सामान्य मान्छेलाई मुड्की हान्ने र ठूलो मान्छेसँग तर्सने प्रवृत्ति नसुधार्ने हो प्रहरीको छवि सकिन्छ

०५६ असार ३ गते नेपाल प्रहरीको इन्स्पेक्टर भर्नाका ‘अलराउन्डर टप’, अर्थात् सर्वोत्कृष्ट अधिकृत आभूषण तिम्सिनाले उक्त संगठनबाट २४ वर्षमै बिदा लिए ।
विद्यमान प्रहरी नियमावलीअनुसार बाँकी ६ वर्ष उनले जागिर खाएको भए थोरैमा डिआइजी र धेरैमा आइजी हुने मौका थियो । तर, एसएसपी बढुवामा भएको विभेद सहेनन्, जागिरबाट राजीनामा दिए । त्यस्तो निर्णय नलिन उनलाई थुप्रै शुभचिन्तक र आफन्तले सुझाव र दबाब दिए । कसैले भनेको मानेनन्, आफूलाई लागेको गरे । जागिरभरि आभूषण यसरी नै चिनिए, जे लाग्यो, त्यही गर्ने उनले जागिर शुरु गर्दा देशमा सशस्त्र द्वन्द्वकाल थियो । त्यसबेला चुनौतीपूर्ण मानिने काभ्रे र भक्तपुरका जंगल, खोला र खोल्सीतिरै रमाए । ०६३ को परिवर्तनलगत्तै दरबारमार्गस्थित वडा प्रहरी प्रमुखका रूपमा सरुवा भए । गएको केही दिनमै अस्कल क्याम्पसअगाडि पूर्वशाही पश्र्ववर्ती भरतकेशर सिंह सवार भएको गाडीले एक युवाको खुट्टामा किच्यो । स्थिति तनावपूर्ण भयो । त्यसलाई सम्हाल्न पुगेका आभूषणले भरतकेशरको हातमा हत्कडी लगाइदिए । र, स्थिति नियन्त्रणमा आयो । उनीचाहिँ तुरुन्तै त्यहाँबाट तानिए । उनको तर्क थियो, ‘हिजो शेरबहादुर देउवा, माधव नेपालहरूलाई हत्कडी लगाउन हुने, आज भरतकेशरलाई लगाउन किन नहुने ?’ यद्यपि, उनका तर्कसँग प्रहरीकै कतिपय उच्चपदस्थ हाकिम सहमत थिएनन् । पछि सरकारले उनलाई त्यही ठाउँमा खटायो । यसरी नै ‘सम्झौताहीन’ प्रहरी सेवा गरेबापत जागिरभरि हाकिमका असहयोग व्यहोरिरहे । स्याङ्जा, कैलाली र सिन्धुलीमा जिल्ला प्रहरीको कमाण्ड सम्हाले । संगठनको कार्यादेश र कानुनको अधीनमा रही आफ्नै शैलीमा काम गर्दा जनताले नराम्रो भनेनन् तर हाकिम र राजनीतिक नेतृत्व उनको पछि लागिरह्यो ।
Advertisement 1
यस्तो जागिरलाई उनले एसएसपी बढुवामा भएको अन्यायबाट सधैँका लागि बिट मारिदिए । जागिरमा रहँदा अब्बल अनुसन्धान अधिकृतका रुपमा चिनिए आभूषण । प्रहरी संगठनमा २४ वर्ष जागिर खाएर निस्किएका हुन उनी । उनी सिआइबीमा रहँदा वन्यजन्तु तस्करीमा जोडिएका कुञ्जोग लामालाई आखेटोपहारमा समातियो । इन्टरपोलबाट रेड नोटिस जारी भए पनि कुञ्जोगले नाम परिवर्तन गरेर नागरिकता लिएका कारण लामो समयदेखि पक्रन सकिएको थिएन । सिआइबीमा आभूषणलाई वन्यजन्तु पिलरको जिम्मेवारी दिइएको थियो । पुराना फाइल खोतल्दै जाँदा उसलाई पटक–पटक सिआइबीले बोलाएर सोधपुछ गरेको र फर्किएको भेटिएपछि रसुवाबाट वन्यजन्तुको मिसिल मगाएर हेर्दा तथ्य भेटियो कि, कुञ्जोगको संलग्नता रहेको एउटा क्लु फेला प¥यो । र, अहिले कारागारमा छ । यही अनुसन्धानकै कारण सिआइबीले पुरस्कारसमेत थाप्यो । समिरमान सिंह बस्नेत नख्खु जेलमा बसेर निर्माण व्यवसायीलाई तर्साउने अर्काे प्रकरण थियो । जहाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) को भाइको संलग्नता रहेको भेटियो । जिल्ला अदालतले छाड्यो, उच्चले पुर्पक्षका लागि थुनामा पठायो ।
उनी भन्छन्, हाम्रा अनुसन्धान अधिकृतहरू संगठित अपराध, मर्डर, रेपदेखि अन्तरदेशीय अपराधको अनुसन्धान गर्छु भन्छन् । जब अनुसन्धान गर्ने समय आउँछ अनि तिघ्रा कमाउँछन् । ठुल्ठूला अनुसन्धान गर्न सक्षम छौँ भन्ने अनि राजनीतिसँग जोडिएका कोही मान्छेको नाम आउनेबित्तिकै तिघ्रा कमाउने, अनुसन्धानको बाटै मोडिदिने तरिका त ठीक भएन नि ! जनतामाझ नेपाल प्रहरीको छवि जीवन्त राख्ने हो भने माथिका अधिकृतहरूले अनुसन्धानमा तिघ्रा कमाउनु भएन । माथिका अधिकृतहरूले जसरी काम गर्छन्, तलकाले उसैगरी काम गर्ने हुन् । अपराधीसँग जुध्छु भनेर जागिर खाएपछि आफूलाई त्यही हिसाबले बलियो बनाउनुपर्छ । उनी चिन्तित देखिए, संसारकै उत्कृष्ट भनिएको लोकतान्त्रिक व्यवस्था नै असफल भयो भने हामीले अर्काे कुन व्यवस्था खोज्ने ? लोकतान्त्रिक राज्य भनेका छौं, अपराध गर्ने व्यक्ति अलि ठूलोठालो छ भने हामी तर्सन्छौं । सामान्य बाटामा हिँडेका मान्छेलाई मुड्की हान्ने र ठूलो मान्छेसँग तर्सने प्रवृत्ति प्रहरीले हटाएन भने प्रहरीको छवि मात्र होइन, नेपालका संविधान नै असफल हुने खतरा छ ।
Advertisement 2
हिजो जीवनलाई दाउमा लगाएर जागिर खाएका हुन आभूषणले । एउटा रिटायर्ड अधिकृतको चाहना हुन्छ । आफूले काम गरेको संस्थाको गरिमा बढोस् भन्ने चाहना हिजो पदमा हुँदा पनि आज नहुँदा पनि लाग्छ । आभुषणका अनुसार, स्वार्थ समूहको त्रास, डर, धाक, धम्कीका कारण पनि हुन सक्छ । राजनीतिक, ब्युरोक्रेसीदेखि व्यापारिक तहबाट आउने दबाबका कारण प्रहरीले जति व्यावसायिकता देखाउनुपर्ने हो उति देखाइएको पाइँदैन ।
यद्यपि उनी नेपालको प्रहरी संगठनलाई कमजोर मान्न तयार छैनन् । भन्छन्,प्रहरीलाई हाम्रो कानुनले सबै प्रकारको मुद्दाको अनुसन्धान गर्न स्पष्ट म्याण्डेट दिएको छ । अपराध संहिताले ‘अभियोजन र अनुसन्धानमा बदनियतपूर्वक अनुसन्धान गर्न नहुने, अनुसन्धान अधिकृतलाई सही नियत राखेर अनुसन्धान गर है’ भनेको छ । कानुनमा स्पष्ट लेखिँदा लेखिँदै पनि अनुसन्धानमा दृढता नदेखाउनु त प्रहरी संगठनको नभई केही व्यक्तिको कमजोरी होला । व्यक्ति व्यक्ति मिलेर संस्था बन्ने हो । संस्था आफैँमा गलत हुँदैन । व्यक्तिलाई अनेकन लोभ, लालच, डर, लाभका कारण आफ्नो पूर्ण क्षमता प्रदर्शन नगरेको तर्क गर्दछन्,उनी ।
Advertisement 3
