निजामतीको दुर्भाग्यः जसले चाकडी गर्छ उसैले पुरस्कार र तक्मा पाउँछ
निजामती सेवा र दिवस सम्बन्धमा
निजामती सेवा भनेको एक प्रतिष्ठित सरकारी सेवा हो । अहिले नेपाल सरकारको मुख्य सचिव निजामती सेवाबाटै ज्ञान र अनुभवले खारिएर सेवारत रहेका कर्मचारीबाट नियुक्त हुने प्रचलन छ । यो सेवा कानुनी आधारशिला सहितको सेवा पनि हो । कार्य सञ्चालन र प्रयोगका हिसाबले अरू सेवालाई अगुवाइ गर्ने खालको यो सेवाको आफ्नै ऐतिहासिक चिनारी पनि रहेको छ । निजामती सेवाले कानुनी मान्यता पाएको दिन वि सं २०१३ भाद्र २२ को सम्झनामा निजामती सेवा दिवस २०६१ सालदेखि मनाइँदै आइएको छ ।
Advertisement 1
स्वीकार गर्नै पर्ने अर्को एक सत्यता के हो भने निजामती सेवा राज्य सञ्चालनले व्यवस्थित रूप लिएदेखि हालसम्म निरन्तर क्रियाशील रही अप्ठेरो र रिक्ततामा राज्यसंरचनाको प्रमुख पात्र एवं सहयोगी बन्न सफल सेवा हो । चाहे राजनैतिक आरोहअवरोहहरुमा होस् वा देशलाई विपद परेका बखत नै किन नहोस् निजामती सेवामा आबद्ध जत्थाले उदाहरणीय त्याग र समर्पण प्रस्तुत गरेको छ ।
सेवामा प्रवेश गर्नुअघि उपयुक्त उम्मेदवार सिफारिस गर्नका लागि रहेको लोक सेवा आयोगको छवि उच्च रहेको छ भने काममा लगाउने र मूल्याङ्कन गर्ने संगठनहरुको छवि भने कार्यात्मक वा नतिजाका लागि भन्दा प्रकृयामुखी देखिन्छ । यस वर्षको निजामती सेवा दिवसको मूल नाराः व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन रहेको सन्दर्भमा आगामी दिनहरूमा सार्वजनिक सेवाको उत्पादकत्व र कार्यप्रभावकारितालाई के कसरी राज्यको समृद्धिसँग र सबैले मन पराएको शासनसँग जोड्न सकिन्छ भनेर सुधारका कदमहरू चाल्नुपर्ने देखिन्छ ।
Advertisement 2
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी कसरी बनाउने
पहिलो कुरा त जनताप्रति उत्तरदायी कसरी हुने ? कसरी नजिक हुने ? र दोस्रो कुरो अव हामीले नायकत्व आफ्नो मात्र हुँदैन, जसलाई सेवा दिने हो उनीहरूलाई पनि संलग्न गराएर त्यसको उपयोगिता मूल्य अभिवृद्धि गर्नुपर्छ । त्यसबाट प्राप्त फाइदाहरूलाई अभिवृद्धि गर्नुपर्छ । जसरी निजी क्षेत्रको एप्पल कम्पनीले युजरहरूको सिस्टम डिजाइन गरेर त्यसको भ्याल्यु बढाएको छ नि । त्यस्तै हो, सार्वजनिक निजामती सेवामा पनि हाम्रा सेवाग्राहीहरूलाई नै त्यसमा संलग्न गरायौँ भने उनीहरूको ज्ञान त्यहाँ थपिन्छ । जसबाट उपयोगिता बढ्छ र सार्वजनिक सेवा प्रवाह बढी प्रभावकारी हुन्छ । त्यसैले हामी अतीतको गौरवपूर्ण गाथाबाट माथि उठ्नु पर्यो । जनताको मन जित्ने गरी नयाँ सुरुवात गर्नु पर्यो ।
निजामती सेवालाई जनप्रिय कसरी बनाउने
विकसित देशहरुमासमेत पनि निजामती सेवा सिभिल सर्भिसलाई माइनस गरेर अथवा त्यसलाई टोटल्ली नेग्लेक्ट गरेर कुनै पब्लिक सर्भिसहरू सञ्चालित हुँदैनन् भन्ने सोचाइ बनेको छ । त्यसकारण यसलाई कसरी समयानुकूल सुधार गर्ने भन्नेमा नै हामी केन्द्रित हुनुपर्छ । यसको सेवा घटाउने होइन, यसको सेवाका प्रकृति मात्रै परिवर्तन हुने हुन् । जस्तो, सेवा शान्ति सुरक्षादेखि लिएर वेलफेयर सर्भिससम्म सबै उही नै हुन् । त्यसमा कुनै घटी हुँदैन । तर शैली परिवर्तन गर्नुपर्छ । हामीले जतिसुकै जनप्रिय हुन खोजे पनि हामीले सधैँ शासन गरेर सेवा दिन खोज्यौँ । यसमा परिवर्तन आवश्यक छ । जनतालाई लोकतान्त्रिक प्रक्रियाको अनुभूत गराएर सेवा दिन सक्नुपर्छ । भन्नुको मतलब सेवा दिएर शासन गर्न सिकाउनु पर्छ । पहिले हामी शासन गरेर सेवा दिन्थ्यौँ अब सेवा दिएर शासन गर्न सिकाउनु पर्छ । सर्भिस उही हो भूमिका र शैली मात्रै फरक हुन्छ ।
कर्मचारी, पुरस्कार र विवाद
हरेक बर्ष प्रदान गरिने निजामती पुरस्कार आलोचित बन्दै आएको छ । सिंहदरबार,शक्तिकेन्द्रसँग नजिकले हाकीमको चाकडी गर्नेले मात्र यो पुरस्कार पाउँछन् । यस्का कारणले गर्दा दुर्गम स्थानमा बसेर काम गर्ने कर्मचारीको मनोबल नै खस्कन्छ ।यो नै हामी निजामती कर्मचारीको लागि दुखको कुरा हो । पुरस्कार कर्मचारीको कार्य सम्पादन करार सम्झौता र त्यसको आधारमा भएको मुल्यांकनको आधारमा हुनुपर्छ । जसले गर्दा राम्रो गर्नेलाई अझै राम्रो रिजल्ट्स दिन प्रोत्साहित गर्छ र राम्रो नगर्नेलाई आफै लाज लागेर आउने स्थिति बन्छ । आजको पुरस्कार वितरण प्रणाली गलत भएका कारण राम्रो गर्नेलाई उत्साहित गर्नुको साटो गलत मान्छेको हात पर्दा उल्टै पुरस्कारकै बेइज्जत हुने स्थिति छ ।