खोलाको पानी गाउँ पस्दा एक दर्जन घर डुबानमा
अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
Advertisement 1
यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ । बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वस्तीको स्थलगत निरीक्षण गरेका छन ।
स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नुपर्ने बताए । डुबानको समस्या दीर्घकालीन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाइ हुनपुगेको भन्दै चाँडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए ।
Advertisement 2
तत्काललाई पानी निकासा हुने गरी व्यवस्था मिलाउने र डुबानमा परेकाका लागि उचित राहतको ब्यवस्था मिलाइने उनको भनाइ छ । भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमासमेत छरिएर आइपुगेको छ ।