एनटिएको अध्यक्ष बन्न पूर्व सचिवदेखि मन्त्रीको सल्लाहकारसम्म इच्छुक
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दुई दर्जन भन्दा बढीले आवेदन दिएका छन् । अध्यक्ष पुरुषोत्तम खनाललाई दबाबमा राजीनामा दिन लगाएर घर फर्काइएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आवेदन माग गरेको थियो । माघ १४ गते सम्मको समयसीमा दिएर आवेदन माग गरेकोमा हालै अवकाश भएका सचिवदेखि मन्त्रीकै सूचना प्रविधि सल्लाहकार प्रतिस्पर्धी देखिएका छन्।
Advertisement 1
अध्यक्षको लागि आवेदन दिनेमा केही महिना अघि अवकाश पाएका पूर्व सचिव डा दामोदर रेग्मी छन् । यस्तै नेपाल टेलिकमका पूर्व नायब प्रवन्ध निर्देशक गोकर्णप्रसाद सिटौला,सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य श्रीकृष्ण सुवेदी,यस अघि सर्ट लिष्टमा परेका सुरेशकुमार कार्की,प्राधिकरणकै पूर्व बोर्ड सदस्य गिरेन्द्रराज अधिकारी,साझा प्रकाशनमा रहँदा विवादित पात्र डोलेन्द्रप्रसाद शर्मा,नगेन्द्रकुमार दास,डा शैलेन्द्र गिरी, पंकजकुमार दास ,नन्दविक्रम अधिकारी, रोहित रौनियार, प्रकाश बराल, अनिल झाका अलवा मैनेजर प्रसाद साह कानु, देवनारायण यादव, माधवप्रसाद रेग्मी, सुशील ओझा, नविन जिसी, जनार्दन भट्ट, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल रहेको मन्त्रालयले जनाएको छ।
प्राधिकरणको अध्यक्ष बन्न मन्त्री रेखा शर्माको सल्लाहकार भुपेन्द्र भण्डारीले आवेदन दिएका छन् । भण्डारी २०८० असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका थिए। भण्डारीले एनसेलमा कन्सल्टेन्टको रुपमा समेत काम गरेका थिए।