन्:-
तो ल्हो(वाघ वर्ग), ह्यू ल्हो(बिरालो वर्ग),म्हु प्री ल्हो(गरूड वर्ग),स प्री ल्हो(सर्प वर्ग),त ल्हो(घोडा वर्ग),ल्हु ल्हो( भेडा वर्ग),प्र ल्हो(वांदर वर्ग),च्ह्या ल्हो( चरा वर्ग), खी ल्हो (कुकुर वर्ग), फो ल्हो ( मृग वर्ग), च्ह्यू ल्हो ( मुसा वर्ग ), लों ल्हो ( गाई वर्ग )
Advertisement 1
गुरूङको संस्कार अनुसार यो वर्ष जन्म हुनेहरू सबै म्हुप्री ल्हो वर्ग मा पर्दछन्। यस्तै अर्को वर्ष जन्मनेहरु स प्री ल्हो वर्गमा पर्छन्। यसरी हेर्दा तमु जातीहरू पनि वातावरण मैत्री , प्रकृति पूजक भएको बुझिन्छ। यिनीहरू सर्पलाई पनि पुज्ने र गरूडलाई पनि पुज्ने हुदा यी दुवैको अस्तित्वको चाहना गरेर वातावरण दीगो राख्न खोजेको पाईन्छ। यिनीहरूले मान्ने वर्गका जनावर र पशु पंक्षीलाई मानवीय स्वभाव र आनीबानी संग पनि तुलना गर्न सकिने हुदा यो वर्ग विभाजन वैज्ञानिक पनि देखिन्छ।
नयां वर्षको रूपमा मनाईने यो पर्वलाई ल्होसार भन्ने गरिन्छ र कतै कतै यसलाई ल्हो छार पनि भन्ने गरिन्छ। गुरूंग भाषामा नयां शब्दलाई छार भनिन्छ र ल्हो भनेको वर्ष वा वर्ग हो। त्यसैले नयां वर्षलाई जनाउने शब्द ल्हो सार वा ल्हो छार हो। सौर्य परिवारको सदस्य पृथ्वीले सूर्यलाई घुम्ने क्रममा डिसम्बर २२ लाई उत्तरायण आरम्भ हुने दिन मानिन्छ, जुन दिनबाट उत्तरी गोलार्द्ध तिर दिन लामो हुन थालेको, गर्मी बढ्न थालेको अनुभूति हुन्छ। हाम्रा पूर्खाहरूले पनि यही तारिखको वरपर पर्ने पुष १५ लाई आधार मानेर बसालेको वनभोज खाने परम्परा अद्यावधिक प्रचलनमा छ।यही गर्मी बढ्ने र दिन लामो हुन थाल्ने दिनको सन्निकट पारेर तमुहरूले पनि पुष १५ लाई नयां वर्षको रूपमा मान्दै आएका हुन।
Advertisement 2
ल्हो सारको रूपमा यो दिनलाई मान्दै गर्दा गुरूंग जातीहरूले यो दिन ठूलाबडाबाट आशिष लिने, आफ्नो परम्परागत खानेकुरा खाने, परम्परागत गहना र पोशाक लगाउने, स्वस्ती शान्तिको कामनाका लागि गीत संगीत गाउने बजाउने, भगवानको नामबाट चरीत्र नाच देखाउने, वन भोज खाने, आफ्नो कला र संस्कृति प्रदर्शन गर्ने चलन छ।
अन्य जात जाती संगै यो जातीले पनि देश परदेश ढाकेको छ। यिनीहरू जुन देश, जुन ठाऊमा रहे बसेको भए पनि यो पर्व ल्होसारलाई धुमधाम संग मनाउने चलन यो जातीमा रहेको छ। विदेशमा बसेका भए पनि आफ्नो वेषभूषा, गरगहना, खानपिन स्वदेशकै सरह गरेर यो पर्व मनाउने गरिन्छ।
नयां वर्षको कुरा गरीरहदा नेपालका हरेक जातजातले आ-आफ्नो परम्परा अनुसार नयां वर्ष मनाईरहेका हुन्छन्। मगर जाती, थारू जातीले माघी(माघे सक्रान्ति) लाई नयां वर्षको रूपमा माने जस्तै तामांग जातीले माघ शुक्ल प्रतिपदा (माघ २७) मा सोनाम ल्होछारको रूपमा र लामा जातीले फाल्गुन शुक्ल प्रतिपदा( फाल्गुन २८) मा ग्याल्पो ल्होसारको रूपमा नयां वर्ष मान्ने चलन छ।त्यसै गरी हाम्रो आदिवासी नेवार समुदायले पनि न्हु दया भिन्तुना(नेपाल सम्बत) को रूपमा छुट्टै नयां वर्ष मान्ने गरेको पाईन्छ। यस पटकबाट त सरकारले यो वर्षलाई मान्यता दिएर सरकारी लेखापढीमा समेत नेपाल सम्बत उल्लेख गर्ने निर्णय गरेर यो पर्वलाई थप सम्मान गरेको छ।
Advertisement 3
तमु जातीको ल्होसारको कुरा गरीरहदा सोनाम ल्होसार र ग्याल्पो ल्होसारका तिथि मिति केही अगाडि पछाडि भए पनि एउटा कुरामा समानता पाईन्छ, त्यो के भने यिनीहरूले नामकरण गर्ने वर्गका जनावर र पशुपंक्षीको नाम भने एउटै हुन्छ। उदाहरणको लागि गरूड वर्ग यस वर्ष सबैको लागि मानिन्छ। किनभने यी तीनवटै ल्होसार तिब्बत- वर्मेली समूह अन्तर्गत पर्छन्। यिनीहरूको पात्रो करीव एउटै हुन्छ।
अहिले विश्वभर नयां वर्ष २०२४ लाई स्वागत गरिरहदा नेपालका आदिवासी जनजातीहरू मध्ये तमुहरूले पनि आफ्नै नयां वर्ष म्हुप्री ल्हो मनाईरहदा यो जाती विश्व समुदाय संग हातेमालो गरेर हिडेको भान हुन्छ। नेपाल भौगोलिक क्षेत्रफलमा सानै होला तर यसको परम्परा र संस्कृतिले विश्वमा अग्रता लिएको पाईन्छ। यसको श्रेय हाम्रा सांस्कृतिक निधिको रूपमा रहेका आदिवासी जनजातीलाई जान्छ। नेपालको भूगोलको सीमानालाई नाघेर हाम्रा कला, संस्कृति, चालचलनले संसार ढाकेको छ । विदेशीहरू नेपालको पहिचानका लागि नेपाल मै जानु नपर्ने गरी नेपालीहरूले आफ्नो स्वाद विश्व बजारमा पस्कीरहेका छन्। यसले नेपालको पर्यटन उद्योगलाई समेत टेवा दिएको पाईन्छ।