परीक्षाको ग्रेडमै रुमल्लिएको विद्यालय शिक्षा

विश्वमा आधुनिक शिक्षाप्रणालीको कुरो गर्दा औधोगिक क्रान्तिलाई सम्झिनुपर्ने हुन्छ। तत्कालीन् औधोगिक समाजलाई कामदारहरुको आवश्यकता थियो। तर, त्यो बेलाको औधोगिक समाजलाई धेरै चिन्तनमनन् नगर्ने र लामो समयसम्म काम गर्नसक्ने मानवस्रोतको आवश्यकता थियो। यसको अर्थ त्यो बेलाको शिक्षा वैज्ञानिक भौतिकवादमा आधारित थियो।
Advertisement 1
यस्तो शिक्षाले हाम्रा ईन्द्रियहरुलाई विशेष महत्व दिन्छ। तर, वैज्ञानिक भौतिकवादले सामाजिक मूल्य र मान्यता, मानिसका संवेग, मानव मस्तिस्क र अध्यात्मका लागि आवश्यक पर्ने तत्व वा पक्षहरुलाई वेवास्ता गरेको देखिन्छ। विद्यालयहरु आजका वालवालिकाहरुलाई परिपक्व, सचेत, बौद्धिक र जिम्मेवार नागरिक तयार गर्ने काममा व्यस्त छन् भन्ने कुरोमा कुनै शंका छैन। यसका कारण वालवालिकाहरुले जीवनजिउने कलामा दक्षता हासिल गर्नुकासाथै आफ्नो वरिपरिको संसारलाई योगदान दिइरहेका पनि छन्। तर, आजका विद्यालयहरुले शिक्षणका नाममा प्राज्ञिक र प्राविधिक क्रियाकलापमा मात्रै ध्यान दिएका कारण बिद्यार्थीहरुको बौद्धिक विकास त भएको छ तर यसका कारण वालवालिकाहरुमा अनावश्यक चिन्ता र दवाव सिर्जना भएको छ।
पाठ्यक्रमले तोकेका सिकाइउपलव्धि विद्यार्थीले हासिल गर्न सकुन् भन्ने अपेक्षा विद्यालयको हुन्छ। जे विद्यालयले भन्छ त्यही विद्यार्थीहरुले सिकोस् भन्ने विद्यालयको चाहना रहेको हुन्छ। विद्यार्थीहरुले मन पराउन् वा नपराउन्, उनीहरुले के गर्ने वा सिक्ने भन्ने कुरो विद्यालयले निर्धारण गर्छ। यसका कारण विद्यार्थीहरु विस्तारै अन्धो भएर विद्यालयले जे भन्छ त्यही कुरोको सिको गर्छन्। फलस्वरूप विद्यार्थी आफ्ना अन्तरहृदयका आवाज सुन्न बन्द गर्छन्। के यो शिक्षाको काम हो ?
Advertisement 2
विद्यार्थीका अन्तरहृदयका आवाजहरु विद्यालय वा अभिभावकले नसुन्नु भनेको उनीहरुलाई आफ्नो प्यासन र सिर्जनशीलताका आधारमा केही प्राप्त गर्न नसकेको भन्ने अवस्थामा अलपत्र पार्नु हो। यसका फलस्वरूप विद्यार्थीहरुको मानसिक स्वास्थ्यलाई पनि नकारात्मक असर परिरहेको हुन्छ। विद्यालय शिक्षाको पाठ्यक्रमले शिक्षाको उद्देश्य वालवालिकामा अन्तर्निहित सम्भावनालाई प्रस्फुटन गर्नु हो भनेर स्पस्टरुपमा उल्लेख गरेको भए पनि यो दिशामा हाम्रो विद्यालय शिक्षाले अहिलेसम्म काम गर्न सकेको छैन। शिक्षाको वास्तविक उद्देश्य एकातिर र विद्यालयले गर्ने शिक्षणसिकाइ अर्कै दिशातिर मोडिएको देखिन्छ।
आजको विद्यालयले विद्यार्थीहरुलाई के सोच्ने भन्ने त सिकाइरहेको छ तर कसरी सोच्ने भन्ने कुरो उनीहरुलाई सिकाइरहेको छैन। विद्यार्थीमा तार्किक रुपमा सोच्ने शक्तिको विकास गर्न विद्यालयले ध्यान दिन सकिरहेको छैन ताकि विद्यार्थीहरुले प्राप्त सूचनाका आधारमा आफै कुनै समस्याको निष्कर्षमा पुग्न सकुन्। तर, आजका विद्यार्थीहरु जे विद्यालयले सिकाउछ त्यसैमा विश्वास गर्न वाध्य भएका छन्। केही दिनको अन्तरालमा विर्सिने विषयवस्तुको थुप्रो घोक्नु पर्ने भएको छ। सिकाइएका कुरा सत्य हुन् वा नहुन् सिक्नुपर्ने भएको छ। मेरो आफ्नै अनुभव पनि के रहेको छ भने म घोक्न सक्छु। तर, मैले सिकिरहेको हुदैन। विद्यालयको परीक्षा र कुनै गृहकार्य पुरा गरिसकेपछि सबै कुरो केही हफ्ता वा महिनापछि विर्सिन्थ्यो।
Advertisement 3
