राजकीय शैलीको ब्यबहार

राजाको प्रत्यक्ष शासन सकिएको करीव १५ वर्ष भएको छ। त्यो भन्दा अगाडि राजाको भ्रमण हुदा के सर्वसाधारण, के विद्यार्थी, के कर्मचारी, के पंचहरू सबैले लाम लागेर राजाको जयजयकार मनाउने, फूलमाला बर्साउने गर्दथे। यो शैलीमा हुने राजाको भ्रमणलाई राजकीय भ्रमणको नामले बुझिन्थ्यो।
अहिले नेपालमा राजाको शासन समाप्त भएर जनताको शासनले चिनिने गणतन्त्र आएको पनि १५ वर्ष नाघी सक्यो। बंशको शासन अन्त्य गरेर जनताको छोराले शासन गर्ने भनेर ल्याइएको गणतन्त्रमा समेत विगतको राजकीय शासनलाई बिर्साउने गरी जनताका छोरा भनिएका नेताले आफूलाई राजश्री शैलीमा उभ्याएको छनक दिएका छन्।
Advertisement 1
गठवन्धनको सरकारले शासन सत्तामा ढिप्किन नदिए पछि नेकपा एमालेले मध्यपहाडी राजमार्गलाई केन्द्रित गरेर देश दर्शनको नाममा दौडाहा गरिरहेको छ। २०२८ साल भन्दा अगाडि नेपालमा पुरानो शिक्षाको नामबाट हुने पढाईमा हाई स्कूलमा पढाईने अंग्रेजी दोश्रो पेपरको Prose Selection भन्ने किताबमा King Mahendra Brings His Country To Light भन्ने पाठमा महेन्द्रको गुणगान गाइएको पाठ पढाईन्थ्यो, जसमा देश दर्शनका क्रममा महेन्द्रको खुट्टाले टेकेको माटो त्यहा गएका पंचेहरूले निधारमा लगाएर चाकडी गरेको कुरा उल्लेख थियो। ठीक त्यसै शैलीलाई बिर्साउने गरी ओलीको जुलुसमा बिद्यार्थीको दुरूपयोग गर्ने, कार्यकर्ताबाट चाकडी गराउने काम भएको छ जुन गणतन्त्रको मर्म संग बाझिने कुरा हो।
हुन त हाम्रा नेता भनाउदाहरूलाई छाता ओडाउनु पर्ने, नेतृको झोला बोकी दिनु पर्ने, पाउ पोशमा हिलो लाग्ला भने कार्यकर्ताले बोकी दिनु पर्ने जस्ता राजश्री ब्यबहारमा अभ्यस्त हाम्रा नेताले आफूलाई राजकीय शैलीमा चाकडी खोजी रहेको सन्दर्भमा एमालेका अध्यक्ष उपर देखाइएको ब्यबहार त्यो बिचारधारा बाहकलाई अस्वभाविक नलाग्ला तर प्रजातन्त्र भन्दा पनि उपल्लो तहमा रहेको गणतन्त्रमा यस्तो ब्यबहार कदापि सुहाउदैन। त्यसमा पनि जो गणतन्त्रका लागि लडे तिनीहरूलाई त यस्तो ब्यबहार झनै मन नपर्नु पर्ने हो तर यी नेता त बयलगाडावाला हुन क्यारे, कतै आफैलाई ज्ञानेन्द्रको अर्को रूप ठानेर यो शैलीलाई पछ्याएको हो भने हाम्रो भन्नु केही छैन।
Advertisement 2
हुन त राजनीतिक ब्यबस्था आफैले गर्ने केही हैन। यसको पालना नेताबाटै हुन जरूरी हुन्छ। हाम्रो देशमा आएको राजनीतिक ब्यबस्था विश्व कै उन्नत र उत्तम ब्यबस्था हो तर यो ब्यबस्थाको मर्म र भावना समस्त नेता र कार्यकर्ताको ब्यबहारमा देखिनु पर्छ। हाम्रा नेता आफैमा प्रजातान्त्रिक ब्यबहार छैन। उनीहरू राजा जस्तै तानाशाही हुन मन पराउछन्। उनीहरूमा लोकतन्त्र उपर विश्वास छैन। उनीहरू ठान्छन कि लोकतन्त्रको पालना आफूले गर्नु पर्दैन, यसको पालना कार्यकर्ताले गर्ने हो र जुन आफ्नो हितमा केवल आफ्नो स्वार्थमा हुनु पर्छ। आफू र आफ्नो काम गराईको विरोध कसैबाट हुनु हुदैन, यदि विरोध हुन्छ वा गरिन्छ भने त्यो प्रतिगमन हो र जसले विरोध गर्छ त्यो प्रतिगामी हो।
तानाशाही वा अधिनायकता आफ्नो लक्ष ठान्ने राजनीतिक चिन्तकहरूले लोकतान्त्रिक ब्यबस्थाको नेत्तृत्त्व गर्दा उनीहरू बेलाबेलामा धर्मराउछन। किन कि उनीहरूलाई आफू शिक्षित र दीक्षित दर्शनको ह्यांग ओभरले छोडेको हुदैन। अहिले ओली बा मा देखिएको ब्यबहार त्यस्तै हो र त्यस्तै ब्यबहार अहिलेका सरकार प्रमुखमा समेत देखिने गरेको छ।
Advertisement 3
यिनीहरूले वामपन्थी घोडा पाएनन् भने लोकतान्त्रिक घोडामा पनि सवार हुन किन्चित मान्दैनन् र लोकतान्त्रिक घोडालाई वाम पन्थमा लैजान खोज्छन तर सफल हुदैनन्। अहिले भएको त्यही हो। विश्वमा लोकतन्त्र फस्टाईरहेको वर्तमान अवस्थामा नेपालमा लोकतन्त्रलाई सम्हाल्ने नेताको हातमा लगाम नपरेर कमजोर घोडचढीको हातमा रहेको लगामलाई वामपन्थीले दुरूपयोग गर्दाको परिणाम अहिले देशले भोगी रहेको छ। आफूले पनि केही गर्न नसक्ने र आफ्नो टीमका अरूलाई पनि अगाडि बढ्न नदिने प्रवृत्ति लोकतान्त्रिक पार्टीका हालका नेत्तृत्त्वमा रहे सम्म लोकतान्त्रिक घोडामा वाम पन्थीको हालीमुहाली भै रहन्छ र यस्ता राजकीय शैली नेपालीले देखीरहनु पर्ने छ।
हाम्रो देशको कर्मचारी प्रशासनमा राजनीतिकर्मीले कर्मचारीलाई सिकाउने एउटा वाक्य छ, त्यो हो “कर्मचारीहरूमा शासकीय हैन सेवकीय भावना हुनु पर्छ”। कुरो सही हो। वास्तवमा अर्ति र उपदेश भनेको अर्ति लिनेले मात्र हैन अर्ति दिनेले पनि पालना गर्नु पर्ने हो तर हाम्रा नेताले त्यस्तो सोचेका हुदैनन्। त्यसैले तिनीहरूको ब्यबहारमा सुधार भएको पाईदैन। यदि त्यसो हुदो हो त एउटा तानाशाहलाई हटाएर अर्को तानाशाहको रूपमा आफूलाई उभ्याउने थिएनन् नेताहरूले।