निजामती दिवस र निजामती सेवाको तादात्म्य

सरकारका नीति तथा कार्यक्रम जनता समक्ष लैजान र सरकार द्वारा प्रदत्त सेवा जनताको घर दैलोमा सहज र मितब्ययी तवरले पुर्याउन गठन भएको निजामती सेवाले २०१३ साल देखि कानूनी रूप लिएको हो। यो सेवाले निरन्तरता पाएको आज ७० वर्ष पुगेको छ र यसैको स्मरण स्वरूप २०६३ साल देखि हरेक भदौ २० लाई निजामती सेवा दिवसको रूपमा मनाईने गरेको छ। यसरी यो दिवस मनाई रहदा यो सेवाले जन मानसमा पारेको प्रभाव, राष्ट्र सेवामा यसले दिएको योगदान, यसको सेवा के कति प्रविधियुक्त हुन सक्यो त्यसको समीक्षा, राजनीतिक पक्षले यो सेवालाई कसरी उपयोग गरी रहेको छ भन्ने समेतका बारेमा यो सेवालाई जोडेर हेर्ने गरिएको छ कि छैन भन्ने तर्फ हेक्का राख्न जरूरी छ। हामीले यो दिवस मनाई रहदा कुन कर्मचारी पुरस्कृत भयो, कुन सर्वोत्कृष्ट हुन पुग्यो वा यस वर्ष सर्वोत्कृष्ट कोही पनि हुन सकेन भनेर मात्र समीक्षा गर्ने गरेका छौ।

Advertisement 1

माथि उल्लेख गरेका कसीमा हाम्रो निजामती सेवालाई राखेर हेर्यौ भने हरेक बर्ष यो लोसे र जुम्सो हुदै आएको प्रतीत हुन्छ। हाम्रा सेवा ग्राहीले यो सेवालाई ढिला सुस्ती र भ्रष्टाचारीको पर्यायको रूपमा लिने गरेको पाईन्छ। हाम्रा सेवाग्राहीले हामीलाई नतिजा मुखी हुनुको सट्टा बढी प्रकृयामुखी भयो भनेर दोष लगाउछन् । त्यसै गरी यो सेवामा खटिएका कर्मचारीले आफूलाई मालिकको रूपमा प्रस्तुत गरेको अनुभूति सेवाग्राहीमा परेको छ। कानूनको शासन र नीति नियम भित्र रहेर पाईने सेवालाई भनसुन र चिनजानको आधारमा पाईने गरी चित्रण गरिदैछ। आफूले राज्यलाई तिरेको कर वापतको सेवा लिन जाने सेवा ग्राहीलाई सेवा प्रदान गर्ने ढोकाबाट रातो मुख लगाएर फर्कनु पर्ने अवस्थाले हाम्रो निजामती सेवालाई गिज्याएको र कुरी कुरी भनेको अवस्था छ। फेरि हाम्रो निजामती सेवाको गुण स्तरको कुरा गर्ने हो भने निजी क्षेत्र संग प्रतिस्पर्धा गर्न सकेको पाईदैन। हाम्रा जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रमाणपत्र, सवारी ईजाजत पत्र, मतदाता परिचय पत्र, हाम्रा कागजी मुद्राहरूको कागज र छपाईको गुणस्तर हेरौ न, आजीवन खप्नु पर्ने यी कागजातहरू लामो समय सम्म टिक्दैनन्।

निजामती कर्मचारीको अर्को नाम हो राष्ट्र सेवक। राष्ट्र सेवक भनिनुका पछाडि समस्त राष्ट्रको विना स्वार्थ सेवा गरिनु हो। राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, राष्ट्रिय हक हितका कुरामा हामी निजामती कर्मचारी कति ईमान्दार छौ ? हामीले आफ्नो ब्यक्तिगत फाईदाका लागि कतै राष्ट्रिय स्वार्थलाई बिर्सिएका त छैनौ ? हाम्रा राष्ट्रिय स्वार्थ संग गांसिएका आन्तरिक सूचनाहरू, हाम्रा सन्धी सम्झौताहरूमा हामी कति ईमान्दार छौ ? यस्ता कसीमा समेत हामीले आफूलाई कति जोखेका छौ सोचनीय प्रश्न छ।

