संरक्षणको पर्खाइमा ‘इतिहास बोकेको आधीखोला’
गण्डकी प्रदेशको स्यांगजा जिल्लाको पूर्वोत्तरमा पर्ने आधीखोला गाऊ पालिकाको अन्धाअन्धी दहबाट उद्गम भै स्यांगजा जिल्लाको मध्य भाग हुदै स्यांगजा र पाल्पाको सीमानामा बहने कालिगण्डकीमा मिसिएको आधीखोलामा वर्षा याममा आउने बाढीले खोलाको वारिपारी आवत जावत गर्न कठिन्याई हुने गर्दथ्यो।
Advertisement 1
यसमा आउने बाढीले खासगरी विद्यार्थीहरुको पढाइलाई असर पार्दथ्यो। किनभने शुरूशुरूमा यो जिल्लामा हाईस्कूलको संख्या सीमित थियो र कम्तिमा १ घण्टा नहिडी कुनै हाई स्कूलमा पुग्ने अवस्था थिएन। जिल्ला सदरमुकाम मै समेत हाई स्कूल थिएन र सो वरपरका विद्यार्थीहरू समेत अन्यत्र गएर पढ्नु पर्ने अवस्था थियो। केही समय पछि सदरमुकाममा मिडिल स्कूल खुल्यो र सोही स्कूलमा रात्री पाठशाला हाईस्कूल पनि खुल्यो तर यो अली उमेर पाको भएकालाई मात्र अनुकूल हुने देखियो। अहिले जस्तो विद्युतको सुविधा नभएकोले सो स्कूलमा टुकी र लालटेनको मद्दतले पढ्नु पर्थ्यो।
रात्रीमा पढाई हुने यो हाईस्कूलले त्यस वरपरका विद्यार्थीको आवश्यकता पूरा गर्न सकेन र दिउसको मिडिल स्कूल २०२७ सालमा श्री त्रिभूवन आदर्श हाई स्कुलमा परिणत भयो र २०२८ सालमा यो हाई स्कूलको पहिलो ब्याचले एस एल सी दियो र यो पंक्तिकार भने यो विद्यालयको एस एल सी को दोश्रो ब्याच हो। मेरो घर र यो स्कूलको दूरी पैदल १५ मिनेटको मात्र थियो तर स्कूल र हाम्रो गाऊ बीच बहने यो आधीखोलाका कारण हाम्रा गाऊका प्रायः बिद्यार्थीहरू मातृभूमि हाईस्कूल सतौ हट्टिया (चार खुट्टे) मा पढ्न जाने गर्थे जुन गाऊबाट १ घण्टाको पैदल दूरीमा थियो।
Advertisement 2
यसरी १ घण्टा टाढा हिड्न भन्दा आधीखोला तरेरै भए पनि सदरमुकाम कै हाई स्कूलमा पढ्ने निधो गर्यौ हामहरू मध्ये केहीले। तर यो खोलाले हामीहरूको पढाई करीब १, २ महिना डिस्टर्ब गर्दथ्यो। हुन त वर्षे विदाका नाममा असार, साउन २ महिना स्कूल विदा हुदा यो खोलाको पीर हुदैनथ्यो तर जब भदौबाट स्कूल शुरू हुन्थ्यो त्यो महिनामा पानीका मूलहरू फुटेर खोलो दह्रो हुन्थ्यो र तर्न गाह्रो हुन्थ्यो। स्कूल मुनी एउटा रह अझै पनि छ, त्यसलाई भुण्टे रह भनिन्थ्यो, त्यो गहिरो र भूमरी परेको थियो तैपनि विद्यार्थीहरब हाफ टाईममा पौडी खेल्न आउथे।हामीहरू स्कूल आउदा खोलो तारीदिने मान्छे कोही हुने थिएनन्। खोलो तर्दा स्कूलको ड्रेस र किताबको झोला टाऊकोमा बांध्यो अनि खोलो तर्यो, कोही कोही टाउकोमा कपडा र झोला बांधेर पौडी खेलेर खोला तर्ने गर्थे।खोलो तर्न सकिएन भने त्यो दिनको क्लास छुट्ने गर्थ्यो।
कक्षा दसको परीक्षा (एस एल सी) दिनु भन्दा अगाडि कोचिंग पढ्ने चलन थियो। कोचिंगमा परीक्षाका सम्भावित प्रश्नहरू सिकाईन्थ्यो, नसकिएका कोर्शहरू पढाईन्थ्यो तर यस्तो महत्वपूर्ण क्लास असार, साउनमा मात्र हुने गर्थ्यो। वर्षा याममा हुने यस्तो क्लास लिन त्यही आधीखोलाका कारण नसकिने अवस्था थियो। त्यति मात्र कहां हो र वर्षा याममा हाप छुट्टी पछि आधीखोलाको मुहान तिर पानी पर्यो कि स्कूल छुट्टी हुने बेला सम्म खोला बढी हाल्थ्यो, त्यही पिरले हाप छुट्टी पछिका क्लासहरू छोडेर घर तिर दौडनु पर्थ्यो। आजभोली त यो स्कूलको वरपर जस्ता पुल खोज्यो उस्तै पाईन्छ तर हाम्रो पालामा त झोलुंगे पुल तर्न पनि एक डेढ घण्टा दगुर्नु पर्थ्यो। यो खोलाले बेला बेलामा आफ्नो रूप देखाएर कति खेतहरूलाई बगर बनायो, कतिका घरवार उजाड बनायो, कति धनजनको क्षति पुर्यायो भनी साध्य छैन। यसका नामबाट धेरै गीत लोकगीतहरू सुनिन्छन् , ती मध्ये आधीखोला उर्लेर आयो भन्ने लोकगीतले यसमा आउने बैशलाई अझै उजागर गरेको छ।
Advertisement 3
हुन त आधीखोलाले दुःख मात्र दिने हैन कि सुख पनि दिएको छ। यसले यस वरपरका फाटका खेतहरूलाई सिॅचित गरेको छ। कतिपय जागरिला किसानले यसको पानी प्रयोग गरी माछापालन गरेका छन्। यो खोला मै माछाका भूराहरू छाडेर जलचरहरूको संरक्षण समेत भएको छ। यो खोला कै पानीबाट मिर्मीमा बिजुली निकालिएको पनि छ। यसका किनारका ढुंगा, गिटी र बालुवाले स्थानीय तहको आय श्रोत र विकास निर्माण सामाग्रीको आपूर्ति समेत गरेको छ। यस वरपरका कतिपय सीमान्तकृत जाती र समुदायको जीवीकोपार्जनको साधन समेत यो खोला बन्न पुगेको छ।
तर आजभोली यो खोला संरक्षणको पर्खाईमा छ। यसका मुहानहरू सुकेका हुनाले यसको अस्तित्व वर्षामा आउने पानी संग जोडिने गरेको पाईन्छ। श्रवण कुमार जसलाई एक आज्ञाकारी सन्तानको रूपमा मानिन्छ, उनले आफ्ना दुवै आखा नदेख्ने आमाबाबुलाई खर्पनमा बोकेर सेवा गरेको र तिनै आन्धाअन्धीको आसुको प्रतीकको रूपमा मानिने यो आधीखोलाको आफ्नै ईतिहांस रहेको पाईन्छ।