तत्कालिन मालपोत र नापी अधिकृतसहित आठ जना विरुद्ध २४ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मालपोत र नापी अधिकृतसहित आठ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisement 1
कैलालीको साविकको नारायणपुर–८ मा जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए । साथै यसरी साविकमा फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिसमते विरुद्द मुद्दा दायर भएको हो ।
मालपोत अधिकृत स्नेहीसहित सोहि कार्यालमया कार्यरत नायब सुब्बा अग्नीबहादुर शाही विरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरु दुई जना विरुद्ध चौबीस करोड ६ लाख ६९ हजार सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएको भन्दै बिगो दागी कायम गरिएको छ ।
Advertisement 2
यस्तै नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत चन्द र सर्भेक्षक दशरथ मण्डलको संलग्नता भएको भन्दै सोहि रकम बराबर बिगो दाबी कायम गर्दै मुद्दा दायर गरिएको छ । साविक नारायणपुर–८ को जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल र बिमलबहादुर रावलले कर्मचारीसँग मिलेमतो गरी सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपले आफ्नो नाममा बनाएको पुष्टि भएकाले उनीहरुलाई पनि २४ करोड ६ लाख ६९ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।