कर्मचारीतन्त्रमा डार्क साइकाेलाेजीकाे असर
Dark psychology मनोविज्ञानको एउटा शाखा हाे। जसले मान्छेलाई बुझ्न, विश्लेषण गर्न र उपयोग गर्न सिकाउँछ। यो नयाँ विषय होइन। तर अहिलेको विश्वमा यो प्रचलित छ। यसले मानिसको व्यवहारको वैज्ञानिक दृष्टिले निरीक्षण ,अध्ययन र मनोवैज्ञानिक विश्लेषण गर्छ। र मानिसका उपयोगमा देखिने खराबीहरूको पहिचान गर्ने प्रयत्न गर्छ। व्यवस्थापन सुधारको लागि यो उत्तम औजार पनि हाे।
रामानुजन भारतका विश्व परिचित गणितज्ञ हुन। पहिलो विश्वयुद्धताका झण्डै ५ वर्ष उनी बेलायतको विश्वविद्यालयमा गणित अध्ययन गर्न गए ।उनी विलक्षण थिए। उनि पुजा गर्थे। प्रकृतिसँग कुरा गर्थे । उनी त्यसताका यति विक्षिप्त थिए कि एकपटक ट्रेनको लिकमा आत्महत्या गर्नसमेत गएका थिए। बिदेशी साथीभाईले उनलाई पागल भने । professor हार्डीले उनको विषयमा एक ठाउँ भनेका छन् । “मलाई रामानुजनकाे मनोविज्ञान थाहा छ । यो बदल्न सकिन्छ। तर उनलाई उनकै मनोविज्ञानमा छोडी दिनु पर्छ।” ब्याक्ती ,समाज र संस्कृति बुझेको व्यक्तिले मात्र dark psychology विश्लेषण गर्न सक्छ। र यसलाई नतिजा दिनसक्छ भन्ने यो राम्रो उदाहरण हाे।
समाजको प्रवृत्ति ,प्रकृति र संस्कृति नबुझी त्यो देशको प्रशासन बुझ्न सकिँदैन भन्ने रिग्सको भनाई आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रोमा निजामती र सरकारी सेवामा व्यक्ति समाज र संस्कृतिको सम्बन्ध राम्रो बनाउन ऐन कानुन नीति नियम छन् ।अहिले आरक्षण सकारात्मक विभेदको नीति छ । सरुवा, बढुवा, वृत्ति विकासका पद्धति नीतिगत रुपमा राम्रा छन्।तर पुजिगत खर्च बढेकै छैन। निर्णय प्रक्रिया परम्परागत छ। कर्मचारीको सम्बन्ध मित्रवत् छैन। एकापसमा शंका छ ।तलब सुविधा भैकन पनि कर्मचारी उत्प्रेरित छैनन। कर्मचारीको मुल्यांकन जनताले राम्रो गरेका छैनन्। किन ? यसको मनोवैज्ञानिक अध्ययन गर्नु जरुरी छ..। यी विषयलाई डार्क साइकाेलाेजीकाे सापेक्षमा हेर्दा सान्दर्भिक नै हुन्छ। किनकि कर्मचारितन्त्र समाजकै उप अङ्ग हो । व्यक्ति समाज र परिवार सरल रेखामा हुँदैनन। यसमा व्यक्तिगत र सामूहिक मनोविज्ञानले सधै काम गरिराखेको हुन्छ।
शाखा अधिकृत सेवा प्रवेश गरेको उत्सुक कर्मचारीलाई आफ्ना अग्रजले भन्ने गर्छन्। तिम्रो योग्यताले काम गर्दैन। यहाँ सम्बन्ध, आफ्नो मान्छेले काम गर्छ। राजनीतिले प्रशासनलाई भन्ने गर्छ सहयोग भएन। नेतृत्वले भन्ने गर्छ कर्मचारी योग्य भएर के गर्ने सहयोगी छैन। समाजमा नकमाउने कर्मचारीको मान हुँदैन । हेर्दा यी भनाइ र ब्यबहार सामान्य लाग्छन । चलनचल्तीमा यो हाम्रो संस्कृति भाषा हो। डार्क साइकाेलाेजीमा याे gaslight effect हाे। यसता विचारले रुचि भएको कर्मचारी काम गर्न छोड्छ ।। कर्मचारीलाई उपयोग गर्न थालिन्छ। तर कर्मचारीले नै यो कुरा थाहा पाउँदैनन्। र बिस्तारै यही रोगमा फस्दै जान्छन र अन्तत आफ्नो भएको योग्यता समेत गुमाउँदै जान्छन। कर्मचारीहरुले यो मनोविज्ञानको गोलचक्करमा फसेको जीवनभरी थाहै पाउँदैनन्। र योग्य भैकन पनि सधैभरी आलोचित हुनुपर्ने बाध्यता हाम्रो कर्मचारीतन्त्रमा हुने कारण पनि यही हो।
हाम्रोमा कर्मचारीले किन काम गर्दैनन् भनेर व्यवहारको अध्ययन गरिँदन। । जब यसमा व्यक्तिगत ईर्ष्या ,राग ,मनाेवृति र भावनाले काम गर्छ ।तब व्यक्तिलाई उत्प्रेरित गर्ने यस्ता बिचारहरु प्रयोग हुन्छन। यस्तो विचार प्रवाहित गर्ने व्यक्ति वा समाज स्वयं यो मनोविज्ञानबाट ग्रसित हुन्छ। फा्यड भन्छन ” प्रत्यक्ष रूपमा मान्छेको चेतनाले काम गर्छ भन्ने कुरा मान्छेले थाहा पाउँदैन ।त्यसैले ऊ बिचारको दास हुनेगर्छ र दुःखमा ईश्वरलाई पुकार गर्छ । ईश्वर भन्ने कुनै निरपेक्ष शक्ति हुँदैन।” यो मनोवैज्ञानिक असर हाम्रो कर्मचारीतन्त्रमा पर्याप्त छ। विशेषगरी हाम्रोजस्तो देशमा यो मनोबिज्ञान रोगको रूपमा सबै क्षेत्रमा फैलिएको छ।
यो मनोविज्ञान सरकारी निजी र गैरसरकारी सबै क्षेत्रमा ग्रसित छ। निजी क्षेत्रमा मालिकले श्रमिकलाई यही मनोविज्ञानबाट उपयोग गरेको छ। तलब र सुविधा कम भए पनि श्रमिक काम गर्न बाध्य छन्। किनकि उसलाई सबैतिरबाट कमजोर देखाइन्छ ।रामानुज जस्तै थुप्रै प्रतिभा समाजबाट माथि उठ्न सकेका छैनन् ।जसलाई समाजले पागल भन्छ ।योग्यता चिन्दैन। सरकारी क्षेत्रमा बाठा नेतृत्वले कर्मचारीलाई कजाएर आफू जस लिने कारण पनि यही हो। तर योग्य कर्मचारीको प्रशंसा र पुरस्कारमा उनीहरुको ध्यान दिँदैनन्। किनकि सत्य कुराको उजागर हुन्छ भन्ने उनीहरूलाई डर हुन्छ। हाम्रो देशमा dark psychology काे असर कर्मचारीले बुझ्ने सकेको छैन। यो असरले कर्मचारीको आत्मविश्वासलाई घटाउँछ। र क्रमशः परिस्थितिको अनुसरण गर्न बाध्य गराउँछ ।कर्मचारीतन्त्र यही मनोवैज्ञानिक असर भित्र रमाएर बसेको छ। क्रमशः योग्यताको प्रयोगमा मनोवैज्ञानिक रूपले अपाङ्ग हुँदैगएको थाहा पाएको छैन।
यो मनोवैज्ञानिक असरलाई कम गर्ने व्यवस्थापकीय औजार थुप्रै छन्। काममा सहभागिता, समन्वय ,तालिम, विषयवस्तुको ज्ञान, स्पष्ट धारणा को कदर, भ्रष्टाचार र अवसरमा कमी, कर्मचारीलाई समान व्यवहार, योग्यताको प्रयोग र प्रशंसा ,नतिजा र योग्यताको सम्बन्ध ,तथ्य र वस्तुको विश्लेषण आधारमा कर्मचारितन्त्र चल्नुपर्छ।समूह , टिममा काम गर्ने, नव प्रवर्द्धन अनुसन्धान र पारदर्शि वातावरणबाट हामी gaslight effect लाई कम गर्न सक्छौ। यसकालागि ब्याक्ती, संस्कृति र समाजसँगकाे अन्तरसम्बन्धको गहिरो अध्ययन हुनु जरुरी छ। जुन हाम्रोमा अहिलेसम्म आकाशको फल जस्तै देखिएको छ।
(लेखक दाहाल नेपाल सरकारको सहसचिव हुनुहुन्छ ।)
प्रकाशित :२०८० श्रावण २८, आईतवार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%