Advertisement 2

निजामती सेवालाई स्थायी सरकार पनि भनिन्छ। किनभने हामी निश्चित अवधिलाई निर्वाचित भएर यो सेवामा प्रवेश गरेको नभै आफ्नो योग्यता र क्षमताको कसीबाट खारिएर प्रवेश पाएका हौ। हामी कसैको निगाह र दयामाया बाट यो पेशामा प्रवेश गरेका होईनौ। तर राजनीतिको माध्यमबाट आएका जनप्रतिनिधीहरू सरकारमा बसे पनि यिनीहरू अस्थायी प्रकृतिका हुन , निर्धारित अवधि पुगे पछि यिनीहरूको बहिर्गमन हुन्छ, त्यसैले हामी संग भएको सरकार आबधिक हो। तसर्थ निजामती सेवाले सरकारको रिक्ततामा पनि जनतालाई सरकार विहीनताको छनक दिदैन। विगतमा स्थानीय स्तरको निर्वाचन हुन नसक्दा करीव एक दशक भन्दा बढी रिक्त रहेको स्थानीय सरकारको संचालन हाम्रा गाविस, नपा, जिविसका कर्मचारीले चलाएर देखाएकै हुन्। त्यसै गरी संविधान सभाको माध्यमबाट संविधान बनाउन तत्कालीन सरकारले गरेको निर्वाचनबाट आएका जनप्रतिनिधिले संविधान बनाउन नसके पछि दोश्रो पटकको सम्विधान सभाको निर्वाचन हामी निजामती कर्मचारीको सरकारले सम्पन्न गरेको भन्दा हामीलाई गर्व लाग्छ। यसैले हामी कर्मचारी स्थायी सरकार हौ। तर आफू भित्रै यत्रो क्षमता हुदाहुदै पनि हामी किन चाउरिएको मरिच जस्ता भएका छौ ?

हामीले राजनीतिक नेत्तृत्त्वलाई कानून बमोजिम राय सल्लाह दिने हो तर यहां त हाम्रा संगठनका उच्च तहका कर्मचारीलाई राजनीतिक नेतृत्वले नचाई राखेको छ र हामी नाची रहेका छौ। हाल देशमा जुन वेथिति र कुसंस्कार देखिएको छ त्यो फैलिनुको मुख्य कारण यही हो र निजामती सेवालाई जनताले विश्वास नगर्ने कारण पनि यही हो।

Advertisement 3

फेरि २०४६ मा पञ्चायत ब्यबस्था बिरूद्ध आन्दोलन हुदा तत्कालीन राजनीतिक पक्षले हामीलाई उपयोग गर्यो र हामी उपयोग पनि भयौ, जब आन्दोलन सफल भएर बहुदलीय सरकार बन्यो हामीले ट्रेड युनियनको अधिकार खोज्यौ र पायौ पनि। यो अधिकार हामीले हाम्रा पेशागत हक हितमा मात्र सदुपयोग गर्नुको सट्टा हामी आफैलाई राजनीतिक पक्षले गोटी बनाएको पत्तै पाएनौ। राजनीतिक पक्षले मजा संग विभाजन गर र शासन गर भन्ने उक्तिलाई ब्यबहारमा ल्याउन सफल भयो, जसको फल हामी अहिले सम्म भोग्दै छौ।

हुदा हुदा मुख्य सचिव भै सकेका हाम्रा एकजना संरक्षकले त ललिता निवास काण्डमा आफ्नो जिम्मेवारी पन्छाएर प्रतिकृया दिएको सबैले सुन्यौ। हाम्रा आस्था र विश्वासका पात्र हाम्रा संरक्षक नै ढावाको किला जस्तो भै दिदा हाम्रो संरक्षण कसले गर्ने हो हामी द्विविधामा छौ।त्यसै गरी हाम्रो सेवा आधुनिक र प्रविधि मैत्री हुन नसक्दा काममा ढिलाई मात्र हैन हाम्रो काम गराई समेत अपारदर्शी भएको छ। विश्व नै प्रविधिमय भएको अवस्थामा हाम्रो निजामती सेवा कछुवाको गतिमा देखिन्छ।यसरी समीक्षा गर्दै जादा निजामती सेवा ऐनले कल्पना गरेको सेवा र यो ऐन वमोजिम नियुक्त कर्मचारीबाट प्रदान गरिएको सेवा बीच अन्तर बढ्दै गएको प्रतीत हुदै गएको छ।

सबभन्दा लाज मर्दो विषय चाही राज्य संचालन गर्ने संविधान बनेको एक दशक पुगी सक्दा पनि निजामती सेवा सन्चालन गर्ने वा स्थायी सरकार संचालन गर्ने ऐन हाल सम्म बनाउन हाम्रा विधायक सक्षम देखिएनन्।यसले के देखाउछ भने हाम्रा विधायकहरू जनता प्रति कति जिम्मेवार छन् ?जे होस् यस पटकको निजामती सेवा दिवस पुरानै ऐन बमोजिम मनाईए पनि अर्को वर्षको निजामति सेवा दिवस मनाउनु अगाडि नै गणतान्त्रिक संविधान अनुसारको निजामती सेव ऐन पढ्न पाईयोस्। जय निजामती सेवा।

प्रकाशित :२०८० भाद्र १०, आईतवार १४:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry