आज्ञा पालक कि कानूनका पालक हामी कर्मचारी?

हामी निजामती कर्मचारीलाई सन्चालन गर्ने ऐन, निजामती सेवा ऐनले कस्तो कर्मचारीतन्त्रको कल्पना गरेको छ भनेर हेर्दा यो ऐनको प्रस्तावना हेर्नु पर्ने हुन्छ। निजामती सेवा ऐन, २०४९ को प्रस्तावनामा “निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले” यो ऐन बनाईएको हो भनेर लेखिएको छ।

Advertisement 1

यसबाट के बुझिन्छ भने यो सेवा अझै सक्षम होस्, सुदृढ होस्, सेवामूलक र उत्तरदायी होस् भन्ने चाहना राखेको छ यो ऐनले। अब हेरौ यो ऐनले सोचे जस्तो हामीले दिएको र दिने गरेको सेवा सक्षम छ? सुदृढ छ? सेवा मूलक छ? उत्तरदायी छ त?हामीले सेवा ग्राहीलाई दिएको सेवालाई सक्षमताको कसीमा हेरौ। हामीले सेवाग्राहीलाई दिने गरेका सेवाहरू कति सक्षम छन् र तिनीहरूलाई कति सक्षम तवरले प्रदान गरिदै आएको छ, बुझ्नु पर्ने हुन्छ।

सक्षम भनेको भरपर्दो र बलियो हो, अरू संग प्रतिस्पर्धा हुदा आफ्नो जित हुने स्थितिलाई सक्षमता भनिन्छ। हामीले प्रदान गर्ने सेवाहरू निजी क्षेत्र संग मात्र तुलना गर्ने हो भने निजी क्षेत्रले जित्छ। हामी निजी क्षेत्रबाट सन्चालित सेवा संग प्रतिस्पर्धा गर्न सकेका छैनौ। किनभने निजी क्षेत्र प्रविधी मैत्री भै सक्यो, सो क्षेत्रका कर्मचारी आधुनिक प्रविधिबाट दीक्षित छन् र सोही बमोजिम आफ्ना ग्राहकलाई सेवा दिईरहेका छन् तर सरकारी क्षेत्र आधुनिक प्रविधिमा निजी क्षेत्रको तुलनामा अझै पछाडि छ। उदाहरणको लागि शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवाहरू हेरे पुग्छ, सरकारबाट प्रदान गरिएका सेवाहरू कति सक्षम छन्? यसबाट देखिन्छ कि सक्षमतामा हामी पछाडि रहेछौ।

Advertisement 2

अब हामीले दिएका सेबालाई सुदृढताको कसीमा राखौ। सुदृढ भनेको पनि बलियो नै हो तर अझै बलियो। खम्बा जस्तै उभिन सक्ने, जस्तो सुकै विषम परिस्थितिमा पनि विचलित नहुने गुणलाई सुदृढता भनिन्छ। राज्यले प्रदान गरिने सेवा गुणात्मक र सबल भएर अद्वितीय पहिचान दिन सक्नु पर्ने हो तर सेवाग्राहीले यस किसिमको अनुभुति गर्न पाएका छैनन्।

जहां सम्म हामीले प्रदान गर्ने सेवाहरू सेवाग्राहीमुखी छन् कि छैनन् भनेर हेर्ने हो भने यस सम्बन्धमा झनै नकारात्मक प्रतिकृया पाईन्छ। हामीले दिने सेवाहरूको गुणस्तर कमजोर रहेको, बढी खर्चिलो भएको, छिटो छरितो नभएको र पारदर्शी नभएको पाउछौ। हामी सेवाग्राही उपर रैतिको ब्यबहार गर्न पाउदा गर्व गर्छौ, हामी सेवकको हैन मालिकको ब्यबहार गर्छौ। यस्तो स्थितिमा हामी सेवामुखी छौ भन्न मिल्ने अवस्थामा छैनौ। सरल तवरले प्रदान गरिने सेवालाई समेत हामी जटील बनाउछौ र हामी आफै जटील भएर प्रस्तुत हुन्छौ। एउटै प्रकृतिका कामलाई समेत फरक फरक शैली अपनाएर फर्छ्यौट गर्छौ। सेवाग्राहीको सजिलै सेवा पाउने हकलाई समेत दया मयाको वर्गमा राख्छौ। यसले हामी सेवामुखी छैनौ।

