मतदाता शिक्षाको अभावः एकतिहाइ मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् ।

Advertisement 1

वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् ।

उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए । “आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ”, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, “अब यसमा राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी सम्भावना देखिन्छ ।”

Advertisement 2

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताए । बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उनको भनाइ छ ।

मतदाता शिक्षा कार्यक्रम नरहे पनि मत बदर हुनसक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिए । सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो ।

प्रकाशित :२०७९ बैशाख २५, आईतवार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry