राष्ट्रियसभाको अध्यक्ष पदमा आंखा लाग्दै गर्दा
फाल्गुणको अन्तिम साताबाट राष्ट्रिय सभाको समीकरण फेरिदै छ। नयां समीकरण अनुसार नेकपा माओवादी केन्द्र १७ स्थान पाएर राष्ट्रिय सभामा सब भन्दा ठूलो दल हुन पुगेको छ। ठूलो दल भए संगै राष्ट्रिय सभाको अध्यक्ष समेतमा उसले आफ्नो दावी प्रस्तुत गरेको छ। प्रतिनिधिसभामा ३२ (११%) सिट ल्याउदा सरकार प्रमुख हुन पाईन्छ भने करीव २८% स्थान पाएको राष्ट्रिय सभामा अध्यक्षको दावा गर्नु के अचम्म भयो र!
Advertisement 1
तर पनि आफ्नो स्वार्थ पूरा भए पछि गठवन्धनका सहयात्री संग कुनै सरोकार नराखी ठूलो दल हुनुको तुजूक निकालेको पनि हुन सक्छ। सुन्निएर ठूलो देखिनु र मोटाएर ठूलो देखिनु अवश्य पनि एउटै हैन तर नेकपा माओवादी केन्द्रलाई भने एउटै लाग्यो। ऊ ठूलो दल हुनुको पछाडि ऊ मोटाएर हैन कि सुन्निएर हो भन्ने कुरा उसले बुझेन र उसमा बुझ्न सक्ने क्षमता नै त्यत्ति हो त के गर्ने? हाल ऊ संग भएको पूजी मध्ये ५ वटा सिट रूखले बनाएको र बांकि सूर्यले बनाएको भन्ने पृष्ठभूमिलाई बिर्सेर आफै धोवीको गधा जस्तो निलो रंग पोत्ने संग के तर्क गर्नु! हुन त हाम्रो राष्ट्रिय सभामा आएका अनुहारहरू कस्ता छन् भन्ने विषय पटक पटक छापामा आई रहेका छन् जसलाई यहां दोहोर्याउन चाहना त थिएन तै पनि प्रतिनिधिसभामा जनताले मिल्काएका, पार्टीलाई आस(आर्थिक सहयोग) गरेका, अपारदर्शी तवरले अकूत कमाएकाहरूको बर्चस्व भएकाहरुबाट भरिएको यो राष्ट्रिय सभाको खासै औचित्य त छैन तापनि हाल सम्म कांध हालेर यहां सम्म बोक्दै ल्याएको सत्ता गठवन्धनकै अर्को सारथीले अध्यक्षको नारा दिएर चुनावमा उठाएका पात्रको वास्तै नगरेर आफूले उम्मेद्वारी दिन्छु भन्नु सम्म पनि गठ वन्धन माथि कै धोका हैन कसरी भन्ने ?
फेरि यो पार्टी र यसका नेताहरूबाट यस्ता धोकाहरू हुनु कुनै नौलो हैन र यसरी भन्ने हो यिनको धोकाधडीबाट के एमाले के कांग्रेस सबै भुक्तभोगी छन् तै पनि यी दुबैले यिनलाई समय समय मा कांध हाल्न छाडेका छैनन्। खासगरी भन्ने हो संवैधानिक नियुक्तिको सिफारिश गर्ने ठाऊ संवैधानिक परिषदमा अहिलेको सरकार प्रमुख फेरिए पछि पनि त्यहां उपस्थितिलाई निरन्तरता दिन राष्ट्रिय सभाको अध्यक्ष चाहिएको होला माओवादी केन्द्रलाई ।
Advertisement 2
माओवादी केन्द्रको मात्र कुरा के गर्ने र अन्य पुराना पार्टीलाई डोर्याउने नेताको छविका कारण जनताले यी पुराना पार्टीको समेत बिकल्प खोजी रहेको बेला यी पार्टीको जोड घटाऊका कुरा गरेको जनतालाई मन पर्दैन होला तै पनि अरू बिकल्प नपाएर पुराना पार्टीहरूलाई नै जनताले नवीकरण गरिरहेका छन्। माओवादी पार्टी नयां भए पनि उसको विगतको आतंककारी गतिविधि र मिति सकिएको दर्शनका कारण यसको भविष्य त झनै छैन। यसका नेताले जति गेरू बस्त्र र चन्दन लेपन गरे पनि जनताहरू सक्कली र नक्कली चिन्न सक्ने भएका छन्। यिनीहरूमा न त प्रजातन्त्र उपर विश्वास छ न त संसदीय शासन ब्यबस्था उपर। यिनीहरूले प्रजातान्त्रिक पार्टीको काधमा बसेर परजीबी भएर आफ्नो अस्तित्वको रक्षा गरी रहेका छन्।
त्यसैले यी नक्कली जोगीहरूको पर्दाफास गर्न पुराना पार्टीहरूले ढिलाई गर्न हुदैन, यदि यसो गरिएन भने यसले अरूलाई पनि आफू जस्तै अलोकप्रिय बनाउने छ। एउटा कुरा प्रष्ट के छ भने मतदाताले चाहेको डेलिभरी विद्यमान राजनीतिक दलले दिन सकेनन्। जनताहरूलाई पुराना दलहरू प्रति वितृष्णा फैलाउने काम त्यसका नेताको ब्यबहारले गरेको छ। यसमा पार्टीले बेला मै सोचेनन् भने जनताहरू पार्टी बिरूद्ध मै लाग्न सक्छन्। गएको चुनावमा भएको मतदानको प्रवृत्ति हेर्दा मतदातामा निम्न धारणा उब्जेको देखिन्छः- (१)- पुराना पार्टीले डेलीभरी दिन सकेनन् (२)- पुराना पार्टीले दिएका उम्मेद्वार मन पर्ने भएनन् (३)- नयां पार्टी आउनु पर्ने देखियो (४)-नयां विचार दिने, नेत्तृत्त्व दिन सक्ने नेता भएनन् (५)- स्थानीय तहमा पार्टीको नियन्त्रण नहुदा विकास हुन सक्छ। (६)- पुराना नेताहरूबाट दिक्क भै सकेको हुदा नयां नेताको खोजी भएको (७) राजनीतिलाई सेवा नबनाएर पेशा बनाएको जनताले दिएको उपर्युक्त सन्देशलाई आत्मसात गरी राजनीतिक पार्टीले आफूलाई परिमार्जन गर्नु पर्ने स्थिति देखिएको छ। भोलीका दिनहरूमा विद्यमान राजनीतिक दलहरूले आफूलाई जन चाहना अनुरूप परिमार्जन गर्न सकेनन् भने यिनीहरू लोप हुदै जाने पक्का छ। त्यसैले राजनीतिक दलहरूले पदको मात्र लोभ गर्ने तर जनतालाई डेलीभरी दिन नसक्ने हो भने जनताले बिकल्प खोज्ने छन्।