बालबालिकाको पाखुरा नाप

कञ्चनपुर। कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ। वैशाख ६ र ७ गते गरी २ दिनसम्म सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम(अभियान) अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको हो।

Advertisement 1

अभियानअन्तर्गत ३७ हजार ३८२ बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८९५ बालबालिकालाई जुकाको औषधि खुवाइएको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार अभियान सफल बनाउन जिल्लाका नौवटै पालिकामा ८१७ महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

Advertisement 2

“दुई दिनको अभियानमा छुटेका बालबालिकालाई आउँदो शुक्रबारसम्म नजिकको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था मिलाइएको छ”, उनले भने, “कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको छ।”

अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा छदेखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको थियो। साथै बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनका लागि पाखुराको नापसमेत लिइएको जनाइएको छ।

Advertisement 3

सरकारले सन् १९९३ देखि भिटामिन ’ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन गरिने यो अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो हुनबाट जोगाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रकाशित :२०८३ बैशाख ९, बुधबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry