उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट
जुम्ला। उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ। जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरिएको हो।
Advertisement 1
मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा मुद्दा जिम्मेवारी सरी आएकासहित कुल जम्मा दुई सय ७९ वटा मुद्दा फछ्यौट भएका छन्। अदालतमा २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको मुख्य न्यायाधीश डाँगीले बताए।
उच्च अदालत जुम्लामा दुई इजलास छन्। पुराना मुद्दाको संख्यणलाई शून्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायाधीश डाँगीले बताए। अदालतका अनुसार देवानीतर्फ २५ वटा मुद्दामध्ये २३ वटा फछ्यौट भएका छन्। साथै सरकारवादी फौजदारी मुद्दातर्फ दुई सय २५ वटा मुद्दा दर्ता भएकामा हालसम्म दुर्ई सय आठ वटा मुद्दा फछ्यौट भएका छन् भने १७ वटा मुद्दाको फैसला हुन बाँकी छ।
Advertisement 2
रिट २८ वटा परेकामा २१ वटा फछ्यौट हुँदा अझै सातवटा निवेदनको सुनुवाइ हुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका सूचना अधिकारी टंकप्रसाद खत्रीले जानकारी दिए। अदालतका अनुसार कर्तव्य ज्यानका २४ वटा मुद्दामध्ये २२, जबर्जस्ती करणीका ७१ मध्ये ६९ वटा, जातीय विभेद तथा छुवाछूतका दुईमध्ये २ वटा, लागुऔषधका २२ मध्ये १९, चोरीका २२ मध्ये १५, बहुविवाह र बालविवाहका १२ मध्ये ११ मुद्दा छिनाफाना भएका छन्।
यसैगरी सम्बन्धविच्छेदका ६ मुद्दामध्ये पाँचवटा, अंश र जग्गाका १० मध्ये १० वटै फछ्यौट भइसकेका छन्। सवारी ज्यानतर्फ १३ मध्ये १२, उत्प्रेषण, परमादेश २५ मध्ये १९, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाको २५ वटै मुद्दा फछ्यौट भएका छन्। निषेधाज्ञाका तीनमध्ये दुई र अन्य ४४ वटा मुद्दामध्ये ४२ वटा मुद्दा फछ्यौट भएको अदालतले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।