त्यसैगरी लोकसेवाको परीक्षा दिदासम्म जबर्जस्ती विषयवस्तु सम्झिनुपर्थ्यो। लोकसेवाको लिखितको परिणाम आउदा त प्रायः सबै बिर्सिसकेको हुन्थे। फेरी अर्को परीक्षा वा गृहकार्यका लागि अर्को विषयवस्तु घोक्नुपर्थ्यो। त्यसैले घोक, परीक्षा देउ र घोकेको विर्स। यसले गर्दा विद्यार्थीहरुको वा परीक्षार्थीहरुको समालोचनात्मक ढंगले सोच्ने वानीको विकास हुन सकिरहेको छैन। विद्यालयले आफ्ना विद्यार्थीहरुलाई माछा मारेर त दिइरहेको छ तर माछा मार्न सिकाइरहेको छैन। विद्यार्थीहरु स्वचालित यन्त्रजस्ता मात्रै भएका छन्। हाम्रा विद्यालयहरुले माछा मार्न सिकाइदिएको भए (भन्नुको अर्थ कसरी सोच्ने भन्ने सिकाइदिएको भए) लोकसेवाको जाँचमा वा शिक्षक सेवा आयोगको परीक्षामा पनि घोकिरहनु पर्ने अवस्था आउने थिएन।
विद्यालयको शिक्षणले विद्यार्थीहरुलाई सिर्जनशील बनाउन सकिरहेको छैन। विद्यार्थीको कल्पनाशक्ति अथाह हुन्छ। तर, विद्यालयले विद्यार्थीको यो कल्पनाशक्तिलाई दमन गर्न अद्भुत काम गरिरहेको छ। विद्यार्थीहरु अविश्वसनीय ढंगले सिर्जनसील हुन्छन्। धेरै विद्यालयहरुमा कला भन्ने विषय नै छैन जसले विद्यार्थीको सिर्जनशीलतालाई निखार्न सकोस्। यो विश्वास गरिन्छ कि कलाले विद्यार्थीको जीवनमा कुनै फाइदा पुर्याउदैन।
विश्वास गर्नुस् वा नगर्नुस्, जीवनमा गल्तीबाट सिक्दै बुद्दिमान भइन्छ। तर, विद्यालयले असफलताबाट डराउनुपर्छ भनेर विद्यार्थीहरुलाई सिकाइरहेको छ। विद्यालयले सोच्छ कि असफलता भनेको ठुलै दैत्य हो, यो दैत्यबाट विद्यार्थीहरुले जोगिनुपर्छ। यसको अर्थ हो विद्यालयले परीक्षा उत्तीर्ण गर्न मात्रै शिक्षण गरिरहेको छ। जो परीक्षामा असफल हुन्छन् उनीहरुलाई अर्कै दृष्टिले हेरिने गरिएको छ। कहिलेकाही त उनीहरुको बारेमा ठट्टा पनि गरिन्छ। मानौ उनीहरु असफल मानिस हुन्। यस्ता कुराहरुबाट आफुलाई जोगाउन विद्यार्थीहरु गल्ती नगर्नका लागि कडा मेहनत गरिरहेका हुन्छन्। यस्तो शिक्षाले देश र समाजका लागि एउटा असल, सचेत र सिर्जनसील नागरिक उत्पादन गर्न सक्ला त ?
विकसित देशहरु अलि फरक ढंगले सोच्न थालिसकेको अवस्था छ। यी देशहरु विद्यार्थीको इन्नोभेसन, कल्पना र सिर्जनसिलतामा आफ्नो ध्यान केन्द्रित् गर्नतिर लागिसकेको अवस्ठा हाम्रो सामु छ। तर, नेपालको शिक्षा पद्दतिले अहिले पनि केवल विद्यार्थीले परीक्षामा हासिल गर्नुपर्ने वा गरिने अंकमा मात्रै ध्यान दिइरहेको स्थिति छ। यसका कारण विद्यार्थीहरु उत्प्रेरित् भएर आउट अफ द बक्स चिन्तन गर्न पूर्णरुपमा असमर्थ छन।
परीक्षाको ग्रेड नै सवथोक हो त ? शिक्षा पद्दतिले विद्याथीलाई परीक्षामा राम्रो अंक ल्याउन ठुलो दवाव मात्रै दिइरहेको हुन्छ। यसका कारण विद्यार्थीहरुले आफुमा रहेको सिर्जनात्मकता र प्यासनलाई उजागर गर्ने अवसर नै पाइरहेका छैनन्। जसले विद्यालयमा राम्रो गरिरहेको छ उसले मात्रै विद्यालयका प्राज्ञिक र प्राविधिक क्रियाकलापहरुमा भाग लिइरहेको अवस्था छ। जसले आफ्नो प्यासनलाई महत्व दिन्छ उसले यस्ता कुराप्रति चासो नै राख्दैन। त्यसैले यिनीहरुको परीक्षाको ग्रेड राम्रो नहुनु स्वाभाविक नै हो। विद्यालय जानु भनेको लगानी हो भन्ने बुझिएको छ। विद्यालय शिक्षामा १४ वर्ष विताउने काम हुन्छ। यो हाम्रो जीवनको ठुलो हिस्सा हो। तर, विद्यालयबाट सिकेका कुराहरुले वास्तविक जीवनमा त्यति सहयोग गरिरहेका हुदैनन्। आखिर यो किन भैरहेको छ ? सोच्नुपर्ने बेला भएको होइन र ?