ललिता निवास, सुन काण्ड, नक्कली डाक्टर पक्राउ प्रकरणमा हाम्रा अनुसन्धान अधिकृतहरू चुकेको अनुभूति गर्दैछन् उनी । सार्वभौम नेपाली नागरिकलाई भुटानी नागरिक बनाएर विदेश पठाउने कुरामा उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि सचिव भइसकेका व्यक्ति हिरासतमा छन् । इजलासमै कुरा उठेको छ अनुसन्धान उपप्रधानमन्त्री तथा गृहमन्त्रीको तहभन्दा माथि किन गएन ? यो प्रकरणमा सन्देश शर्मा जोडिए । अनुसन्धानकै क्रममा मिसिल संलग्न गराएर परीक्षण गराएको भए आधिकारिक हुन्थ्यो होला । तर, अनुसन्धानका क्रममा त्यस्तो केही गरिएन । बरु सन्देश शर्माको आवाज भएको वक्तव्य जारी गरियो । त्यो तरिका ठीक भएन । प्रहरीमा विभिन्न व्यक्तिले निवेदन दिएका हुन्छन् । ती सबै निवेदनको प्रहरीको केन्द्रीय प्रवक्ताले वक्तव्य जारी गर्ने गरेको छ त ? यो प्रकरणमा गर्नुपर्ने काम नगर्ने र नगर्नुेपर्ने काम भएको देखियो ।
ललिता निवास प्रकरणमा प्रकरणमा किर्तेमा जो–जो जोडिएका छन्, सबै समातिनुपथ्र्याे । कि ठगिएकाहरूको ठगीमा मुद्दा लिएर राज्यको जमिन पनि फिर्ता लिने र संगठित अपराध गर्नेबाट क्षतिपूर्ति दिलाइनुपर्ने थियो । जब ठुल्ठूला अनुसन्धानमा चुकिन्छ, तब प्रश्न उठ्नु स्वाभाविकै ठान्छन्,उनी ।
हाम्रो प्रश्न रह्यो,राजीनामा दिएपछि आफ्नै जागिरलाई कसरी सम्झिदैछन्,आभूषण ?
भन्छन्,– प्रहरी संगठनमा जागिर खाने हो भने त्यसभित्रको ग्रुपिज्ममा समाहित हुन सक्नुपर्छ । यदि, सकिएन भने आत्मसम्मानसाथ जागिर खान खोज्ने मान्छे त्यहाँ टिक्दैन । म सदैव गलत प्रवृत्ति र कुराको विरोध गर्ने मान्छे । प्रहरीको जागिर छुटेपछि आकाशै खस्छ भनेर सोच्नेहरूका लागि सम्झौता गरेर बस्नुबाहेक विकल्प नहुन सक्छ । सेवामा रहँदा जागिरलाई पेशा बनाइनँ, जीवनशैली बनाएँ । म इञ्चार्ज रहेका ठाउँमा उदाहरणीय काम गरेरै आएको छु । प्रहरी ऐन नियमावलीमा कहीँ पनि चाकडी चाप्लुसी गर्नुपर्छ भनेर लेखेको छैन । संगठनभित्रको विकृतिविरुद्ध बोलँे । अवसर नपाउँदा पनि संगठनमा सुधारका लागि धेरै काम गरेको छु । दर्जा सानो भएर के भयो र संगठन सुधारका लागि आइडिया त निकाल्न सकिन्छ नि ! संगठन सुधारका जति काम गरे पनि आत्मसम्मान भएर राजीनामा दिएर हिँडे ।
उनको प्रश्न छ, नक्कली डाक्टर, पाइलट, इञ्जिनियर कति छन् भने माइक्रोस्कोप लगाएर हेरेझैं हेर्ने संगठनले आफ्नै संगठनभित्र नक्कली कर्मचारी छन् कि छैनन् हेर्नुपर्ने कि नपर्ने ? कसले हेर्ने ? न्याय गर्ने मान्छे पहिले आफू चाखो हुनुपर्ने होइन ? नक्कली प्रमाणपत्र भएका अधिकृतहरूले राजीनामा दिएपछि छुट हुने, पेन्सन पाक्ने, मुद्दा मालिमा नचल्ने । सर्वसाधारणलाई नक्कली सर्टिफिकेट बोके आजीवन कोच्ने ? यो कस्तो न्याय ? बहालवाला सांसदलाई समात्नेले खोइ त आफूभित्रको शुद्धीकरण ?