साढे १७ करोड बढी अकुत सम्पत्तिमा डामिए कार्यकारी अधिकृत
साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
Advertisement 1
अर्यालले जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा स्थायी नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका थिए । नायक सुब्बा पदमा बढुवा भएर काठमाडौँ जिल्लाको साविक भिमढुंगा गाविस लगायत टोखा नगरपालिकाका कार्यालयहरु समेतमा काम गरेका थिए । शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश पाएका अर्यालले अधिकांश जग्गाहरु आफू कार्यरत गाविस तथा नगरपालिका अन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो ।
Advertisement 2
अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा शुरू गरेका थिए । उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए । उनले अधिकांश जग्गाहरू गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।