हाम्रो शिक्षा पद्दतिले विद्यार्थीका आवश्यकतालाई मात्रै ध्यान दिएको देखिन्छ। प्राज्ञिक र प्राविधिकरुपमा विद्यार्थी तयार गर्ने काम त भयो तर विद्यार्थीमा रहेका अनन्त सम्भावना खोज्ने काम न हाम्रो शिक्षा प्रणालीले गर्न सकेको छ न अहिलेका शिक्षाविद्हरुले यो विषय नै उठाइरहेका छन्। अहिलेका जनशक्ति कुनै कार्यालय वा उद्योगका लागि योग्य छन्। अर्थोपार्जन गर्ने र मानिसका वाह्य आवश्यकताहरु पूर्ति गर्नेतिर अहिलेको शिक्षाले आफ्नो ध्यान केन्द्रित् गर्यो। यो संसारलाई शिक्षाले यो भन्दा बढी दिनसक्छ भन्ने कुरो विर्सिएको छ। हाम्रो शिक्षा पद्दतिले विद्यार्थीका सिर्जनशीलता र कल्पनालाई ध्यान दिन नसकेकै हुन् त ? शिक्षा केवल पैसामुखी र रोजगारमुखी मात्रै भए पुग्ने हो त ?
विद्यार्थीका प्यासन र महत्वाकांक्षाका बारेमा शिक्षा पद्दतिले ध्यान नै दिएन। हाम्रा सामु महत्वाकांक्षाका थुप्रो नै छन्। धेरैले आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर र वकिल नै वनाउन भनेर लागिपरेका छन। यसको उद्देश्य धेरै पैसा कमाउने हुनसक्छ। अहिले पनि लेखक, पत्रकार, कलाकार, सफ्टवेयर डिभेलपर, पेन्टर, स्पिरिचुवल गुरु, इन्नोभेटर, सेफ, मोटिभेसनल स्पीकर, सामाजिक अभियन्ता, राम्रो नेता, राम्रो शिक्षक, ईत्यादी वन्ने भनेर कुनै विद्यार्थीले भन्यो भने अभिभावकले ध्यान नै दिदैनन् र आफ्ना छोराछोरीको ध्यान अन्तैतिर मोड्ने कोशिस रहन्छ।
त्यसैले शिक्षापद्दतिको माथिल्लो तहमा रहेकाहरुले पाठ्यक्रम वनाउदा अलि बढी नै सिर्जनशील र तार्किक हुनुपर्ने अहिएको आवश्यकता हो जस्तो देखिन्छ। शिक्षापद्दतिले आउने पुस्ताको प्यासन र सिर्जनशीलतासंग मेलको स्थिति सिर्जना गर्नुपर्ने देखिन्छ। प्राज्ञिक शिक्षणमा मात्रै बढी ध्यान दिनुको साटो विद्यार्थीको प्यासन र सिर्जनशीलतामा ध्यान दिएर विद्यार्थीमाथिको दवाव कम गर्नु अहिलेको आवश्यकता हो। तर, के गर्ने शनिवार र आइतबार पनि कक्षा लिएर विद्यार्थीमाथि दवाव सिर्जना गर्ने काम निरन्तर चलिरहेकै छ किनकि कोर्स जो सिध्याउनु छ र परीक्षामा उच्च अंक हासिल गर्नुछ।
विद्यार्थीको कल्पनाशक्ति, प्यासन र सिर्जनशीलताका आधारमा पाठ्यक्रम र शिक्षणसिकाइ क्रियाकलापहरुको निर्माण र कार्यान्वयन अहिलेका आवश्यकता हुन् भन्दा अतिशयोक्ति नहोला। प्राज्ञिक विषयवस्तुका आधारमा मात्रै विद्यार्थीको मूल्यांकन गर्ने परिपाटीको अन्त्य आवश्यक छ।