Advertisement 3

उत्तरदायित्वको कुरा गर्दा झनै उदेक लाग्दो स्थिति पाउछौ। आफूले गरेको कामको जिम्मेवारी लिने कामलाई उत्तरदायित्व भनिन्छ।यहां त के छ भने आफ्नो हिसाबले काम गर्ने अवसर सीमित हुने गर्छ, केवल माथिको ईशारामा हामी हाम्रो काम गरिरहेका हुन्छौ।यस्तो अवस्थामा उत्तरदायित्वको जिम्मा कसको? हाम्रा एकजना मुख्यसचिवले मिडियामा दिएको प्रतिकृया उल्लेख गर्न उपयुक्त ठाने। यो ललिता निवासको सम्बन्धमा हो। उहा भन्दै हुनुहुन्थ्यो कि यो निर्णय मन्त्रिपरिषदले गरेको हुदा मैले प्रमाणित गरेको हुं, यसमा मेरो भूमिका केही छैन। लौ हेरौ त्यो कुर्सीमा बस्ने विशिष्ट श्रेणीको पनि हाकिमको जवाफ! यही हो उत्तरदायित्व? हाम्रा मूल हाकिमको यो गति र मति छ भने त्यो मातहतका हाकिमबाट के आशा गर्ने?

हाम्रो बानी जिम्मेवारीबाट तर्कने, पन्छिने किसिमको छ। केही गाह्रो, साह्रो, अफ्ट्यारो पर्यो भने वा केही दिन घुमाउनु पर्यो भने माथि तिर पन्छाउने बानी छ, त्यसैले हामी हाम्रो कर्तब्य प्रति उत्तरदायी छैनौ। यी सबै कुराहरू हेर्दा हामी हाम्रो ऐनको मर्म अनुसार चलेका रहेनछौ भन्ने देखिन्छ। यसरी ऐनको भावनालाई छलछाम गर्ने काम हामी आफ्नै खुसीले गरेका हौ कि हामीलाई यसो गर्न बाध्य पारिएको छ? यसको उत्तर दुबै किसिमको हुने गर्छ। एक त हामी आफै पनि छलछाम वाला नै छौ र त्यस माथि कानूनलाई नजर अन्दाज गर्न हामी र हाम्रा हाकिमहरूलाई राजनीतिक वृत्तले दवाव दिने गर्छ। कानून बमोजिम काम गर्ने हो भने राजनीतिक स्वार्थ पूर्ति हुदैन, त्यसैले कानूनलाई यसको मर्म र भावना विपरीत तोडमोड गर्न दवाव दिने काम राजनीतिक वृत्तबाट हुने गर्छ। यस्तो परिस्थितिमा या त हामीले राजनीतिक वृत्तको स्वार्थ पूर्ति गरिदिनु पर्छ या त फाजिलमा हाजिर हुनु पर्छ, सबैले बुझ्ने भाषामा यसलाई बरण्डाको हाकिम पनि भन्ने गरिन्छ। हामी वा हाम्रा हाकिम आफ्नो उत्तरदायित्वबाट विमुख भएर नेताको चाकडी तिर लाग्यौ भने जनताले दुःख पाउने कामको थालनी हुन्छ। हामीले अवकाश पछिको वृत्तिलाई राजनीतिक नियुक्ति संग साट्ने वा केही गुलियो चाट्ने लोभमा हामीले हाम्रो जिम्मेवारी वा उत्तरदायित्व बिर्सने गरेको पाउछौ जुन सरासर गैर कानूनी काम हो। भन्ने बेलामा हामी कानूनको शासनको वकालत गर्न पछि पर्दैनौ तर यी र यस्ता उपदेश सन्चार माध्यमलाई रंग रोगन लगाउन मात्रै प्रयोग हुन्छन् तर ब्यबहारमा ठीक उल्टो। यस्तो काम राजनीतिक वृत्तमा त हुने गर्छ तर हामी कर्मचारीहरू पनि उनैको सिको गरिदिनाले सर्वसाधारणले सास्ती पाएका छन्।

उदाहरणका लागि हाल चर्चामा आएर तातो आलु भएका केसहरू जस्तै ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड, यति ओम्नी काण्ड, एयरपोर्ट भन्सार छली काण्डहरूलाई लिन सकिन्छ, जसमा राजनीतिक वृत्त र कर्मचारीवृत्त दुवैको मिलिभगतमा यी काण्डहरू घटेका हुदा यिनीहरू अनिर्णित अवस्थामा सेल्टिएर रहेका छन्। यदि हामी कर्मचारीहरूमा हाम्रो ऐनले अपेक्षा गरे जस्तो दृढता र उत्तरदायित्व बहन गर्ने क्षमता देखाएको भए आज मुलुक राष्ट्रिय र अन्तर्राष्ट्रिय अपराधीको कृडास्थल हुने थिएन र अन्तर्राष्ट्रिय बेईज्जती पनि हुने थिएन। यदि हामीले राष्ट्रको यो गिरेको शाखलाई माथि उठाउने र भविष्यमा समेत हाम्रो शिर माथि उठाउने हो भने हामी कर्मचारी सच्चिनुको र हाम्रो विगतको ब्यबहार सच्याउनुको कुनै बिकल्प छैन।

प्रकाशित :२०८० पुष ७, शनिबार ०६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry