यी हुन जिल्ला हाक्ने ६ महिला कमाण्डर (सिडिओ)

कुनै समय चुलो,चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ । उपस्थित मात्र होइन् नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् । अन्य क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिदो छ । महिलाहरु नेतृत्व गर्ने ठाउँमा पुगेर महिला पनि पुरुषभन्दा कुनै हिसाबले कमजोर छैनन भन्ने ढंगले काम गरेर देखाएका छन् । अहिले निजामती सेवाको विशिष्ठ श्रेणी (सचिव) पदमा खानेपानी सचिव प्रमिला देवी बज्राचार्य,महिला तथा बालबालिका मन्त्रालयमा याम कुमारी खतिवडा,सर्वाेच्च अदालतको रजिष्टार्ड निर्मला पौडेल, राममाया कुँवर महालेखापरीक्षकको कार्यालयमा उप महालेखापरीक्षक,लीला देवी गडतौला नेपाल कानुन आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको रुपमा देवकुमारी गुरागाई कार्यरत छिन । संयोग छ जना सचिवका रुपमा विभिन्न मन्त्रालय,निकाय कमाण्ड गर्दै गर्दा ६ जना सह सचिव तथा उपसचिव तहका महिला विभिन्न जिल्ला कमाण्ड गर्दैछन् ।
सहसचिवका रुपमा तीन र उपसचिवका रुपमा तीन महिलाले अहिले विभिन्न जिल्ला प्रशासन कार्यलय हाँक्दैछन् । मुलुकका ७७ जिल्लामध्ये हाल भक्तपुरमा रुद्रादेवी शर्मा, जुम्लामा विजया कुमारी प्रसाइ, सल्यानमा लक्ष्मी देवी होमागाई खतिवडा, ओखलढुङ्गामा बन्दना राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मनमायाँ भट्टराई पंगेनी, पर्वतमा देवी पाण्डे खत्री प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।
देवी पाण्डे खत्री
गुल्मेली चेली देवी पाण्डे अहिले पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमाण्ड गर्दैछिन् ।
गाउँकै पेगा निमाविद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेकी पाण्डेले त्यहाँ कक्षा ७ उत्तीर्ण गरी मुसिकोट मैदानको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ८ देखि पढेकी हुन । ०५४ सालमा एसएलसी उत्तीर्ण गरेकी पाण्डेले औपचारिक रुपमा काठमाडौँको पद्यमाकन्या क्याम्पसबाट आईए, जनप्रशासनिक क्याम्पसबाट मास्टर डिग्रीका साथैं ३ वर्ष भारतमा समेत अध्ययन गरेकी छिन् । पाण्डेले कोरियाबाट एलएलबी सकेर एमपिएममा मास्टर डिग्री समेत हासिल गरेकी छिन् ।
०६३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी उनले पर्यटन मन्त्रालयमा ५ वर्ष,शिक्षा मन्त्रालय, निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गरिसकेकी थिईन् । लुम्बिनी प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा समेत केही समय काम गरेकी उनले ०७७ फागुन २० गते देखि पर्वत जिल्लाको कमाण्ड गरिरहेकी छिन् उनीसँग यस अगावै गोरखा जिल्लाको सहायक प्रजिअ चलाएको अनुभव छ ।
रुद्रादेवी शर्मा
०६६ सालबाट निजामती सेवामा पाइला राखेकी हुन्, अधिकृत तहबाट यो सेवामा प्रवेश गरेकी उनी झण्डै ९ बर्ष पछि सहसचिव तहमा पुगेकी छिन् । निजामती सेवामा प्रवेश पछि उनको पहिलो पोष्टिङ राष्ट्रिय योजना आयोगमा भएको थियो । ०७२ सालमा उपसचिवमा बढुवा भएपछि केही समय सूचना तथा सञ्चार मन्त्रालयमा काम गरिन । ०७५ सालमा नेपाल सरकारको सहसचिवमा नाम निकालेपछि उनले बागमती प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा केही समय काम गरेकी थिइन् । १३ महिना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा हुँदै श्रम तथा रोजगार मन्त्रालय चलाएकी उनी यस अघि ११ महिना रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा कमाण्ड गरिन । त्यहाँबाट गुल्मीमा पुगेकी शर्मा,गुल्मीको ३९ औं सिडिओमध्ये पहिलो महिला सिडिओ भएर रेकर्ड कायम गरिन नै । गृहले तयार पारेको कार्यसम्पादन रिर्पोटमा अब्बल देखियो । हालै मात्र उनी गुल्मीबाट भक्तपुर जिल्लामा तानिएकी छिन ।
लक्ष्मी देवी होमागाई खतिवडा
०३९ सालमा झापाबाट एसएलसी तह उत्र्तीण,कक्षा ११ र १२ धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा पार लगाएपछि लक्ष्मी देवी होमागाईले त्रिविविबाट छात्रवृत्तिमा अध्ययन गरिन । स्नातक तह पार लगाए पछि विवाहबारी र जागिर सँगसँगै जस्तो भयो । २०४६ सालबाट नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेकी उनको पहिलो पोस्टिङ सूचना विभागमा भयो । ९ बर्ष पछि अधिकृतमा बढुवा भइन । एलएलबी र बिएड तहसम्मको औपचारिक शिक्षा पूरा गरेकी लक्ष्मीदेवी ०७२ सालमा भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी चलाइन । बर्ष दिन पछि नै ०७३ सालको निर्वाचन आयोगमा अनुगमन परिवेक्षण शाखाको प्रमुख भएर काम गरिन । ०७४ सालमा पाँचथरको जिल्ला प्रमुख चलाएकी उनी ०७५ सालमा तेह्रथुमा कमाण्ड गर्ने अवसर पाइन । त्यहाँ एक वर्ष सिडिओ चलाए पछि ०७७ फागुन १९ बाट सल्यान जिल्लाको कमाण्ड गर्दैछिन् ।

Advertisement 1

मनमायाँ भट्टराई पंगेनी
मनमाया यस्तो भाग्यमानी चेली हुन,जो नवलपरासीमै जन्मिएर सोही ठाउँको सेवा गर्ने मौका पाइन् । ०५० सालमा एसएलसी उत्र्तीण गरेर प्राविधिक बिषय लिएर अध्ययन गरेकी मनमायाले सिएमएको पढाई सके लगतै २०५३ सालमा उनी अहेवको रुपमा सरकारी सेवामा प्रवेश गरिन् ।
उनको पदस्थापन नवलपरासीको अरुणखोला स्थीत नयाँढोलानी उपस्वास्थ्य चौकीमा भएको थियो । तिनताक स्वास्थ्यचौकीमा कुनै पनि पूर्वाधार थिएन । पूर्वाधार निर्माण गर्न स्वास्थ्य निर्देशनालयले १० हजार रुपैयाँ दिएको थियो । ३ महिनामा उनले आवश्यक पूर्वाधार सहितको उपस्वास्थ्यचौकी तयार गरिन् । त्यसपछि स्वास्थ्य स्वयमं सेविकाहरूसँग मिलेर गाउँगाउँमा स्वास्थ्य जनचेतना फैलाउने काम गरिन् । त्यहाँबाट उनले ललितपुरको धापाखेल स्वास्थ्यचौकीमा २ वर्ष काम गरिन् । त्यहाँ भाषाको समस्या रह्यो । उनले नेवारी भाषा सिकेर स्तनपान र संस्थागत सुत्केरी गराउनुको महत्वको बारे जनचेतना फैलाउन शुरु गरिन ।
०६३ सालमा लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालिन । तत्कालिन महिला विकास शाखा अधिकृतमा पहिलो पोस्टिङ भएको थियो उनको । सरकारी छात्रवृत्तिमा भारतको गुरु गोबिन्द युुनिर्भसिटीबाट पब्लिक पोलिसी विषयमा स्नाकोत्तर उत्र्तीण गरिन । बादी समुदायका महिलाहरुको सशक्तीकरण लागि काम गरिन । २०६५ देखि ०६८ मा दाङ, बाँँके, बर्दिया, सुर्खेत र कञ्चनपुरमा बादी समुदायबारे राम्रो रिपोर्ट बनाइन् । जसबाट १ हजार ४ सय ३६ घरधुरी पत्ता लागेको थियो । सरकारले बादी समुदाय व्यवास्थापन समिति बनायो, नागरिकताको समस्या समाधान भयो । त्यसपछि राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भयो त्यहाँ पनि वैदेशिक रोेजगारमा जाने महिलाहरुका बारेमा अनुसन्धान गर्ने अवसर पाइन् । यो आफ्ना लागि सौभाग्यको कुरा भएको पंगेनी बताउँछिन् ।
सहसचिवको परीक्षा दिँदा उनको सासु र श्रीमान अस्पतालमा भर्ना हुनु भएको थियो । बेडमा उहाँहरुलाई छोडेर परीक्षा दिन गइन् र २०७४ सालमा सहसचिव ।
०७४ सालमा खुला प्रतिस्पर्धा मार्फत सह–सचिवमा नाम निकालेपछि केही समय निजामती किताबखानाको महानिर्देशकको जिम्मेवारी निभाइन । महिला बालबालिका मन्त्रालयमा रहँदा सुधारका केही यत्नहरु गरिन् ।
पंगेनी हाल आफ्नै माइती जिल्लामा कमाण्ड मात्रै गरिरहेकी छैनन् त्यहाँको कार्यसम्पादन देखेरै उनी ‘इन्टेग्रीटी आईकन २०२१ को टप फाइभ भित्र छनौट भइसकेकी छिन् ।
विजया कुमारी प्रसाइ
विजया कुमारी अर्थात रामेछापकी चेली र अहिले कमाण्डर गर्दै छिन् जुम्ला जिल्लाको । औपचारिक शिक्षा बिए उत्र्तीण गरेकी उनको पिताको चाहथ्यो,छोरी मान्छे अगााडि बढ्नुपर्छ, जागिर खानु पर्छ । पिताकै सपना साकार पार्न जागिरका लागि लोकसेवाको तयारी गर्न काठमाडौँ आइन । राजधानी खाल्डोमा छिरेको तीन वर्ष पछि २०६१ सालमा शाखा अधिकृतमा नाम निकालिन र उनको पहिलो पोस्टिङ भयो, राष्ट्रिय योजना आयोगमा । त्यसपछि स्थानीय विकास मन्त्रालयमा हुँदै ०७० मा उपसचिवमा बढुवा भइन । समाजिक सुरक्षा कोषमा ८ महिना र महिला तथा बालबालिका विभागमा तीन वर्ष बिताएकी प्रसाइ जुम्लामा सिडियो भएर २०७७ जेठ १९ देखि काम गरिरहेकी छिन् । यस अगाडि सिन्धुली जिल्लामा २० महिना सहायक जिल्ला प्रमुख अधिकारी भएर काम गरि सकेको अनुभव उनीसँग छ ।
बन्दना राई
ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी बन्दना राई कार्यरत छिन् । उनलाई त्यहाँ गत बर्ष ७७ फागुन २० गतेदेखि त्यहाँ खटाइएको हो । ०६६ सालदेखि गृह मन्त्रालयमा थिइन् । अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी उनी सिडियो पद चुनौतिपुर्ण भए पनि आफूलाई चुनौतीसँग खेल्न मज्जा आउने सुनाउछिन् । राई भोजपुर जिल्लाको तत्कालिन सिद्धेश्वर गाविसमा जन्मिएकी हुन ।

प्रकाशित :२०७८ कार्तिक १२, शुक्रबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry