मुनीष कुमार चान्दना नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा चयन

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका छन्।
Advertisement 1
बैंकको २०८३ भदौ १ गते जारी विज्ञप्तिअनुसार सञ्चालक समितिको २०८३ साउन २७ गते बसेको ५४८औँ बैठकले भारतीय स्टेट बैंक (एसबीआई) का प्रतिनिधि चान्दनालाई सर्वसम्मत रूपमा सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष चान्दना एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह–२ मा मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनले एसबीआईको पूर्वी तथा दक्षिण एसिया, सिंगापुर र अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन तथा विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरूका लागि रणनीतिक नेतृत्व प्रदान गर्दै आएका छन्।
Advertisement 2
चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित समारोहमा गभर्नर पौडेलले उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल र दीर्घबहादुर रावल, निर्देशक शरणकुमार अधिकारी तथा एसबीआई भारतका उपप्रबन्ध निर्देशक किशोरकुमार पोलुदासुलगायतको उपस्थिति थियो।
Advertisement 3
त्यस्तै, नेपाल एसबिआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रबिण मुनि बज्राचार्य तथा कम्पनी सचिव खगेश्वर भट्टको समेत सहभागिता रहेको बैंकले जनाएको छ।
चान्दनाको नेतृत्वसँगै नेपाल एसबिआई बैंकले एसबीआई समूहको अन्तर्राष्ट्रिय बैंकिङ अनुभव र रणनीतिक क्षमतालाई नेपालको बैंकिङ क्षेत्रमा थप प्रभावकारी रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ।








